
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई पक्राउ गरेको छ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा उनीहरूलाई आयोगको टंगालबाट खटिएको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्क कार्यालयका प्रमुख एवं कर्मचारीहरू र महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजारदेखि २५ हजारसम्म रकम लिएर लाइसेन्स दिएको उजुरी आयोगमा परेको थियो । सोही विषयको अनुसन्धानका लागि आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
आयोगको टोलीले गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ । पाठकलाई भने यातायात व्यवस्था कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले जानकारी दिए ।
आयोगले कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरू र विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको विद्युतीय उपकरण मोबाइल (३१ थानभन्दा बढी), ल्यापटप २ थान र अन्य कागजातसमेत नियन्त्रणमा लिएको छ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।