
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादीले गरेको हिंसात्मक आन्दोलनमा पक्राउ परी मुद्दा चलाइएका प्रतिवादीहरूमध्ये ७ जना पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।
सरकारी वकिल कार्यालयले ६१ जनालाई प्रतिवादी कायम गरेर गत जेठ ११ मा अदालतमा मुद्दा दायर गरेको थियो ।
ती मध्ये ११ जना धरौटीमा छुटेका थिए । राप्रपाका नेताद्वय धवल शमशेर राणा र रवीन्द्र मिश्र अझै फरार छन् । हाजिरी जमानीमा छुटेका उनीहरू अदालतमा बयान दिन समेत पुगेनन् ।
प्रहरीले राणा र मिश्रलाई हाजिरी जमानी दिएर छुटाएका ३ जनालाई जनही २५ हजार जरिवाना समेत गरिसकेको छ ।
दुर्गा प्रसाईँदेखि सहकारीको घरमा आगो लगाउनेसम्म थुनामा
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रमाण जुटाएर अनुसन्धान मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि गत जेठ ११ मा अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतमा वादी र प्रतिवादीको बहस सुनेपछि थुनछेक बहस शुरू भएको थियो ।
थुनछेक बहसपछि अदालतले राजसंस्था पुनःस्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिका ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईं, कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई पुर्पक्षका लागि कारागार पठाएको हो । बाँकी ३२ जना धरौटी बुझाएर छुटिसकेका छन् ।
सरकारी वकिल कार्यालयले प्रसाईंसहित ७ जनाविरुद्ध तीनकुने घटना र त्यसबाट सिर्जित अन्य घटनाको मुख्य योजनाकारका रूपमा मुद्दा दायर गरेको थियो ।
सरकारी वकिल कार्यकाल काठमाडौंले प्रसाईंबाट उच्छृखल अभिव्यक्ति आउने, निषेधित क्षेत्र तोड्ने, भीडलाई उत्तेजित पार्ने, आफैं सुरक्षाकर्मीको ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेकोमा दोषी मानेको छ । तीनकुनेमा गरिएको प्रदर्शनकै कारणले सिर्जित घटनाबाट सहकारीको घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको ज्यान गुमेको ठम्याइ सरकारी वकिल कार्यालयको छ ।
उनीविरुद्ध ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध गरी ५ कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
जडिबुटी प्रशोधन केन्द्र आगो लगाउने बस्नेत
पुर्पक्षका लागि जेल गएका अर्का प्रतिवादी हुन्, केशव बस्नेत । रामेछापको गोकुलगंगा गाउँपालिका– ४ घर भएका २८ वर्षीय बस्नेतविरुद्ध सरकारी वकिल कार्यालयले दुईवटा कसुर क्रमशः संगठित अपराध र आपराधिक उपद्रवमा मुद्दा दायर गरेको थियो ।
जडिबुटी प्रशोधन केन्द्रमा राखिएका गाडी जलाएको र आगो फैलिएर केन्द्रमा करोडौं रुपैयाँको क्षति हुन पुगेको घटनामा उनलाई मुख्य आरोपी बनाइएको छ । यी आरोप पुष्टि हुने सीसीटीभी फूटेज समेत सरकारी वकिल कार्यालयले प्रमाणको रूपमा पेश गरेको थियो ।
बरालमाथि दमकल रोकेको आरोप
पुर्पक्षका लागि कारागार चलान हुने अर्का प्रतिवादी हुन्, सुशील बराल । ताप्लेजुङको फुङलिङ नगरपालिका– ३ मेदिबुङ घर भएका बराललाई प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानकै एउटा अभियन्ताको रूपमा चित्रित गरिएको छ ।
अभियानको एटीएफका महासचिव समेत रहेका बरालविरुद्ध ३ कसुर क्रमशः राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो ।
तीनकुनेस्थित सुनौलो बचत तथा ऋण सहकारी संस्था रहेको भवनमा लागेको आगो निभाउन आएको दमकललाई अवरोध पुर्याएको आरोप बरालमाथि छ ।
उनले दमकल रोक्दा आगो निभाउन नपाएकै कारण पत्रकार रजकको जलेर मृत्यु भएको दाबी गरिएको छ ।
जडिबुटी प्रशोधन केन्द्रको कागजको बाक्सामा आगो झोस्ने तामाङ प्रसाईंसँगै पुर्पक्षमा कारागार पुगेका अर्का प्रतिवादी हुन्, सिन्धुपाल्चोक बाह्रबीसेका कुमार तामाङ ।
दुईवटा कसुर क्रमशः आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा दर्ता गरिएका तामाङविरुद्ध जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाएको आरोप लगाइएको छ ।
उनले केन्द्रभित्र राखिएका कागजको कार्टुनमा आगो लगाएको सीसीटीभी फूटेजमा समेत देखिन्छ । उनले ट्राफिक लाइट र सीसीटीभी समेत तोडफोड गरेका थिए ।
तीनकुनको सहकारी भवन तोडफोड र आगजनी गर्ने रेग्मी
पुर्पक्षमा कारागार गएका मध्येका अर्का प्रतिवादी हुन्, अछाम बान्निगडी गाउँपालिकाका डण्डपाणि रेग्मी । उनी राजावादीनिकट शिवसेनासँग आबद्ध छन् ।
उनीविरुद्ध ४ कसुर क्रमशः राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध तीनकुनेको सहकारी भवन तोडफोड र आगजनी गरेको आरोप छ ।
निषेधित क्षेत्र तोड्न प्रसाईंलाई सहयोग गर्ने शाही
अछामकै गोकर्ण शाहीलाई पनि प्रतिवादी बनाइएको थियो, जो प्रसाईंसँगै कारागार चलान भए । ललितपुरको टिकाथली बस्दै आएका शाहीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ।
राप्रपा र प्रसाईंको एटीएफमा आबद्ध रहेका रहेको शाहीविरुद्ध प्रसाईंले सुरक्षाकर्मीलाई पेल्दै गाडी अगाडि लगेका बेला उनको सहयोगीको भूमिकामा रहेको आरोप लगाइएको छ ।
दुर्गा प्रसाईंले आओ–आओ भन्दै गाडी अगाडि बढाएका बेला उनले प्रसाईंकै गाडीको झ्यालमा झुन्डिएर भीडलाई हौस्याउँदै आक्रोशित बनाएको आरोप लगाइएको छ ।
तीनकुनेको सहकारी भवन आगो लगाउने गौतम
पुर्पक्षमा गएकामध्येका अन्तिम प्रतिवादी हुन्, रामेछापका सरोज गौतम । उनी तारा राजावादी भनेर चिनिन्छन् ।
उनीविरुद्ध ४ वटा कसुर क्रमशः राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो ।
गौतम एनी टाइम रेडी फोर्स (एटीआरएफ)मा आबद्ध सदस्य रहेको बताइएको छ । तीनकुनेको सहकारी भवनमा आगो लगाउनेमध्ये गौतम पनि एक रहेको आरोप छ ।
अकाट्य प्रमाणले सातजना पुर्पक्षमा गए : प्रहरी
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराका अनुसार तीनकुने घटनामा जेल गएका ७ जना आरोपीविरुद्ध प्रहरीले अकाट्य प्रमाण फेला पारेको थियो ।
उक्त प्रमाण सरकारी वकिल कार्यालयमा मिसिलमा संलग्न गरी पठाइएको थियो । ‘सीसीटीभी फूटेजबाट धेरै प्रमाणहरू भेटिए, प्रमाण अकाट्य भएपछि प्रसाईंसहतिका ७ जना पुर्पक्षमा गए,’ बोहराले लोकान्तरसँग भने, ‘प्रहरीले मिहीन ढंगबाट अनुसन्धान गरेको थियो ।’