
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत् व्यापारबाट पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका छन्।
यस वर्ष नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आज ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट विद्युत् निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।
गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो ‘सिजन’को अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म विद्युत् निर्यात भएको थियो ।
ऊर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताए ।