
लन्डन जाँदै गरेको एअर इन्डियाको विमान बिहीबार दिउँसो दुर्घटना हुँदा कम्तीमा २०४ जनाको मृत्यु भएको छ ।
विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए । विमान टेकअफ भएको केही मिनेटमै अहमदाबादस्थित मेडिकल कलेजको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको द हिन्दूले जनाएको छ ।
दुर्घटनामा धेरैको मृत्यु भएको आशंका गरिएको । अहमदाबाद प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म २०४ जनाको शव भेटिएको छ भने ४१ जना घाइतेलाई अस्पताल लगिएको छ ।
गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सो विमानमा सवार रहेको भनिएको छ । भाजपा वरिष्ठ नेता भुपेन्द्रसिंह चुडासामाले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘विजय रुपाणी लन्डन जान एअर इन्डियाको उडानबाट गएका थिए ।’
उनले रुपाणीको अवस्था बुझ्न सिटी सिभिल अस्पताल जाँदै गरेको जानकारी पनि दिए ।
यो विमान अहमदाबाद विमानस्थलबाट उडेको केही मिनेटमै आवासीय क्षेत्रमा रहेको मेडिकल कलेजको भवनमा ठोक्किएको थियो ।