२९ जेठ २०८३, शुक्रबार

मौरिसको पदचाप पछ्याउँदै धौलागिरि चुमेका घिलिनी रेने

जेठ २६, २०८२
पाेखरा
मौरिसको पदचाप पछ्याउँदै धौलागिरि चुमेका घिलिनी रेने

सन् १९८० को मे महिना, विश्वकै सर्वाधिक चुनौतीपूर्ण हिमालमध्येको एक- धौलागिरिको चुचुरो पुग्ने सपना बोकेका चार पर्वतारोही उकालो लागे । जसले चुनौतीमा नयाँ चुनौती थपेका थिए ।

बदलिरहने मौसम, हावाहुरी, हिमपहिरो लगायतका कारणले धौलागिरिको पूर्वतर्फ आरोहणका लागि खतरा मानिन्छ । यी चार टोली पूर्वतर्फबाट धौलागिरिको चुचुरो चुम्न चाहन्थे । जसमध्ये एक थिए- घिलिनी रेने । फ्रेन्च नागरिक उनी जो मौरिस हर्जोगको पदचाप पछ्याउँदै नेपाल आइपुगेका थिए । जसले १२ वर्षमा माउन्टेन गाइड भन्ने सपना बुने । हर्जोगको पुस्तक -‘अन्नपूर्ण’ पढेर ।

सन् १९६० उत्तरपूर्वी मोहोडाबाट धौलागिरिको पहिलोपटक आरोहण गरिएको थियो । आरोहकमध्येका एक थिए तिनै हर्जोग ।

सन् १९६८/६९ तिर हर्जोग, शामोनि शहरका प्रमुख थिए । सोही समयमा घिलिनीको भेट हर्जोगसँग भयो । जब, उनले विद्यार्थी टोलीलाई प्यारिस घुमाउन लगे । मौरिसले बयान गरेका अन्नपूर्ण र नेपालबाट १२ वर्षीय घिलिनी प्रभावित भइहाले ।

‘जब म १२ वर्षको थिएँ तब मैले मौरिस हर्जोगलाई भेटेको थिएँ । त्यो समयमा म सानो बच्चालाई उनले अन्नपूर्णबारे मज्जाले बताएका थिए । जब म हुर्किएँ तब मलाई नेपाल आउन मन लाग्यो  । अन्नपूर्ण हेर्न हुटुहुटी भयो’, घिलिनीले भने । 

उनलाई मौरिसको पुस्तक अन्नपूर्णले थप आकर्षित गर्‍यो । अन्नपूर्ण आउने चाहना बोकेका उनी शामोनिमा व्यावसायिक माउन्टेन गाइड भए । जसको यात्रा थियो नेपालको हिमाल चुम्नु । जसलाई उनले १९८० सालमा सफल पारे । 

१९७९ मा उनलाई विदेशी साथीहरूबाट एकाएक प्रस्ताव आयो, नेपालको हिमाल चढ्ने । त्यो पनि नयाँ रुट । अर्थात् धौलागिरीको पूर्वी दिशा । जो निकै खतरनाक मानिन्छ । यही सपना लिएर उनी १९७९ मा पोखरा हुँदै म्याग्दी पुगे । शुरूआतमा उनले मौरिस हिँडेको पदचाप पछ्याउन खोजे । अर्थात्, अन्नपूर्ण नर्थ पुगे ।

उनको टोलीले म्याग्दीको नारच्याङ, फुतफुते झरना, पञ्जकुण्ड ताल हुँदै अन्नपूर्ण नर्थको बेस क्याम्प पछ्यायो मौरिसको पदचाप खोज्दै । जुन पदमार्ग पछिल्लो एक/दुई वर्षदेखि बल्ल पर्यटकको नजरमा चर्चित हुन थालेको छ । अन्नपूर्ण नर्थ चुनौतीपूर्ण ठानेपछि घिलिनीको टोली फर्कियो । 

‘धौलागिरि हेर्नु अघि हामी अन्नपूर्ण आएका थियौं । हामी बुझ्दै थियौं । एल्पाइन स्टाइलमा हिमाल चढ्न सकिन्छ वा सकिन्न । हामी यहाँ आएका थियौं । तर,यो सुरक्षित थिएन । ग्लायसियर, आइस खसिरहेको हुनाले सुरक्षित भएन’, उनले भने ।

null

अन्नपूर्ण नर्थको अवलोकन गरेर टोली धौलागिरितर्फ लाग्यो । टोलीको लक्ष्य थियो पूर्वीतर्फबाट धौलागिरि आरोहण गर्नु । जुन सफल हुन सकेन । तर, घिलिनीको सपना बाँकी नै थियो नेपालको हिमाल चुम्ने । पूर्वीतर्फबाट त्यसबेलासम्म कसैले चढ्नका लागि प्रयास गरेका थिएनन् । घिलिनीको टोली नै पहिलो थियो, जसले पूर्वी तर्फबाट धौलागिरि चढ्ने प्रयास गर्‍यो । उनीहरूलाई इतिहास रच्ने अवसर थियो । 

तर, जोखिमपूर्ण मौसम र मार्गले उनीहरू तल फर्किए । सात दिनसम्म आधारशिविरमा बास बसेपछि उनीहरूले नयाँ योजना बनाए । पूर्वपट्टीबाट सम्भव नभए, उत्तरपूर्व भागबाटै आरोहण गर्ने । जसतर्फबाट सफल आरोहण गरेर १९६० मा कृतिमान लेखिसकिएको थियो । तर, पनि मे  १९८० मा घिलिनीको टोलीले धौलागिरिको सफल आरोहण गर्‍यो । 

‘पोखराबाट धौलागिरिको यात्रा शुरू गर्‍यौं । पक्कै पनि रोड थिएन । हामी भाग्यमानी हौं । हामीले धौलागिरि चढ्यौं । म त्यतिबेला २२ वर्षको थिएँ । त्यसपछि म पटक पटक नेपाल पदयात्रा गर्नका लागि फर्किएँ । सगरमाथा आरोहणका लागि पनि म फर्किएँ तर त्यतिबेला भाग्य भएन,’ उनले भने । 

फेरिएको दृश्य 
१९७९ मा नै हो उनले पहिलोपटक नेपाल टेकेको । त्यस साल अन्नपूर्ण नर्थको अवलोकन गरेपछि उनी धौलागिरितर्फ मोडिए । तर, उनको अन्नपूर्ण आरोहण गर्ने सपना थाती नै थियो । त्यसपछि उनी पुनः १९८२ तिर अन्नपूर्ण साउथतर्फ लागे । त्यो पनि एल्पाइन स्टाइलमा आरोहण गर्न पुगे । एल्पाइन स्टाइल पर्वतारोहणको उच्च स्तरको विधि मानिन्छ । 

जसमा आरोहण आत्मनिर्भर ढंगले गरिन्छ । यसमा पर्वतारोहीहरूले हिमाल चढ्नका लागि शेर्पा र डोरी जस्ता केही उपकरणको सहयोग लिइँदैनन् ।  उनीहरूले आवश्यक उपकरण, खाना र टेन्ट आफैं बोकेर सानो समूहमा छिटो चढ्ने प्रयास गर्छन् । एल्पाइन स्टाइल जोखिमपूर्ण भए पनि आत्मनिर्भर आरोहणको रूप लिइन्छ । एल्पाइन क्षेत्रका हिमाल आरोहकले यस विधिलाई नै प्राथमिकता दिन्छन् । 

त्यसैले पनि उनीहरूले शेर्पाप्रति आदार व्यक्त गर्छन् । सन् १९८० मा समेत घिलिनीको समूहले यही ढंगले धौलागिरिको सफल आरोहण गरेको थियो । पछि, घिलिनी र उनका अर्का साथीले यही बाटो पछ्याउँदै अन्नपूर्ण साउथ चढ्न लागे । तर, सफल भएनन् । 

‘हामीले साउथ फेस आरोहणका लागि कोसिस गर्‍यौं, आफ्नै बलबुतामा- शेर्पाबिना । त्यतिबेला दुईजना मात्र थियौ, साउथ फेसमा । बीचमा मेरो साथी मर्‍यो । त्यो सायद पहिलो पटक थियो अल्पाइन स्टाइलमा साउथ फेस चढ्न खोजेको । सबै कुरा ठीक थियो । तर, एक्कासी उसलाई ढुंगाले टाउकोमा लाग्यो । ऊ त्यहीँ मर्‍यो । त्यसपछि म तल बेसक्याम्प झरेँ,’ उनले भने । 

आफ्नै आँखा अगाडि साथी गुमाउनु पीडादायी थियो उनका लागि । सायद, त्यही घटनाले होला उनी लामो समयसम्म अन्नपूर्ण क्षेत्रमा नफर्किएको । उनी पदयात्राका लागि पोखरा क्षेत्र आउन बन्द गरेको । तर, उनी नेपालको अन्य क्षेत्रमा पदयात्राका लागि पुग्थे । लामो समयपछि पोखरा र अन्नपूर्ण क्षेत्र आइपुगे उनी दंग परे । 

null

‘म कतिसम्म पोखरा फर्किएको थिइनँ । त्यतिबेला यो सानो शहर थियो । म यहाँ आउँदा दंग परेँ । बस एयरपोर्ट, हजारौं घर देखेर छक्क परेँ । हामी यहाँ आउँदा रोड थिएन । अहिले सबै छ,’ उनले छक्क पर्दै सुनाए ।  

१९९० को समयतिर उनको टोलीले सगरमाथा आरोहणको प्रयास गरेको थियो । त्यसबाहेक पनि उनी समय-समयमा घुम्नका लागि सगरमाथा पुगिरहे । १९९० को दशक र २०१७ को समय सगरमाथा चढ्ने भिड देखेर समेत उनी छक्क परे । सगरमाथा परिवर्तन भएको देख्दा उनी चिन्तित छन् । उनी सम्झन्छन् आफ्नो समयमा भएको फोहोर व्यवस्था र अहिलेको अवस्थाको सगरमाथा । 

‘सगरमाथा परिवर्तन भएको छ । सबै सगरमाथा जान चाहन्छन् । यो परिवर्तन र विनाश हुँदैछ । पहिला बेसक्याम्पमा बढी भए १० वटा टेन्ट हुन्थ्यो अहिले ५ सय बढी हुन्छ । त्यसैले नेपालले अर्थतन्त्र र शेर्पालाई असर नगर्नेगरी नियम बनाउनुपर्छ,’ उनी भन्छन् । 

सगरमाथा आरोहण एल्पाइन विधिमा हुनुपर्ने जोड दिन्छन् उनी । साथै, पछिल्लो समय रुची  र लगाव भन्दा नामकै लागि मात्र सगरमाथा आरोहण बढेको विचार राख्छन् उनी । 

‘सगरमाथा आरोहणमा अनुभवविनाको व्यक्तिलाई नदिने । उनीहरूले यसरी मर्दैनन् । उनी शेर्पा प्रयोग गर्छन्, नेपाललाई फाइदा हुन्छ । एल्पिनिजम फरक छ । शेर्पाले बुझ्दैछन् यो कुरा । शेर्पा हामी जस्तै हुन् । उनीहरू आफैं गर्छन् । शेर्पाहरू मात्र रियल माउन्टेनर हुन्,’ उनले विचार राखे । 

उनी सगरमाथा मात्र होइन नेपालका पदमार्गबारे समेत चिन्तित छन् । ४६ वर्षपछि अन्नपूर्ण नर्थ पुगेका उनी परिवर्तन देखेर दंग परे । शान्त वातावरणमा अहिले हाइड्रोले बाटो खनेको छ । उसो त हाइड्रोले पुर्‍याएको बाटोपछि नै हो अन्नपूर्ण नर्थ र पञ्चकुण्ड ताल चर्चामा आउन थालेको ।

null

‘यदि पदयात्रा चलिरहनुपर्छ भने प्रकृतिलाई पनि बचाइराख्नुपर्छ । बल्ल विश्वभरबाट पर्यटक नेपाल आउँछन् । पदमार्ग नासिदैछ भन्ने सोचेपछि उनीहरू आउँदैनन् । हाइड्रोका कारण धुलो भएको छ । यो यस्तो थिएन जब हामी ८० को समयमा आएका थियौं । यो अच्चमको कुरा हो,’ उनले भने । 

यस विषयमा उनी दुवै पाटोबाट गम्भीर भएर सोच्छन् । ड्यामका कारण विद्युत उत्पादनले ल्याएको सहजता र अर्थतन्त्रमा पुगेको टेवा पनि आवश्यक रहेको उनको भनाइ छ । प्रकृतिसँगको सहकार्यमा विकास गर्नुपर्नेमा उनी जोड दिन्छन् । 

‘सडक पुग्नुका कारण प्रकृतिको विनाश गरेको छ, सँगै हिमाली क्षेत्रको संस्कृति पनि । उनीहरूको जनजीवन त सहज भएको छ । तर, केही कुरा यत्तिकै रहनुपर्छ । परिवर्तन हुनुहुँदैन,’ उनी भन्छन् । 

कमेन्ट गर्नुहोस्