
चन्द्रपुत्र बुधसँग विवाह भएपछि मनुपुत्री इला पिता आदित्यबाट दाइजोमा प्राप्त भूमि इलावर्तमा रहन लागिन् । उनकै नामबाट नामकरण गरिएको इलावर्तमा हालको भूगोलअनुसार भारतीय उपमहाद्वीपको उत्तरपश्चिम गिलगिट पर्वतआससम्म तथा तत्कालीन रुसको दक्षिणपश्चिम (हाल किर्गिस्तान, उज्वेकिस्तान, ताजकिस्तान) र इरानको पूर्वीक्षेत्रको भूभाग रहेको पाइन्छ । कतैकतै मङ्गोलिया, तिब्बत–चीनको समेत केही भूभाग समेटिएको देखिन्छ । प्राचीन पर्शियन इतिहासकारले एलम भन्ने गरेका त्यस क्षेत्रमा बसोबास गर्नेहरूलाई शायद इलाको सन्तान भएकाले होला ऐल भन्ने गरिएको थियो । पछि गएर मनुका वंशज आदित्यहरू पनि त्यतै आएर रहन लागे ।
यस क्षेत्रमा आएपछि यी चन्द्रवंशी ऐल र सूर्यवंशी आदित्यहरू मिलेर सर्वप्रथम आर्यसंस्कृति निर्माणगरी वैवाहिक स्थितिलाई मजबूत पारे । त्यसअघि वैवाहिक परम्परा थिएन । फलत: समाजमा कसको सन्तान को हो भन्ने नै थाहा हुँदैनथ्यो । त्यस्तै, परे ब्याडे बोकोजस्तो एउटै व्यक्तिले पूरै गाउँ भ्याइदिन सक्थ्यो, जसले गर्दा भगिनी तथा मातृगमनसम्मको सम्भावना थियो । समाजमा मातृसत्ता थियो । सन्तान आमाको नामले चिनिन्थ्यो ।
वैवाहिक स्थिति मजबूत भएपछि अवस्था फेरियो । मातृसत्ताको स्थान पुरुषसत्ताले लियो । सन्तान बाबुको नामबाट चिनिन थाले । बहुपतिको स्थान बहुपत्नीमा बदलियो । पैतृक सम्पत्ति छोरामा सीमित गरियो । छोरीहरूलाई विवाह गरेर पठाउन थालियो । वंश वृद्धिका लागि वीर्यदानलाई समेत स्वीकार गरियो । वीर्यदान गर्नेमा ऋषि दीर्घतमा सर्वाधिक अगाडि देखिन्छन् । वसिष्ठ आदि अन्य केही ऋषिहरूले पनि धेरै स्त्रीलाई वीर्यदान दिएका थिए तर उनीहरूका सन्तान भने उसकै ठहरिन्थो, जसको साथमा वैवाहिक सम्बन्ध कायम भएको हुन्थ्यो । उनीहरूले यहाँ आएपछि गरेका अर्काे महत्वपूर्ण काम कृषिक्रान्ति थियो । यसका लागि मलजलको व्यवस्था गरियो, हलो, जुवा, हली र गोरु संस्कृतिलाई भित्र्याइयो ।
विस्तारै सन्तान बढ्दै गएकाले उनीहरू इलावर्तबाट दुर्गम खोच, पाहाड, गिरिकन्दरा, गुफा, ओडार तथा नदीनाला पार गरी काबुल, सप्तसिन्धु हुँदै गङ्गामैदानसम्म फैलिन आइपुगे । यस क्रममा उनीहरूको पहिलो बसाइ काबुल र स्वात उपत्यका थियो । दोस्रो बसाइ सप्तसिन्धु र तेस्रो बसाइ गङ्गायमुनाको मैदान रहेको देखिन्छ । उनीहरूले दोस्रो बसाइबाटै शुरू गरेका वेदमन्त्र प्रकटीकरणको कार्य तेस्रो बसाइमा पुगेर समापन गरेका थिए । सात पुस्तासम्मको योगदान रहेको यस कार्यमा ५०० वर्षभन्दा बढी समय लागेको थियो ।
आर्यसंस्कृतिको जग मजबूत हुँदै गएपछि समाजिक मर्यादा तथा शृङ्खला भङ्ग गर्नेहरूलाई जातिच्युतगरी बहिष्कृत गर्न थालियो । शक, यवन, काम्बोज, चोल, केरल, वसिष्ठको निर्देशनमा राजा सगरद्वारा बहिष्कृत भएका थिए । तुर्वसुलाई बाबु ययातिले र मधुच्छन्दापछिका ५० भाइ छोरालाई सपरिवार बाबु विश्वामित्रले बहिष्कार गरेका थिए । यसबाहेक बहिष्कृत हुनेमा अरूहरू पनि धेरै थिए । बहिस्कृत भएकाहरूलाई बस्ने स्थान भने दण्डकारण्य तोकिएको थियो ।
उनीहरू दण्डकारण्यमा आएपछि दस्यु, महिष, कपि, नाग, पौण्ड द्रविण, काम्बोज, पारद, खस, पल्लव, किरात, मल्ल, दरद, शक आदिमा सङ्गठित भएर रहन लागे । कोही खेतिकिसानीतिर लागे कोही व्यपार व्यवसायमा । व्यपार व्यवसायमा लागेकाहरू विभिन्न द्वीप तथा मुलुकमा छरिन पुगे । हाल उनीहरूका वंशज एशिया, युरोप, अमेरिका आदि मुलुकहरूमा पाउन सकिन्छ । यतै बस्नेहरूलाई पनि विस्तारै सो स्थान साँघुरो हुँदै गएकाले उपयुक्त बास्थानको खोजमा आन्ध्रालय (अष्टे«लिया)देखि आन्ध्रद्वीपतक अर्थात् वाली, यवद्वीप, स्वर्णद्वीप, लङ्का, सुमात्रा आदि क्षेत्रमा पुगे । तिनताका ती स्थान भूपरिवेष्ठित अवस्थामा थिए, जसलाई उनीहरूले संयुक्तरूपमा पैतृकभूमि आर्यावर्तको सम्झनामा आन्ध्रालय नाम राखेका थिए । आन्ध्रालयमा पुगेपछि उनीहरूले तृणविन्दुलाई राजा बनाए । तृणविन्दुकी इलबिला नामक सुन्दर कन्या थिइन्, जसलाई आर्य ऋषि पुलस्त्यको साथमा विवाह गरिदिए ।
पछि गएर पुलस्त्यको इलबिलाको तर्फबाट एक पुत्र भए, जसको नाम विश्रवा थियो । उनी पनि त्यस्तै ठूला ऋषि थिए । उनले भरद्वाजपुत्रीसँग विवाह गरी वैश्रवण (कुवेर)लाई जन्म दिए । पछि गएर उनी प्रमातामह तृणविन्दु र पितामह पुलस्त्यको प्रयासमा आर्यजनबाट उत्तरतर्फको लोकपाल घोषित भई लङ्काका अधिपति बने । त्यसअघि लङ्का हेति र प्रहेति नामक दुई दैत्यसरदारको वंशजको अधीनमा थियो ।
उल्लिखित दुई दैत्यसरदारमध्ये हेतिको विद्युत्केश, विद्युत्केशको सुकेश पुत्र भएका थिए । सुकेशको विश्ववसु गन्धर्वपुत्री वेदवतीको तर्फबाट माली, सुमाली र माल्यवान् तीन पुत्र भएका थिए । यिनै तीन भाइले लङ्कापुरी निर्माणगरी हिरण्यपुरबाट सुन ल्याएर सिँगारेका थिए तर, यसै समयमा तेस्रो देवासुरसङ्ग्राम भएकाले दानव सरदार हिरण्यकशिपुको साथमा माली र माल्यवान्को मृत्यु भयो । सुमाली भने भागेर पातालतिर लागे । अफ्रिकाको पूर्वी भागमा पर्ने यस स्थानलाई अविसिनिया (इथियोपिया) भनिन्छ ।
लामो समयपछि बूढा सुमाली छोरी कैकसीको साथमा पाताल प्रवासबाट आन्ध्रालय फर्किए तर, त्यतिबेला उनको पैतृकभूमि वैश्रवण (कुवेर)को अधीनमा पुगिसकेको थियो, जुन कुरा सुमालीले पचाउन सकेनन् र कुटनीतिक तरिकाले हत्याउने उद्देश्यले आफ्नी जवान छोरी कैकसी बूढा ऋषि वैश्रवण (कुवेर) का बाबु पुलस्त्यको साथमा विवाह गरिदिए ।
रहँदाबस्दा कैकसीको तर्फबाट विश्रवालाई अर्को पुत्र प्राप्त भयो, जसको नाम रावण राखियो । रावण आर्यकुलको सन्तान भए पनि उनको मामली कुल दानव थियो । त्यसैले उनले जवान हुने वित्तिकै आर्यसंस्कृति समाप्त पार्न रक्षसंस्कृति गठनमात्र गरेनन्, त्यसलाई मजबूत बनाउने अभियानमा समेत लागे । यस क्रममा सर्वप्रथम आफ्नै सौतेला दाजु वैश्रवण (कुवेर)सँग विद्रोहगरी स्वर्णमयी लङ्का र पुष्पक विमान हत्याए । त्यसपछि उनी बाहुबलद्वारा लङ्काराज्यको सीमा जाबा, सुमात्रा, मदागास्कर र अफिकासम्म पुर्याएर आर्यावर्त विजयको अभियानमा लागे ।
रावणको दिग्विजय र रक्षसंस्कृतिको अभियान आर्यहरूलाई मन पर्ने कुरा थिएन । यसैका निहुँमा उनीहरूबीच घमासान युद्ध भयो । यसका लागि माता सीताले १३ महिनासम्म लङ्कामा प्रवासीजीवन बिताउनुपरेको थियो भने रामले रावणसँग ८४ दिनसम्म युद्ध गरेका थिए । रामको हातबाट रावणको मृत्यु भएपछि लङ्काका राजा बनेका विभीषणले आर्यसंस्कृति अपनाए । बाँकी रक्षसंस्कृतिका अनुयायी कति मारिए कतिलाई जबरजस्ती आर्यसंस्कृतिमा रूपान्तरण गरियो । आफू राजा भएपछि विभीषणले उपहारस्वरूप रामलाई अफ्रिकाको राज्य दिए, जुन स्थानमा पछि गएर रामका पुत्र कुश बसेका थिए । उनी बसेको हुनाले सो स्थानलाई कुशद्वीप भन्ने गरियो ।
राजा भए पनि विभीषणलाई लङ्काबासीले त्यति भाउ दिएका थिएनन् । प्राय: सबै जातिद्रोही र कुलघाती भन्थे, घृणाको दृष्टिले हेर्थे । तैपनि उनी जीवित छाउन्जेल लङ्का साम्राज्य जेनतेन चल्यो तर, उनको मृत्युपछि छिन्नभिन्न हुँदै गएर केवल लङ्काद्वीपमा सीमित हुन पुग्यो । आर्यसंस्कृति अस्वीकार गर्ने मथुरानरेश लवणासुरलाई रामका भाइ शत्रुघ्नले मारेर उनको राज्य हत्याए । रामका अर्का भाइ भरत मामा युधाजितको मृत्युपछि कैकेयका राजा भए, जुन स्थान हाल पेशावरको नामले परिचित छ । भरतपुत्र पुष्करले पुस्करावती नगर बसाए, जुन स्थानलाई हाल तक्षशिला भनिन्छ । रामपुत्र लवले लवनगर बसाए, जुन स्थानलाई हाल लाहोर भनिन्छ ।
विस्तारै आर्यावर्तमा रामको देवत्वकरण हुन थाल्यो । फलत: उनको प्रभाव हालको यशियाली भूभाग चम्पा (भियतनाम), कम्बोडिया, थाइल्याण्ड, वर्मा र युरोेपेली मुलुक इङ्गल्याण्ड, स्पेन, स्वीडेन, नर्वे, ग्रीस र इटालीसम्म पुगेको थियो । इतिहास पनि जित्नेकै पछि लाग्दोरहेछ क्यारे । दुई संस्कृतिको द्वन्द्वमा जित्ने रामलाई देवता बनाइयो हार्ने रावणलाई राक्षस । शायद रावण विजयी भएका भए स्थिति उल्टो हुन्थ्यो । रावण देवता बन्थे भने राम राक्षस । यसको प्रभाव संस्कृतिमा पनि पक्कै पर्ने थियो तर, विजयी राम भएकाले रावणसँगै उनको रक्षसंस्कृति पनि सदाका लागि अन्त्य भयो ।