
नेपालले आजदेखि बङ्गलादेशलाई नियमित रूपमा विद्युत निर्यात सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणले भारतीय प्रसारण लाइनमार्फत व्यवसायिक रूपमा ४० मेगावाट विद्युत बङ्गलादेश पठाउन थालेको हो।
गत वर्ष पहिलोपटक कात्तिक १८ गते (जुलाई १५) मा १२ घण्टाका लागि परीक्षणस्वरूप विद्युत निर्यात गरिएको थियो। त्यसको निरन्तरता स्वरूप यो वर्ष असार १ गते (जुन १५) राति १२ बजेदेखि नियमित निर्यात सुरु भएको हो।
नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत व्यापार निगमबीच भएको त्रिपक्षीय सम्झौताअनुसार निर्यात प्रक्रिया अघि बढाइएको हो। यसअनुसार त्रिशुली जलविद्युत केन्द्रबाट १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत बङ्गलादेश पठाइनेछ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा उत्पन्न हुने अतिरिक्त विद्युत छिमेकी मुलुकहरूलाई निर्यात गर्न पाउनु गौरवको विषय भएको बताए ।
यस वर्ष विद्युत निर्यात पाँच महिनासम्म निरन्तर चल्नेछ र आगामी नोभेम्बर १५ सम्म कायम रहनेछ। यो अवधिमा करिब १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत बङ्गलादेशमा पठाइने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए ।
नेपालले वर्षायाममा उत्पादन हुने बढी विद्युत हरेक वर्ष भारतलाई निर्यात गर्दै आएकोमा अहिले बङ्गलादेशसम्म पनि नियमित आपूर्ति सुरु हुनु ऐतिहासिक उपलब्धि मानिएको छ। उर्जामन्त्री खड्काका अनुसार विद्युत निर्यात नेपालका लागि व्यापार घाटा कम गर्न सक्ने एक प्रमुख आधार बन्न सक्छ।