
गाउँका युवाहरू विदेश पलायन भएपछि महिलाहरू संस्कृति संरक्षणमा लागेका छन् । विराटनगर महानगरपालिका–४ मा रहेको ‘नमूना नौमती महिला पञ्चैबाजा समूह’का महिलाहरू संस्कृति संरक्षणमा लागेका हुन् । विवाह, पूजापाठ र अन्य शुभकार्यमा अपरिहार्य मानिने यो बाजा बजाएर उनीहरूले संरक्षणसँगै आम्दानी पनि गरिरहेका छन् ।
शताब्दीऔं अघिदेखि प्रचलनमा रहेको पञ्चैबाजा विशेषगरी दलित (दमाई) समुदायका पुरुषले बजाउँदै आएको बाजा हो। पञ्चेबाजामा ढोल, दमाहा, नरसिंहा, ट्याम्को र सनईगरी पाँच वटा मुख्य वाद्ययन्त्र हुन्छन् । यी वाद्यहरूको ध्वनिले शुभकार्यमा मंगलमय वातावरण सृजना गर्छ ।
पञ्चेबाजाको प्रत्येक वाद्ययन्त्रको आफ्नै विशेषता र महत्व छ । दमाहाको गहिरो आवाजले उत्सवको मुख्य लय दिन्छ भने नरसिंहाको तीखो स्वरले वातावरणमा उत्साह भर्छ । ट्याम्कोको मिठो झंकारले धुनलाई मधुर बनाउने गरेको बाजा बजाउनेहरू बताउँछन् । सनईको स्वरले सम्पूर्ण संगीतमा प्राण भर्छ । ढोलकीको तालले सबै वाद्यहरूलाई एकैसाथ बाँध्छ ।
तर, आधुनिकीकरण र सामाजिक परिवर्तनसँगै पञ्चेबाजा संकटमा पर्न थालेको छ । ब्यान्ड बाजाको लोकप्रियताले परम्परागत नौमती बाजालाई विस्तारै हराउन थालेका छन् । अझ युवा पलायनले त यो संकट झनै गहिरो बनाएको उनीहरूको भनाइ छ ।
यस्तै, परिस्थितिमा विराटनगरका केही महिलाहरूले पञ्चेबाजा बजाउने साहस गरेका हुन् । भीमा पोख्रेलको नेतृत्वमा ११ जना महिलाले मिलेर ‘नमूना नौमती महिला पञ्चेबाजा समूह’ गठन गरेका छन् । समूहमा उमादेवी ठकुरी, हरीकुमारी ठकुरी, इन्दिरा विष्ट, झुमा लुइँटेल बास्तोला, आश्रिया पोखरेल र रेनुका अधिकारीलगायत महिलाहरू छन् ।
जातीय परम्परामा बाँधिएको यो कलालाई महिलाहरूले अपनाए पनि उनीहरूले असहज भने महसुस गर्नु परेन । उनीहरूले बाजाको संरक्षण गर्ने उद्देश्यले विराटनगर महानगरले तालिमको माग पनि गरेका छन् । तालिम लिएपछि उनीहरूले वडा कार्यालयमा बाजाको सेट मागेका थिए ।
प्रारम्भमा वाद्ययन्त्रको अभाव र प्राविधिक ज्ञानको कमी मुख्य समस्या थियो । ‘पहिले त हामीले कहिल्यै यी वाद्यहरू छोएका पनि थिएनौं,’ भीमाले भनिन्, ‘समाजले के भन्ला भन्ने डर पनि लाग्थ्यो ।’ तर जातीय भेदभाव घटाउन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले अहिले बजा बजाउन थालेको उनले बताइन् ।
भीमाले ठूलो दमाहा, उमादेवीले नरसिंहा, हरी कुमारीले ट्याम्को, इन्दिराले सनई र रेनुकाले ढोलकी बजाउने गर्छन् । सनईमा स्वर राख्न भने पुरुष दमाई परिवारलाई समावेश गरिएको छ । ‘पहिला त्यही समुदायले बजाएको थियो । दमाई समुदायलाई अहिले पनि सगुन भन्ने चलन छ । त्यही भएर पनि हामीले एक जनालाई लिने गरेका छौं’ भीमाले भनिन् । पछिल्लो समय भने छोरा मान्छेभन्दा बढी छोरी मान्छेकै माग बढेको उनले बताइन् । महिलामा धेरै इमान्दारिता हुने भन्दै खोज्ने गरेको उनले बताइन् ।
दुई वर्षको निरन्तर अभ्यासपछि उनीहरूको सीप निखारिएको छ । शुरूमा स्थानीय कार्यक्रममा बजाउन थालेका यी महिलाहरू अहिले धेरैतिर प्रसिद्ध भएका छन् ।
समूहले मोरङ, झापा, उदयपुरलगायत जिल्लामा पुगेर आफ्नो कला देखाएको छ । आर्थिक अवस्था हेरेर उनीहरूले दैनिक १५ हजारदेखि ३५ हजारसम्म पारिश्रमिक लिएको बताउँछन् । ‘आर्थिक अवस्था कमजोर भएको परिवारलाई पनि नौमती बाजा बजाएर शुभकार्य गर्न मन लाग्यो भने हामी त्यहीअनुसार गर्छाैं,’ भीमा भन्छिन् ।
यो पहलले जातीय र लैंगिक भेदभावमाथि प्रश्न खडा गरेको छ । केही वर्ष अगाडिसम्म दलित समुदायले मात्र बजाउने पञ्चेबाजालाई अहिले विभिन्न जातका महिलाहरूले व्यवसायीक बनाउँदै छन् । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले महिलाहरूको कामको प्रशंसा गरेकी थिइन् ।
गत शुक्रबार विराटनगरमा भएको उपमेयरहरूको सम्मेलन उद्घाटन गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगरमा आएकी थिइन् । भण्डारीलाई बाजा बजाएर यिनै महिलाले स्वागत गरेका थिए । कार्यक्रमबाट निस्कने क्रममा उनीहरूले भण्डारीसँग फोटो समेत खिचाएका थिए । उनले बधाईसमेत नभनेको भन्दै बाजा बजाउनेहरूले गुनासो गरेका थिए ।
‘उपमेयर डंगोलले ठूलो काम गर्नुभएको रहेछ भनेर बधाई दिनुभयो,’ भीमा भन्छिन् । परिवारको साथ पाएपछि यी महिलाहरू थप उत्साहित भएका छन् । ‘कहिले नबजाएको पञ्चेबाजा परिवारको साथ पाएपछि हामी पनि हौसिएका छौं,’ उनले भनिन् ।
ठाउँ र कार्यक्रम हेरेर उनीहरूले पारिश्रमिक लिने गरेका छन् । कहाँ जाने र कस्तो कार्यक्रममा बाजा बजाउने हो त्यहीअनुसार गर्ने गरेको उनीहरू बताउँछन् ।
महिलाहरूको प्रयासले संस्कृतिलाई आर्थिक र सामाजिक सशक्तीकरणसँग जोड्ने नयाँ अभ्यासको शुरूआत गरेको छ । बाजा बजाएरै मासिक रूपमा एक जनाले १५ हजारसम्म कमाउने गरेको उनीहरू बताउँछन् । एक ठाउँबाट आएको पैसा बाजा बिग्रिएमा बनाउन भनेर केही छुट्याउँछन् भने अन्य सबैले बराबरी भागबन्डा गर्छन् ।
उनीहरूको यो पहलले अन्य महिलाहरूलाई प्रेरणा दिँदै परम्परागत कलाको संरक्षणमा नयाँ आयाम थपेको छ । पञ्चेबाजामा महिलाको यो प्रवेश केवल संस्कृतिको संरक्षण मात्र नभएर सामाजिक न्यायको दिशामा उठाइएको महत्त्वपूर्ण कदमसमेत हो ।