१७ असार २०८३, बुधबार
संस्कृति संरक्षणमा अग्रसर महिला

पञ्चैबाजा बजाएर संस्कृति संरक्षणसँगै आम्दानी गरिरहेका आमाहरू

जेठ ३१, २०८२
विराटनगर
पञ्चैबाजा बजाएर संस्कृति संरक्षणसँगै आम्दानी गरिरहेका आमाहरू

गाउँका युवाहरू विदेश पलायन भएपछि महिलाहरू संस्कृति संरक्षणमा लागेका छन् । विराटनगर महानगरपालिका–४ मा रहेको ‘नमूना नौमती महिला पञ्चैबाजा समूह’का महिलाहरू संस्कृति संरक्षणमा लागेका हुन् । विवाह, पूजापाठ र अन्य शुभकार्यमा अपरिहार्य मानिने यो बाजा बजाएर उनीहरूले संरक्षणसँगै आम्दानी पनि गरिरहेका छन् । 

शताब्दीऔं अघिदेखि प्रचलनमा रहेको पञ्चैबाजा विशेषगरी दलित (दमाई) समुदायका पुरुषले बजाउँदै आएको बाजा हो। पञ्चेबाजामा ढोल, दमाहा, नरसिंहा, ट्याम्कोसनईगरी पाँच वटा मुख्य वाद्ययन्त्र हुन्छन् ।  यी वाद्यहरूको ध्वनिले शुभकार्यमा मंगलमय वातावरण सृजना गर्छ । 

पञ्चेबाजाको प्रत्येक वाद्ययन्त्रको आफ्नै विशेषता र महत्व छ । दमाहाको गहिरो आवाजले उत्सवको मुख्य लय दिन्छ भने नरसिंहाको तीखो स्वरले वातावरणमा उत्साह भर्छ । ट्याम्कोको मिठो झंकारले धुनलाई मधुर बनाउने गरेको बाजा बजाउनेहरू बताउँछन्सनईको स्वरले सम्पूर्ण संगीतमा प्राण भर्छ । ढोलकीको तालले सबै वाद्यहरूलाई एकैसाथ बाँध्छ ।

तर, आधुनिकीकरण र सामाजिक परिवर्तनसँगै पञ्चेबाजा संकटमा पर्न थालेको छ । ब्यान्ड बाजाको लोकप्रियताले परम्परागत नौमती बाजालाई विस्तारै हराउन थालेका छन् । अझ युवा पलायनले त यो संकट झनै गहिरो बनाएको उनीहरूको भनाइ छ ।

यस्तै, परिस्थितिमा विराटनगरका केही महिलाहरूले पञ्चेबाजा बजाउने साहस गरेका हुन् । भीमा पोख्रेलको नेतृत्वमा ११ जना महिलाले मिलेर ‘नमूना नौमती महिला पञ्चेबाजा समूह’ गठन गरेका छन् ।  समूहमा उमादेवी ठकुरी, हरीकुमारी ठकुरी, इन्दिरा विष्ट, झुमा लुइँटेल बास्तोला, आश्रिया पोखरेल र रेनुका अधिकारीलगायत महिलाहरू छन् । 

जातीय परम्परामा बाँधिएको यो कलालाई महिलाहरूले अपनाए पनि उनीहरूले असहज भने महसुस गर्नु परेन । उनीहरूले बाजाको संरक्षण गर्ने उद्देश्यले विराटनगर महानगरले तालिमको माग पनि गरेका छन् ।  तालिम लिएपछि उनीहरूले वडा कार्यालयमा बाजाको सेट मागेका थिए ।

प्रारम्भमा वाद्ययन्त्रको अभाव र प्राविधिक ज्ञानको कमी मुख्य समस्या थियो । ‘पहिले त हामीले कहिल्यै यी वाद्यहरू छोएका पनि थिएनौं,’ भीमाले भनिन्, ‘समाजले के भन्ला भन्ने डर पनि लाग्थ्यो ।’ तर जातीय भेदभाव घटाउन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले अहिले बजा बजाउन थालेको उनले बताइन् । 

null

भीमाले ठूलो दमाहा, उमादेवीले नरसिंहा, हरी कुमारीले ट्याम्को, इन्दिराले सनई र रेनुकाले ढोलकी बजाउने गर्छन् ।  सनईमा स्वर राख्न भने पुरुष दमाई परिवारलाई समावेश गरिएको छ । ‘पहिला त्यही समुदायले बजाएको थियो ।  दमाई समुदायलाई अहिले पनि सगुन भन्ने चलन छ  ।  त्यही भएर पनि हामीले एक जनालाई लिने गरेका छौं’ भीमाले भनिन् ।  पछिल्लो समय भने छोरा मान्छेभन्दा बढी छोरी मान्छेकै माग बढेको उनले बताइन् । महिलामा धेरै इमान्दारिता हुने भन्दै खोज्ने गरेको उनले बताइन्  । 

दुई वर्षको निरन्तर अभ्यासपछि उनीहरूको सीप निखारिएको छ । शुरूमा स्थानीय कार्यक्रममा बजाउन थालेका यी महिलाहरू अहिले धेरैतिर प्रसिद्ध भएका छन् । 

समूहले मोरङ, झापा, उदयपुरलगायत जिल्लामा पुगेर आफ्नो कला देखाएको छ । आर्थिक अवस्था हेरेर उनीहरूले दैनिक १५ हजारदेखि ३५ हजारसम्म पारिश्रमिक लिएको बताउँछन् । ‘आर्थिक अवस्था कमजोर भएको परिवारलाई पनि नौमती बाजा बजाएर शुभकार्य गर्न मन लाग्यो भने हामी त्यहीअनुसार गर्छाैं,’ भीमा भन्छिन् । 

यो पहलले जातीय र लैंगिक भेदभावमाथि प्रश्न खडा गरेको छ । केही वर्ष अगाडिसम्म दलित समुदायले मात्र बजाउने पञ्चेबाजालाई अहिले विभिन्न जातका महिलाहरूले व्यवसायीक बनाउँदै छन् । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले महिलाहरूको कामको प्रशंसा गरेकी थिइन् । 

गत शुक्रबार विराटनगरमा भएको उपमेयरहरूको सम्मेलन उद्घाटन गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगरमा आएकी थिइन् ।  भण्डारीलाई बाजा बजाएर यिनै महिलाले स्वागत गरेका थिए । कार्यक्रमबाट निस्कने क्रममा उनीहरूले भण्डारीसँग फोटो समेत खिचाएका थिए । उनले बधाईसमेत नभनेको भन्दै बाजा बजाउनेहरूले गुनासो गरेका थिए । 

‘उपमेयर डंगोलले ठूलो काम गर्नुभएको रहेछ भनेर बधाई दिनुभयो,’ भीमा भन्छिन् । परिवारको साथ पाएपछि यी महिलाहरू थप उत्साहित भएका छन् । ‘कहिले नबजाएको पञ्चेबाजा परिवारको साथ पाएपछि हामी पनि हौसिएका छौं,’ उनले भनिन् । 

null

ठाउँ र कार्यक्रम हेरेर उनीहरूले पारिश्रमिक लिने गरेका छन् ।  कहाँ जाने र कस्तो कार्यक्रममा बाजा बजाउने हो त्यहीअनुसार गर्ने गरेको उनीहरू बताउँछन् । 

महिलाहरूको प्रयासले संस्कृतिलाई आर्थिक र सामाजिक सशक्तीकरणसँग जोड्ने नयाँ अभ्यासको शुरूआत गरेको छ । बाजा बजाएरै मासिक रूपमा एक जनाले १५ हजारसम्म कमाउने गरेको उनीहरू बताउँछन् ।  एक ठाउँबाट आएको पैसा बाजा बिग्रिएमा बनाउन भनेर केही छुट्याउँछन् भने अन्य सबैले बराबरी भागबन्डा गर्छन् ।

उनीहरूको यो पहलले अन्य महिलाहरूलाई प्रेरणा दिँदै परम्परागत कलाको संरक्षणमा नयाँ आयाम थपेको छ । पञ्चेबाजामा महिलाको यो प्रवेश केवल संस्कृतिको संरक्षण मात्र नभएर सामाजिक न्यायको दिशामा उठाइएको महत्त्वपूर्ण कदमसमेत हो ।

salt training

कमेन्ट गर्नुहोस्