०८ असार २०८३, सोमबार

चितवनमा गर्मीको असर : देखिन थाल्यो ‘हिट स्ट्रोक’को समस्या

जेठ २८, २०८२
चितवन
चितवनमा गर्मीको असर : देखिन थाल्यो ‘हिट स्ट्रोक’को समस्या

चितवनमा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार बुधबार चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने अघिल्लो दिन यो तापक्रम ३९ डिग्री पुगेको थियो ।

गर्मी बढेपछि जनजीवनमा प्रत्यक्ष असर पर्न थालेको छ । गर्मीका कारण यहाँका कतिपय स्थानीय निकायले विद्यालय बन्द गरेका छन् । दिउँसो सडक र बजार सुनसान देखिन थालेका छन् । विशेषगरी वृद्ध, बालबालिका र बाहिर खटिने श्रमिकमा यसको असर बढी परेको छ । 

भरतपुर महानगरपालिका वडा १० स्थित चौविसकोठीको सडक छेउमा पचपन्न वर्षीया चन्द्रकुमारी पुन मगर मकै पोलेर बिक्री गर्ने काम गर्छिन् । उनी भन्छिन्, ‘दिनभर घाम र आगोका बीचमा बस्नुपर्छ, शरीर नै सिथिल हुन्छ । ग्राहक नै छैनन्, अहिले ५० रूपैयाँमा एक घोगा मकै पनि बेच्न गाह्रो भएको छ ।’

सडक सुनसान भएकाले पैदलयात्री र ग्राहकको संख्या घटेको देखिन्छ । सोही स्थानमा भेटिएका अटोरिक्सा चालक खलबहादुर मगरको कुरा पनि यस्तै छ । उनी भन्छन्, ‘रिक्साको छत र सडक दुवैको रापले काम गर्न मनै लाग्दैन । तर के गर्ने, घर चलाउनु नै छ । अहिले मान्छे हिँड्नै छाडे जस्तो छ ।’

त्रिचोकतर्फबाट पैदल आउँदै गरेका ४८ वर्षीय भगवान् शाहीले त गर्मीले थाकेर समयमै काममा पुग्न नसकेको गुनासो गरे । ‘गर्मीले हिँड्नै सकिएन । केही दिनदेखि समयमा काममा पुग्न सकिएको छैन’, उनले भने, ‘अब त गर्मीमा हिँड्दा दुई जोर कपडा लिएर हिँड्नुपर्छ, पसिना भिजेपछि फेर्न ।’

गर्मीका कारण स्वास्थ्यमा पनि असर देखिन थालेको छ । अस्पतालमा गर्मीसम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको भरतपुर अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलले बताए । 

उनका अनुसार अत्यधिक गर्मी र हावामा आद्रता धेरै हुँदा पसिना नआउने समस्या हुन्छ, जसले गर्दा शरीरको भित्री तापक्रम अत्यधिक बढ्छ । यस्तो अवस्था गम्भीर ‘हिट स्ट्रोक’मा परिणत हुन सक्छ । 

अहिले चितवनमा दुई जना व्यक्तिलाई हिट स्ट्रोक भएको पुष्टि भएको समेत उनले बताए । तीमध्ये एक जना चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचारपछि निको भएर फर्किसकेका छन् ।  

त्यसैगरी, गर्मीमा दम, छातीका रोगी र संक्रमणजन्य रोग पनि सक्रिय हुनसक्ने उनले बताए । अहिले झाडापखाला र बान्ताका बिरामी केही देखिए पनि मुख्य रूपमा टाइफाइड र ज्वरोका बिरामी बढी देखिन थालेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशका केही पूर्वी भागमा वर्षा भइरहेको छ भने चितवनजस्ता स्थानमा हावामा पानीका कण धेरै भएकाले तापक्रम कम भए पनि आद्रताका कारण मानिसले बढी जस्तो महसुस गर्ने अवस्था हुन्छ । यसलाई प्राविधिक भाषामा ‘फिल लाइक टेम्परेचर’ भनिन्छ ।

फिजिसियन डा. कँडेलले दिउँसोको समयमा अत्यधिक गर्मी हुँदा बाहिर काम नगर्न, सकेसम्म घरभित्र वा छायाँमा बस्न, नियमित पानी पिउनु र शरीरलाई हाइड्रेटेड राख्नु अत्यावश्यक भएको बताउँछन् । उनले लामो बाहुला भएको कपडा लगाउने र कीरा–सर्पबाट जोगिन मोजा तथा जुत्ता लगाउनुपर्ने सुझाव दिए । 

मौसमविद् लामिछानेका अनुसार बुधबार रातिबाट वर्षाको सम्भावना बढ्दै गएको छ । यसले तापक्रम केही घटाउने आशा गरिएको छ । तापक्रम अझै केही दिन उच्च नै रहने भएकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।-नारायण अधिकारी/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्