
धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघाबीच श्रमदान कार्यको भुक्तानीको विषयलाई लिएर तीव्र विवाद भएको छ ।
विवाद चर्किँदै जाँदा सोमबार बजेट सीमा निर्धारण समितिको बैठकका क्रममा मेयरका समर्थकहरूले उपमेयरमाथि हुलहुज्जत र हातपातको प्रयाससमेत गरेको आरोप लागेको छ ।
मेयर साम्पाङले धरान उपमहानगर–१६ मा रहेको बहुभाषिक पाठशाला संरक्षणका लागि श्रमदान गरेको भिडियो फोटो सार्वजनिक गरेका थिए । बहुभाषिक पाठशाला भने उपमहानगरकै बजेटबाट बनेको उपमेयर पक्षको भनाइ रहेको छ । मेयर साम्पाङले श्रमदानबाट भने ग्याबिन बनाएका हुन् ।
पहिला श्रमदान भनेर प्रचार गरिएको ग्याबिनको भुक्तानीका लागि उपमेयरलाई दबाब दिएपछि यो विवाद उत्पन्न भएको उपमहानगर स्रोतले बतायो ।
उपमेयर बेघाले मेयरले आफूलाई जानकारी नदिई उपभोक्ता समिति गठन गरेको र अनुगमन नगरी भुक्तानी गर्न दबाब दिएको आरोप लगाएका छन् । अनुगमन नभएका कारण रकम निकासा रोकिएपछि मेयर साम्पाङ थप रिसाएका थिए ।

मेयर साम्पाङले धरान–१४ का प्रसाद राईको संयोजकत्वमा उपभोक्ता समिति बनाएका थिए । समितिमा अन्य वडाका व्यक्तिहरू राखेर स्थानीयलाई थाहै नदिएपछि मेयरबाहेक जनप्रतिनिधि भने उनीसँग रुष्ट बनेका हुन् ।
पहिला श्रमदान भनेर प्रचार गर्ने र काम सकिएपछि बाटोबाटै उपभोक्ता समिति बनाएर भुक्तानीका लागि कागजात बनाएर कर्मचारीलाई दबाब दिने गरेको उपमेयर पक्षको आरोप छ । काम सकिएपछि इस्टिमेट डिजाइनलगायता काम गर्न मेयर साम्पाङले कर्मचारीलाई दबाब दिने गरेका थिए ।
‘अनुगमन नै नगरी भुक्तानी हुने गरेको रहेछ,’ उपमेयर बेघाले भने, ‘कर्मचारीले डरले भन्न सकेका थिएनन् । अहिले भने कर्मचारीले फस्ने डरले पहिलाका घटना पनि सुनाउन थालेका छन् ।’
सोमबार भने आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण समितिको बैठक बसेको थियो । बैठक चलिरहेको बेला मेयर साम्पाङले उपमेयर बेघालाई आफ्नै कार्यकक्षमा बोलाएका थिए । उपमेयर मेयरको कक्षमा पुग्दा त्यहाँ मेयरका समर्थकहरू जम्मा भएका थिए । त्यसपछि हो हल्ला र हुलहुज्जत गर्दै हात हतियारसहित आएका मेयर साम्पाङका समर्थकले हातपातको प्रयास गरेको उपमेयरको आरोप छ ।
मेयरले संस्थागत निर्णयविना काम गरेर भुक्तानीका लागि कर्मचारीसहित आफूलाई दबाब दिएको र अनुगमन नै नगरी भुक्तानी गर्न खोजेको आरोप उपमेयरले लगाएका छन् ।

पछिल्लो समय भने मेयर उपमेयरको विवाद धरानको बगरकोटबाट शुरू भएको थियो । स्रोतका अनुसार त्यहाँ पुल जोगाउन ग्याबिन लगाउनुपर्ने थियो । मेयर साम्पाङले श्रमदानबाट काम गरेको भनेर प्रचार गरिरहेका थिए । उपमेयर बेघा पनि त्यहाँ गएका थिए । उनले उपमहानगरले तारजाली बाँडेको हो भनेर भनेका थिए । आफूले गरेको काममा तारजाली उपमहानगरले दिएको भनेर मेयर साम्पाङ थप रुष्ट बनेका थिए ।
बैठकमा शुरूमै ‘३ सय वटा तारजाली मैले बाँडेको छु, त्यसको भुक्तानी गर्नुपर्छ’ भनेपछि उपमेयरले यस्तो काम गर्न सकिँदैन भनेर मेयरको प्रस्तावको ठाडो विरोध गरेका थिए । ‘संस्थागत निर्णय भएर गरेको भए भुक्तानी हुन्छ, नत्र कसरी हुन्छ ?’ भनेर उपमेयर बेघाले प्रतिवाद गरेपछि मेयर-उपमेयरबीच तिक्तता बढेको अन्य जनप्रतिनिधि बताउँछन् । मेयर साम्पाङ स्वतन्त्र हुन् भने उपमेयर बेघा माओवादीबाट निर्वाचित हुन् ।

मेयर साम्पाङले भने मंगलबार बिहान पत्रकार सम्मेलन गरेर उपमेयरले असहयोग गरेको आरोप लगाए । पत्रकार सम्मेलनमा मेयर साम्पाङले भने, ‘पाठशालाको पछाडिपट्टि भत्केको थियो । गत जेठ १६ गते आएको बाढीले थप क्षति बनायो । पाठशाला जोगाउन हामीले काम गरेका हौं । खोला कसैको हुँदैन । काम गर्ने मान्छे एउटा घरमा बसेर हाम्रो अभियानलाई असहयोग गर्नेलाई त राख्न सकिँदैन ।’
उपभोक्ता समिति बनाउँदा १६ नम्बरको वडाअध्यक्षले हस्ताक्षर गरे पनि काम सकिएपछि सार्वजनिक परीक्षण गर्दा असहयोग गरेकाले आफूले नै हस्ताक्षर गरेर कागजात बनाएको मेयर साम्पाङले बताए ।
