२६ असार २०८३, शुक्रबार
इरान-इजरायल युद्ध

अमेरिका दीर्घकालीन युद्धमा फस्ने जोखिम देखेपछि ट्रम्पको नयाँ रणनीति– २ साता 'टाइम बाइ' गर्ने !

असार ६, २०८२
काठमाडौं
अमेरिका दीर्घकालीन युद्धमा फस्ने जोखिम देखेपछि ट्रम्पको नयाँ रणनीति– २ साता 'टाइम बाइ' गर्ने !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाही गर्ने निर्णय गर्नुअघि दुई साताको कूटनीतिक वार्ताको 'झ्याल' खोलेका छन् ।

यो निर्णयले गत साता इजरायलले बमबारी शुरू गरेपछि ठप्प भएको इरानसँगको वार्तालाई पुनः शुरू गर्ने प्रयासलाई तीव्र बनाएको छ ।

ट्रम्प र उनका सल्लाहकारहरूले इजरायलको निरन्तर आक्रमणका कारण क्षेप्यास्त्र भण्डारमा क्षति बेहोरेको इरानले आफ्नो कठोर अडान छाडेर पहिले अस्वीकार गरेको सम्झौता स्वीकार गर्ने अपेक्षा गरेका छन् ।

उक्त सम्झौतामा युरेनियम संवर्द्धन पूर्णरूपमा बन्द गर्ने शर्तसमेत समावेश छ ।

कूटनीतिक पहल र समयको दबाब

अमेरिकाले इरानमा सैन्य कारवाही गर्ने संकेत गरेको भन्दै शृंखलाबद्ध चर्चा शुरू भएपछि ट्रम्पले यो निर्णय लिएका हुन् । यो कदमले उनलाई सैन्य कारबाहीका सम्भावित परिणाम विश्लेषण गर्न २ साताको समय मिल्नेछ ।

आफ्नो प्रतिबद्धताविपरीत दीर्घकालीन युद्धमा अमेरिका तानिने जोखिम कति छ ? भनेर ट्रम्पले आफ्ना सल्लाहकारसँग छलफल थालेका छन् । तर, दुई साताको छोटो समयसीमामा कूटनीतिक समाधान निकाल्नु निकै जटिल देखिने अन्तर्राष्ट्रिय विश्लेषकहरूले जनाएका छन् ।

केही दिनअघि ह्वाइट हाउसमा मध्यपूर्व दूत स्टिभ विट्कफ र उपराष्ट्रपति जेडी भान्सलाई इरानसँग वार्ताका लागि पठाउने चर्चा चलेको थियो ।

तर, ट्रम्पलाई कूटनीतिक प्रयास सफल होला भन्ने विश्वास नलागेपछि यो योजना कार्यान्वयनमा आएन । र, विट्कफ र भान्स बिहीबारसम्म वासिङ्टनमै रहे ।

युरोपेली पहल र इरानको अडान

शुक्रबार बेलायत, जर्मनी र फ्रान्सका विदेशमन्त्रीहरू जेनेभामा इरानी प्रतिनिधिसँग वार्ताका लागि पुग्दैछन् । उनीहरूलाई विट्कफले इरानलाई प्रस्ताव गरेको पछिल्लो सम्झौताको विवरण जानकारी गराइएको छ । तर, उक्त प्रस्ताव इजरायली आक्रमण शुरू हुनुअघि इरानले अस्वीकार गरेको थियो ।

अमेरिकी अधिकारीहरूले जेनेभा वार्ताबाट ठूलो सफलता हुने अपेक्षा गरेका छैनन्, तर ह्वाइट हाउसका एक अधिकारीले कूटनीतिक प्रगतिको सम्भावनालाई खुला राखेका छन् ।

ती अधिकारीको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, 'यो युरोपेली नेताहरू र इरानबीचको बैठक हो । राष्ट्रपति ट्रम्पले हाम्रा सहयोगीहरूको कूटनीतिक प्रयासलाई समर्थन गरेका छन् । यसले,  इरानलाई सम्झौतातर्फ नजिक ल्याउन सक्छ ।'

इजरायलले आक्रमण शुरू गरेयता इरानले अमेरिकालाई 'इजरायली कारबाही नरोकिएसम्म थप वार्ता नहुने' स्पष्ट सन्देश दिएको छ ।

अहिलेसम्म अमेरिकाले इजरायललाई आक्रमण रोक्न दबाब दिएको छैन । कतिपय अमेरिकी सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आक्रमण जारी राख्ने सन्देश दिएको समाचार प्रकाशित गरेका छन् ।

इरानले अहिलेसम्म युरेनियम संवर्द्धनलाई आफ्नो रेड लाइन मानेको र कुनै सम्झौतामा लचकता नदेखाएको सीएनएनको दाबी छ । पछिल्लो समय ह्वाइट हाउसले इरानसँग कुनै औपचारिक वार्ता तय नभएको जनाएको छ ।

ट्रम्पको रणनीति : कूटनीति कि शक्ति प्रदर्शन?

ट्रम्पको यस्तो निर्णयले कूटनीतिक समाधानमा जोड दिएको जस्तो देखिन्छ ।

'राष्ट्रपति ट्रम्पले सधैं कूटनीतिलाई अघि बढाउन चाहेका छन्, तर आवश्यक परेमा शक्ति प्रयोग गर्न पनि उनी डराउँदैनन्,' बिहीवार ट्रम्पकी प्रेस सचिव क्यारोलिन लेभिटले भनिन्, 'अमेरिकी सेना विश्वकै शक्तिशाली र घातक हो भन्ने कुरा इरान र विश्वले थाहा पाउनुपर्छ ।'

केही दिनअघि ह्वाइट हाउसको 'सिचुएसन रूम'मा भएका बैठकहरूमा ट्रम्पले आफ्ना सल्लाहकारहरूसँग अमेरिकी बङ्कर–बस्टर बमले इरानको फोर्डो भूमिगत आणविक सुविधालाई पूर्ण रूपमा नष्ट गर्न सक्ने सम्भावनाबारे जान्न खोजेका थिए ।

ट्रम्पले बारम्बार दीर्घकालीन युद्धमा फस्ने कुनै कदम नचाल्ने अडान राखेका छन् । उनका पूर्व रणनीतिकार स्टिभ ब्याननसहितका विश्वासपात्रहरूले सैन्य कारबाहीले बहुवर्षीय युद्ध निम्त्याउने चेतावनी दिएको सीएनएनले जनाएको छ ।

युरोप र क्षेत्रीय मध्यस्थता

शुक्रवार हुने भनिएको जेनेभा बैठकमा युरोपेली नेताहरूले कूटनीतिक समाधानप्रति इरानको रुचि छ कि छैन, त्यो हेर्ने बताएका छन् ।

युरोपेली नेताहरूले इजरायली आक्रमणले इरानको आणविक कार्यक्रमको जोखिम कम नगर्ने बरू इरानसँग आणविक ज्ञान र गोप्य गतिविधिपछि पनि कायम रहन सक्ने आशंका गरेका छन् ।

कतार जस्ता अन्य केही क्षेत्रीय मुलुकहरूले मध्यस्थताको प्रस्ताव राखे पनि इरानले आफ्नो अडान परिवर्तन नहुने बताएको छ ।

आन्तरिक र बाह्य चुनौती

ट्रम्पले गरेको दुई साताको टाइम बाइलाई सबैले स्वागत गरेका छैनन् । सीएनएनले एक इजरायली गुप्तचर अधिकारीको भनाइ उदृत गर्दै लेखेको छ, 'ट्रम्पको यो निर्णय हाम्रो लागि सहयोगी छैन ।'

ट्रम्पले आगामी दिनहरूमा ह्वाइट हाउसमा उच्चस्तरीय गुप्तचर ब्रीफिङ जारी राख्ने बताएका छन् । उनले न्यूजर्सीस्थित आफ्नो घरमा वीकएन्ड मनाएर चाँडै ब्रीफिङमा सहभागी हुने योजना बनाएका छन् ।

ट्रम्पले थप विकल्पबारे छलफल गर्न सीआईए निर्देशक जोन र्‍याटक्लिफ र जोइन्ट चिफ्स अध्यक्ष जनरल ड्यान केनलाई मुख्य विश्वास पात्र बनाएका छन् ।

मध्यपूर्व दूत विट्कफले इरानी विदेशमन्त्री अब्बास अराघ्चीसँग प्रत्यक्ष सन्देश आदानप्रदान गरेर कूटनीतिक प्रयासको नेतृत्व गरिरहेका छन् ।

ह्वाइट हाउसले इरानको युरेनियम संवर्द्धन पूर्ण बन्द गर्ने कुरालाई अन्तिम सम्झौताको शर्त मानेको छ ।

अझै पनिकूटनीतिअस्पष्टता

ट्रम्पको यस्तो निर्णयपछि पनि विशेष गरी युरोप र मध्यपूर्वमा रहेका अमेरिकी कूटनीतिज्ञहरूलाई विशेष खालको निर्देशन पुगिनसकेको बीबीसीको दाबी छ ।

यसले सहयोगीसँगको छलफलमा अस्पष्टता र निराशा उत्पन्न गरेको छ । विदेशमन्त्री रुबियोले बेलायती, फ्रान्सेली र युरोपेली संघका समकक्षीहरूसँग इरानलाई आणविक हतियार विकासबाट रोक्न कूटनीतिक रूपमा छलफल गरेका छन् ।

बिहीबार बेलायती विदेशमन्त्री डेभिड ल्यामीसँगको भेटमा रुबियोले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने सहमति जनाए ।

'ह्वाइट हाउसमा रुबियो र विट्कफसँगको छलफलमा हामीले इरानले सम्झौता नगरे गहिरो सङ्कट निम्तिने कुरा उठायौं । आगामी दुई साताभित्र कूटनीतिक समाधानको ढोका खुला छ,' ल्यामीले भने ।

salt training

कमेन्ट गर्नुहोस्