
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धनुषा स्थायी घर भई हाल काठमाडौं महानगरपालिका- ४ चण्डोल बस्ने रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीले पदीय मर्यादाविपरीतका कार्य गरेर गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा महतोले महानगरमा सार्वजनिक पद धारण गरेको मिति २०४६।०१।१९ गतेदेखि २०७८।११।३० गतेसम्मको जाँच अवधिमा उनको सम्पत्ति छानबिन गरेको थियो ।
प्रतिवादी महतोको विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क, बीमा कम्पनी, विद्यालय, सहकारी संस्था र मालपोत कार्यालयबाट प्राप्त कागजात, स्टेटमेन्ट, लिखत र बयानहरूको समष्टिगत विश्लेषणबाट उनले आयको स्रोत स्पष्ट नपारी अस्वाभाविक रूपमा उच्च जीवनशैली यापन गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ ।
उनले प्रमाणविना ठूलो सम्पत्ति आर्जन गरेको पुष्टि भएकोले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
जाँच अवधिमा महतोले ३ करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ बराबरको वैध आय गरेको देखिए पनि उनले ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको पाइएको थियो ।
जसअनुसार उनको ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बढी व्यय गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको थियो ।
सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले अख्तियारले कैद, जरिवाना र सम्पत्ति जफतको माग गरेको छ ।
गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति परिवारका सदस्यका नाममा समेत राखिएको पाइएकाले आयोगले उनकी पत्नी मालाकुमारी महतोलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।