
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौँडा कास्कीका प्रादेशिक प्रमुख चितरंजन दाससहित ५ जना र तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्सविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सीसीटीभी क्यामेरा बन्द गरेर बिलमा भन्दा बढी डिजेल लोड गरी निगमलाई हानि नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर भएको हो ।
दाससमेतले टैंक/ट्रकमा १२ हजार लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत भएपश्चात पश्चिमाञ्चल ट्रेडर्सले नेपाल आयल निगमको खातामा आईपीएस गरेर पैसा जम्मा गरेपछि बिल भौचर तयार भई पेट्रोलियम पदार्थ लिन पठाएका थिए ।
डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सीसी क्यामरा बन्द गरी १२ हजार लिटर डिजेल लोड गर्नुपर्नेमा १५ हजार ३८ लिटर डिजेल लोड सिल गरेको अभियोगपत्रमा उल्लेख छ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाको नाकमा नियन्त्रणमा लिई चेकजाँच गर्दा १५०३८ लिटर देखिएकाले बिलमा उल्लेख भएभन्दा ३ हजार ३८ लिटर डिजेल बढी भएको पाइएको थियो ।
प्रतिलिटर डिपोएक्स मूल्य १४७.६३ रुपैयाँका आधारमा जम्मा ४ लाख ४८ हजार ५२ रुपैयाँ सार्वजनिक निकाय नेपाल आयल निगमको सम्पत्तिको हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।
दाससहित कम्पनीका सञ्चालक बाबुराम जमरकट्टेल, पेट्रोलियम एसोसिएसनका जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटका ट्यांकर चालक निर्मल थापालाई आयोगले प्रतिवादी बनाएको छ ।