
काठमाडौं, २० मंसिर - जनकपुरमा गएराती राजेन्द्र महतोलगायतको टोली कांग्रेस कार्यकर्ताबाट लखेटिएको छ । राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार हुन् ।
मौन अवधिको समयमा राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका महतोसहितका कार्यकर्ता मध्यरातमा जनकपुरको देबीचोकमा भेटिएपछि लखेटिएका हुन् । उनलाई कांग्रेस कार्यकर्ताले पैसा बाँड्न आएको आरोप लगाउँदै लखेटेका हुन् ।
राजपाका जिल्ला अध्यक्ष सञ्जय चौधरीले राती साढे ११ बजे रामानन्द चोकमा खाना खान जाँदा एकाएक कांग्रेस कार्यकर्ताबाट आक्रमणको प्रसा भएको बताए । उनले कांग्रेस कार्यकर्ताको आक्रमणबाट महतो जोगिएपनि गाडीमा भने क्षति पुगेको दाबी गरे ।
कांग्रेस स्थानीय नेता जीवनाथ चौधरीले भने मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाड्न महतोलगायतको टोली गएको आरोप लगाए ।
धनुषा–३ मा महतो र कांग्रेसका विमलेन्द्र निधिबीच प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुबै हेभिवेट नेता भएकाले कसको पक्षमा नतिजा आउने हो भनि सर्वत्र चासो छ ।