
विगत २४ घण्टायता २ पुराना झगडिया इजरायल र इरानबीचको युद्धले मध्यपूर्वको आकाश गर्जिरहेको छ ।
इजरायलले इरानको आणविक सुविधा, मिसाइल कारखाना र सैन्य कमान्डरहरूलाई निशाना बनाउँदै ठूलो हवाई आक्रमण गरेपछि इरानले पनि इजरायलमाथि ड्रोन आक्रमण शुरू गरेको छ ।
'अपरेशन राइजिङ लायन'को नाममा इजरायलले इरानको आणविक कार्यक्रम रोक्ने लक्ष्यसहित इरानमा आक्रमण गरेको बताएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले यो कारबाहीलाई इरानको आणविक हतियार विकास रोक्न अपरिहार्य कदम भनेर वक्तव्य दिएका छन् ।
इजरायलले गरेको आक्रमणको जवाफमा इरानले करिब १०० ड्रोनहरू जोर्डनको आकाश हुँदै इजरायल पठाएको छ ।
इरानी सेनाले ४ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको जनाएको छ । यो घटनाले विश्व बजारमा तेलको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने मध्यपूर्वमा ठूलो युद्धको त्रास फैलिएको छ ।
गत अक्टोबर २०२४ मा इरानले इजरायलमाथि १८० ब्यालेस्टिक मिसाइल प्रहार गरेको घटनाको जवाफमा इजरायलले आक्रमण शुरू गरेको दाबी गरेको छ ।
त्यतिबेला इजरायलले उपयुक्त समयमा प्रतिक्रिया दिइने जनाएको थियो ।
इरानले हमासका राजनीतिक नेता इस्माइल हानियेह, हिजबुल्लाहका कमान्डर फुआद शुक्र र इरानी रिभोलुसनरी गार्डका कमान्डरको हत्याको प्रतिशोधमा ती मिसाइलहरू इजरायलमाथि प्रहार गरेको थियो ।
त्यसअघि २०२४ को अप्रिलमा पनि इरानले दमास्कसस्थित आफ्नो दूतावासमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो ।
इजरायल र इरानबीचको लामो समयदेखिको शत्रुता अब प्रोक्सी युद्धबाट प्रत्यक्ष सैन्य टकरावतर्फ मोडिएको स्पष्ट संकेत देखिएको छ ।
पछिल्लो ५ दशकयता शत्रुतापूर्ण सम्बन्ध रहेका दुवैदेशबीच कुनै समय गहिरो दोस्तीसमेत थियो ।
विगतको दोस्ती
इजरायल र इरानबीचको सम्बन्ध अहिले देखिएको जस्तो सधैं युद्धमय थिएन ।
सन् १९४८ मा इजरायलको स्थापना भएपछि शाह मोहम्मद रेजा पहलवीको शासनमा रहेको इरानले सन् १९५० मा इजरायललाई मान्यता दिएको थियो ।
टर्कीयपछि इजरायललाई मान्यता दिने इरान दोस्रो मुस्लिम-बहुल देश बनेको थियो । जबकि मध्यपूर्वका अन्य देशहरूले इजरायललाई मान्यता दिन अस्वीकार गरेका थिए । कतिपय मुस्लिमबहुल देशहरूले अझै पनि इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका छैनन् ।
शीतयुद्धको समयमा दुवै देशले अरब राष्ट्रवाद र सोभियत प्रभावलाई सन्तुलनमा राख्न रणनीतिक गठबन्धन बनाएका थिए । त्यतिबेला इरानले इजरायललाई तेल आपूर्ति गर्थ्यो भने इजरायलले इरानलाई सैन्य प्रविधि र प्रशिक्षण प्रदान गर्थ्यो ।
दुवै देशले इजिप्ट र सिरियाजस्ता अन्य अरब देशलाई आफ्नो साझा शत्रु ठान्थे । सिया मुस्लिम बाहुल्य देश इरान र यहुदीको देश इजरायलबीचको त्यतिबेलाको दोस्ती लोभलाग्दो थियो ।
अनि रोपियोशत्रुताको बीउ...
सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिले यी दुई देशबीचको मित्रतालाई चकनाचुर पारिदियो । अयातोल्लाह रुहोल्लाह खामेनीले नेतृत्व गरेको विद्रोहले शाहको शासन ढल्यो र इस्लामिक गणतन्त्र स्थापना भयो ।
खामेनीले अमेरिकालाई ठूलो शैतान र इजरायललाई सानो शैतान घोषणा गरे । त्यसलगत्तै उनले प्यालेस्टाइनको समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाए ।
खामेनी नेतृत्वको सत्ताले तेहरानस्थित इजरायली दूतावास बन्द गर्यो र त्यसको ठाउँमा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) को कार्यालय खोलियो ।
यो क्रान्तिले इरानको राजशाही ढल्यो भने इजरायललाई वैचारिक र भूराजनीतिक शत्रु बनायो । इरानले प्यालेस्टाइनको मुक्ति र इजरायलको विरोधलाई आफ्नो क्रान्तिकारी विचारधाराको केन्द्रबिन्दु बनायो ।
प्रोक्सी युद्धको युग
१९८० को दशकमा इरानले लेबनानमा सिया समूह हिजबुल्लाहलाई सैन्य र आर्थिक सहायता दिन थाल्यो ।
सन् १९८२ मा लेबनानमा इजरायलले आक्रमण गरेपछि इरानले हिजबुल्लाहमार्फत इजरायलमाथि प्रोक्सी युद्ध शुरू गर्यो । इजरायलसँग दुश्मनी बढ्न थालेपछि इरानले सिरियासँग गठबन्धन बनायो । सिरियाले पनि हिजबुल्लाहलाई हतियार र लजिस्टिक सहयोग दिन शुरू गर्यो ।
इरानले इजरायलविरोधी देशहरूको गठबन्धन बनाएर प्रोक्सी युद्ध शुरू गरेपछि इजरालयले आफूमाथि क्षेत्रीय स्तरमै घेराबन्दी भएको अनुभव गर्यो ।
इरानबाट आफू सुरक्षित नहुने ठानेको इजरायलले इरानको आणविक हतियार विकास रोक्नतर्फ हदैसम्मको प्रयास गरेको छ । सन् २०१० मा 'स्टक्सनेट साइबर आक्रमण' गरेर इजरायलले इरानको नातान्ज आणविक भट्टीलाई ठूलो क्षति पुर्याएको थियो ।
आणविक तनाव र प्रत्यक्ष टकराव
पछिल्लो समय इरानको आणविक कार्यक्रम र क्षेत्रीय प्रभाव विस्तारपछि इजरायल थप सशंकित बनेको छ । इजरायली गुप्तचरहरूले यसअघि इरानका आणविक वैज्ञानिकको हत्या गरेको इरानको आरोप छ । त्यस्तै, इजरायलले सिरियामा रहेका इरानी सैन्य अड्डाहरूमाथि पनि यसअघि धेरैपटक हवाई आक्रमण गरिसकेको छ ।
५ वर्षअघि सन् २०२० मा इरानका शीर्ष आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्याको पछाडि इजरायलको हात रहेको इरानको आरोप छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमण र त्यसपछिको गाजा युद्धका क्रममा इरानले प्रोक्सीको भूमिका निभायो ।
गत अप्रिल २०२४ मा सिरियाको दमास्कसस्थित इरानी दूतावासमा इजरायली आक्रमणले इरानी रिभोलुसनरी गार्डका कमान्डरहरू मारिएका थिए ।
त्यसको जवाफमा इरानले पहिलोपटक इजरायलमाथि प्रत्यक्ष रूपमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।
त्यसको ४ महिनापछि इरानले फेरि १८० भन्दा बढी मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । युद्धको क्रिया र प्रतिक्रियाको सिलसिला अहिलेसम्म जारी छ ।
झगडाको कारण
इजरायल र इरानबीचको लामो युद्धमा वैचारिक, धार्मिक र भूराजनीतिक कारणहरू छन् । इरानले इजरायललाई यहूदी राज्यको रूपमा अस्वीकार गरेको छ । इजरायलले भने इरानलाई देशका रूपमा स्वीकारे पनि इस्लामिक शासनलाई क्षेत्रीय अस्थिरताको स्रोत ठान्छ ।
इरानको आणविक कार्यक्रम इजरायलका लागि सबैभन्दा ठूलो खतरा हो । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले पनि इरानले आणविक सम्झौताको दायित्व पालना नगरेको भनेर बारम्बार चेतावनी दिने गरेको छ ।
इजरायलले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न सैन्य र गुप्त कारबाहीलाई प्राथमिकता दिएको छ ।
इरान र इजरायलबीचको युद्धको अर्को प्रमुख कारण भनेको क्षेत्रीय प्रभावको प्रतिस्पर्धा पनि हो ।
इरानले सिरिया, लेबनान र यमनमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ । आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इरानले हिजबुल्लाह, हमास र हुथीलाई समर्थन गरेको छ ।
इरानले समर्थन गरेका यी प्रोक्सी समूहहरूले इजरायललाई निरन्तर चुनौती दिइरहेका छन् । यससँगै, बाह्य शक्तिहरूको भूमिकाले पनि इरान र इजरायलको द्वन्द्वलाई थप जटिल बनाएको छ ।
बाह्य शक्तिमध्ये अमेरिका, बेलायत र फ्रान्सले इजरायललाई समर्थन गर्छन् भने रुस र चीनले इरानप्रति नरम नीति अपनाएका छन् ।
विश्वको प्रतिक्रिया
इजरायलले इरानमाथि गरेको पछिल्लो आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले मिश्रित प्रतिक्रिया दिएको छ ।
अमेरिकाले इजरायलको आत्मरक्षा र इरानलाई आणविक हतियार बनाउन नदिने नीतिलाई समर्थन गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धहरूको घोषणा गरेका छन् ।
रुस र चीनले भने इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भन्दै संयुक्त राष्ट्रसंघमा प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
साउदी अरबले पनि इजरायलको आक्रमणको भर्त्सना गरेको छ भने संयुक्त अरब इमिरेट्सले तटस्थ रहने प्रयास गरेको छ । टर्कीले इजरायलको कडा निन्दा गरेको छ र प्यालेस्टाइनको समर्थनमा जोड दिएको छ ।