
सन् १९८० को मे महिना, विश्वकै सर्वाधिक चुनौतीपूर्ण हिमालमध्येको एक- धौलागिरिको चुचुरो पुग्ने सपना बोकेका चार पर्वतारोही उकालो लागे । जसले चुनौतीमा नयाँ चुनौती थपेका थिए ।
बदलिरहने मौसम, हावाहुरी, हिमपहिरो लगायतका कारणले धौलागिरिको पूर्वतर्फ आरोहणका लागि खतरा मानिन्छ । यी चार टोली पूर्वतर्फबाट धौलागिरिको चुचुरो चुम्न चाहन्थे । जसमध्ये एक थिए- घिलिनी रेने । फ्रेन्च नागरिक उनी जो मौरिस हर्जोगको पदचाप पछ्याउँदै नेपाल आइपुगेका थिए । जसले १२ वर्षमा माउन्टेन गाइड भन्ने सपना बुने । हर्जोगको पुस्तक -‘अन्नपूर्ण’ पढेर ।
सन् १९६० उत्तरपूर्वी मोहोडाबाट धौलागिरिको पहिलोपटक आरोहण गरिएको थियो । आरोहकमध्येका एक थिए तिनै हर्जोग ।
सन् १९६८/६९ तिर हर्जोग, शामोनि शहरका प्रमुख थिए । सोही समयमा घिलिनीको भेट हर्जोगसँग भयो । जब, उनले विद्यार्थी टोलीलाई प्यारिस घुमाउन लगे । मौरिसले बयान गरेका अन्नपूर्ण र नेपालबाट १२ वर्षीय घिलिनी प्रभावित भइहाले ।
‘जब म १२ वर्षको थिएँ तब मैले मौरिस हर्जोगलाई भेटेको थिएँ । त्यो समयमा म सानो बच्चालाई उनले अन्नपूर्णबारे मज्जाले बताएका थिए । जब म हुर्किएँ तब मलाई नेपाल आउन मन लाग्यो । अन्नपूर्ण हेर्न हुटुहुटी भयो’, घिलिनीले भने ।
उनलाई मौरिसको पुस्तक अन्नपूर्णले थप आकर्षित गर्यो । अन्नपूर्ण आउने चाहना बोकेका उनी शामोनिमा व्यावसायिक माउन्टेन गाइड भए । जसको यात्रा थियो नेपालको हिमाल चुम्नु । जसलाई उनले १९८० सालमा सफल पारे ।
१९७९ मा उनलाई विदेशी साथीहरूबाट एकाएक प्रस्ताव आयो, नेपालको हिमाल चढ्ने । त्यो पनि नयाँ रुट । अर्थात् धौलागिरीको पूर्वी दिशा । जो निकै खतरनाक मानिन्छ । यही सपना लिएर उनी १९७९ मा पोखरा हुँदै म्याग्दी पुगे । शुरूआतमा उनले मौरिस हिँडेको पदचाप पछ्याउन खोजे । अर्थात्, अन्नपूर्ण नर्थ पुगे ।
उनको टोलीले म्याग्दीको नारच्याङ, फुतफुते झरना, पञ्जकुण्ड ताल हुँदै अन्नपूर्ण नर्थको बेस क्याम्प पछ्यायो मौरिसको पदचाप खोज्दै । जुन पदमार्ग पछिल्लो एक/दुई वर्षदेखि बल्ल पर्यटकको नजरमा चर्चित हुन थालेको छ । अन्नपूर्ण नर्थ चुनौतीपूर्ण ठानेपछि घिलिनीको टोली फर्कियो ।
‘धौलागिरि हेर्नु अघि हामी अन्नपूर्ण आएका थियौं । हामी बुझ्दै थियौं । एल्पाइन स्टाइलमा हिमाल चढ्न सकिन्छ वा सकिन्न । हामी यहाँ आएका थियौं । तर,यो सुरक्षित थिएन । ग्लायसियर, आइस खसिरहेको हुनाले सुरक्षित भएन’, उनले भने ।

अन्नपूर्ण नर्थको अवलोकन गरेर टोली धौलागिरितर्फ लाग्यो । टोलीको लक्ष्य थियो पूर्वीतर्फबाट धौलागिरि आरोहण गर्नु । जुन सफल हुन सकेन । तर, घिलिनीको सपना बाँकी नै थियो नेपालको हिमाल चुम्ने । पूर्वीतर्फबाट त्यसबेलासम्म कसैले चढ्नका लागि प्रयास गरेका थिएनन् । घिलिनीको टोली नै पहिलो थियो, जसले पूर्वी तर्फबाट धौलागिरि चढ्ने प्रयास गर्यो । उनीहरूलाई इतिहास रच्ने अवसर थियो ।
तर, जोखिमपूर्ण मौसम र मार्गले उनीहरू तल फर्किए । सात दिनसम्म आधारशिविरमा बास बसेपछि उनीहरूले नयाँ योजना बनाए । पूर्वपट्टीबाट सम्भव नभए, उत्तरपूर्व भागबाटै आरोहण गर्ने । जसतर्फबाट सफल आरोहण गरेर १९६० मा कृतिमान लेखिसकिएको थियो । तर, पनि मे १९८० मा घिलिनीको टोलीले धौलागिरिको सफल आरोहण गर्यो ।
‘पोखराबाट धौलागिरिको यात्रा शुरू गर्यौं । पक्कै पनि रोड थिएन । हामी भाग्यमानी हौं । हामीले धौलागिरि चढ्यौं । म त्यतिबेला २२ वर्षको थिएँ । त्यसपछि म पटक पटक नेपाल पदयात्रा गर्नका लागि फर्किएँ । सगरमाथा आरोहणका लागि पनि म फर्किएँ तर त्यतिबेला भाग्य भएन,’ उनले भने ।
फेरिएको दृश्य
१९७९ मा नै हो उनले पहिलोपटक नेपाल टेकेको । त्यस साल अन्नपूर्ण नर्थको अवलोकन गरेपछि उनी धौलागिरितर्फ मोडिए । तर, उनको अन्नपूर्ण आरोहण गर्ने सपना थाती नै थियो । त्यसपछि उनी पुनः १९८२ तिर अन्नपूर्ण साउथतर्फ लागे । त्यो पनि एल्पाइन स्टाइलमा आरोहण गर्न पुगे । एल्पाइन स्टाइल पर्वतारोहणको उच्च स्तरको विधि मानिन्छ ।
जसमा आरोहण आत्मनिर्भर ढंगले गरिन्छ । यसमा पर्वतारोहीहरूले हिमाल चढ्नका लागि शेर्पा र डोरी जस्ता केही उपकरणको सहयोग लिइँदैनन् । उनीहरूले आवश्यक उपकरण, खाना र टेन्ट आफैं बोकेर सानो समूहमा छिटो चढ्ने प्रयास गर्छन् । एल्पाइन स्टाइल जोखिमपूर्ण भए पनि आत्मनिर्भर आरोहणको रूप लिइन्छ । एल्पाइन क्षेत्रका हिमाल आरोहकले यस विधिलाई नै प्राथमिकता दिन्छन् ।
त्यसैले पनि उनीहरूले शेर्पाप्रति आदार व्यक्त गर्छन् । सन् १९८० मा समेत घिलिनीको समूहले यही ढंगले धौलागिरिको सफल आरोहण गरेको थियो । पछि, घिलिनी र उनका अर्का साथीले यही बाटो पछ्याउँदै अन्नपूर्ण साउथ चढ्न लागे । तर, सफल भएनन् ।
‘हामीले साउथ फेस आरोहणका लागि कोसिस गर्यौं, आफ्नै बलबुतामा- शेर्पाबिना । त्यतिबेला दुईजना मात्र थियौ, साउथ फेसमा । बीचमा मेरो साथी मर्यो । त्यो सायद पहिलो पटक थियो अल्पाइन स्टाइलमा साउथ फेस चढ्न खोजेको । सबै कुरा ठीक थियो । तर, एक्कासी उसलाई ढुंगाले टाउकोमा लाग्यो । ऊ त्यहीँ मर्यो । त्यसपछि म तल बेसक्याम्प झरेँ,’ उनले भने ।
आफ्नै आँखा अगाडि साथी गुमाउनु पीडादायी थियो उनका लागि । सायद, त्यही घटनाले होला उनी लामो समयसम्म अन्नपूर्ण क्षेत्रमा नफर्किएको । उनी पदयात्राका लागि पोखरा क्षेत्र आउन बन्द गरेको । तर, उनी नेपालको अन्य क्षेत्रमा पदयात्राका लागि पुग्थे । लामो समयपछि पोखरा र अन्नपूर्ण क्षेत्र आइपुगे उनी दंग परे ।

‘म कतिसम्म पोखरा फर्किएको थिइनँ । त्यतिबेला यो सानो शहर थियो । म यहाँ आउँदा दंग परेँ । बस एयरपोर्ट, हजारौं घर देखेर छक्क परेँ । हामी यहाँ आउँदा रोड थिएन । अहिले सबै छ,’ उनले छक्क पर्दै सुनाए ।
१९९० को समयतिर उनको टोलीले सगरमाथा आरोहणको प्रयास गरेको थियो । त्यसबाहेक पनि उनी समय-समयमा घुम्नका लागि सगरमाथा पुगिरहे । १९९० को दशक र २०१७ को समय सगरमाथा चढ्ने भिड देखेर समेत उनी छक्क परे । सगरमाथा परिवर्तन भएको देख्दा उनी चिन्तित छन् । उनी सम्झन्छन् आफ्नो समयमा भएको फोहोर व्यवस्था र अहिलेको अवस्थाको सगरमाथा ।
‘सगरमाथा परिवर्तन भएको छ । सबै सगरमाथा जान चाहन्छन् । यो परिवर्तन र विनाश हुँदैछ । पहिला बेसक्याम्पमा बढी भए १० वटा टेन्ट हुन्थ्यो अहिले ५ सय बढी हुन्छ । त्यसैले नेपालले अर्थतन्त्र र शेर्पालाई असर नगर्नेगरी नियम बनाउनुपर्छ,’ उनी भन्छन् ।
सगरमाथा आरोहण एल्पाइन विधिमा हुनुपर्ने जोड दिन्छन् उनी । साथै, पछिल्लो समय रुची र लगाव भन्दा नामकै लागि मात्र सगरमाथा आरोहण बढेको विचार राख्छन् उनी ।
‘सगरमाथा आरोहणमा अनुभवविनाको व्यक्तिलाई नदिने । उनीहरूले यसरी मर्दैनन् । उनी शेर्पा प्रयोग गर्छन्, नेपाललाई फाइदा हुन्छ । एल्पिनिजम फरक छ । शेर्पाले बुझ्दैछन् यो कुरा । शेर्पा हामी जस्तै हुन् । उनीहरू आफैं गर्छन् । शेर्पाहरू मात्र रियल माउन्टेनर हुन्,’ उनले विचार राखे ।
उनी सगरमाथा मात्र होइन नेपालका पदमार्गबारे समेत चिन्तित छन् । ४६ वर्षपछि अन्नपूर्ण नर्थ पुगेका उनी परिवर्तन देखेर दंग परे । शान्त वातावरणमा अहिले हाइड्रोले बाटो खनेको छ । उसो त हाइड्रोले पुर्याएको बाटोपछि नै हो अन्नपूर्ण नर्थ र पञ्चकुण्ड ताल चर्चामा आउन थालेको ।

‘यदि पदयात्रा चलिरहनुपर्छ भने प्रकृतिलाई पनि बचाइराख्नुपर्छ । बल्ल विश्वभरबाट पर्यटक नेपाल आउँछन् । पदमार्ग नासिदैछ भन्ने सोचेपछि उनीहरू आउँदैनन् । हाइड्रोका कारण धुलो भएको छ । यो यस्तो थिएन जब हामी ८० को समयमा आएका थियौं । यो अच्चमको कुरा हो,’ उनले भने ।
यस विषयमा उनी दुवै पाटोबाट गम्भीर भएर सोच्छन् । ड्यामका कारण विद्युत उत्पादनले ल्याएको सहजता र अर्थतन्त्रमा पुगेको टेवा पनि आवश्यक रहेको उनको भनाइ छ । प्रकृतिसँगको सहकार्यमा विकास गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
‘सडक पुग्नुका कारण प्रकृतिको विनाश गरेको छ, सँगै हिमाली क्षेत्रको संस्कृति पनि । उनीहरूको जनजीवन त सहज भएको छ । तर, केही कुरा यत्तिकै रहनुपर्छ । परिवर्तन हुनुहुँदैन,’ उनी भन्छन् ।