१२ असार २०८३, शुक्रबार
सन्दर्भ : क्लब विश्वकप र मेसीको ३८ औं जन्मदिन

अझै थाकेका छैनन् विश्व फुटबलका यी पुराणपात्र, जादु कायमै छ

असार ७, २०८२
काठमाडौं
अझै थाकेका छैनन् विश्व फुटबलका यी पुराणपात्र, जादु कायमै छ

विश्व फुटबलमा अर्जेन्टिनी स्टार लियोनल मेसीको जादु कायमै छ । चोटका कारण समय–समयमा सुस्ताएझैं देखिए पनि मेसीले आफ्नो लय गुमाएका छैनन् । समकालीन विश्व फुटबलका यी महान खेलाडीले मैदानमा फेरि आफूलाई अब्बल सावित गरेर देखएका छन् । 

अमेरिकामा जारी फिफा क्लब विश्वकपको  शुक्रबार बिहान सम्पन्न खेलमा ३७ वर्षीय मेसीकै कमालको प्रदर्शनका कारण उनको टोली इन्टर मियामीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । 

मेस्सीको खेलजीवन उत्कर्षमा रहेको बेला भर्खर जन्मिएको क्लब इन्टर मियामीलाई विश्व फुटबल मञ्चमा स्थापित गराउन उनले निर्वाह गरेको भूमिका आफैंमा अविस्मरणीय छ । सन् २०१८ मा अस्तित्वमा आएको इन्टर मियामी यतिबेला विश्व फुटबलकै महत्त्वपूर्ण प्रतियोगिता क्लब विश्वकपको नकआउट चरणमा पुग्न आतुर छ ।

नेपाली समय अनुसार, शुक्रबार बिहान सम्पन्न एफसी पोर्टोविरुद्धको खेलमा मेसीकै गजबको प्रदर्शनका कारण इन्टर मियामी विजयी भयो । समकालीन विश्व फुटबलका अर्का महान खेलाडी क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगलको क्लब एफसी पोर्टोले शुरूमै अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन ।

इन्टर मियामीले क्लब विश्वकपमा जितेको यो पहिलो खेल पनि हो । खेल शुरू भएको नवौं मिनेटमै एफसी पोर्टोका लागि सामुले पेनाल्टीमार्फत् गोल गरे । सोही गोलका कारण पहिलो हाफमा पोर्टो अगाडि रह्यो । तर, खेलको दोस्रो हाफमा पोर्टोले लय गुमायो । ४७ औं मिनेटमा इन्टर मियामीका लागि टेलास्को सेगोभियाले जवाफी गोल गरे ।

त्यसलगत्तै ५४ औं मिनेटमा मेस्सीले दर्शनीय गोल गर्दै घरेलु समर्थकलाई अपार खुसी दिए । यो त्यही गोल थियो, जसले इन्टर मियामीलाई अपराजित राख्दै तालिकाको दोस्रो स्थानमा उक्लन मद्दत गर्‍यो । दुई खेल खेलेको ब्राजिलियन क्लब पाल्मिरस चार अंकसहित पहिलो र समान खेलबाट समान अंक बटुलेको इन्टर मियामी दोस्रो स्थानमा छन् । 

तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको नकआउट चरणमा पुग्नेछन् । तालिकाको तेस्रो स्थानमा आसिन पोर्टोले दुई खेलबाट एक र अन्तिम स्थानमा आसिन इजिप्सियन क्लब अल–आहलीले दुई खेलबाट एक अंक बटुलेका छन् ।

अब समूहगत चरणको अन्तिम खेलमा इन्टर मियामीले पाल्मिरसको र पोर्टोले अल–आहलीको सामना गर्नेछन् । पोर्टोविरुद्ध मेसीले गरेको गोल वास्तवमै दर्शनीय थियो । उनले करिब २० यार्ड टाढाबाट फ्रि–किकमार्फत् आकर्षक गोल गरेका थिए । 

मेसीले गरेको चिर–परिचित शैलीको शक्तिशाली प्रहार विपक्षी टोलीले तयार पारेको मानव पर्खाललाई छक्याउँदै गोलरक्षक क्लाउडियो रामोसको छेउबाटै जाली चुम्न पुगेको थियो । उनको यो गोल घरेलु समर्थकलाई खुसी दिन पर्याप्त थियो । त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन ।

धेरै फुटबल पारखीलाई यो गोलले मेसीको पुरानो लयको सम्झना पनि दिलायो । यी तिनै मेसीले हुन्, जसले स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका लागि सन् २०११–१२ सिजनमा ६० खेल खेल्दै ७३ गोल गरेर आफूलाई असंख्य फुटबलप्रेमीको मुटुको ढुकढुकी बनाएका थिए ।

पोर्टोविरुद्धको गोल मेसीले फ्रि–किकमार्फत् गरेको ६८ औं गोल पनि हो । उक्त गोलसँगै मेसी विश्व फुटबलका सर्वकालीन महान खेलाडी पेलेको कीर्तिमाननजिक पनि पुगेका छन् । ब्राजिलका पूर्वखेलाडी जुनिन्हो र पेलेले मात्र फ्रि–किकमा मेसीभन्दा बढी गोल गर्न सकेका छन् । 

सक्रिय खेलजीवनबाट बिदा लिनुअघि जुनिन्होले फ्रि–किकमार्फत् ७७ गोल गरेका थिए । पेलेलले भने फ्रि–किकमार्फत् ७० गोल छिराएका थिए । 

‘त्यसैले त उनी मेसी हुन् । उनी कमालका छन् र अविश्वसनिय पनि । सायद, ईश्वरले उनलाई छोएका छन्,’ आफ्नो समयमा चर्चित पोर्चुगिज डिफेन्डर जस फोन्टे भन्छन् ।

आफ्नो व्यावसायिक खेलजीवनको निकै लामो समय बार्सिलोनामा बिताएर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) हुँदै उनी सन् २०२३ मा इन्टर मियामी पुगेका हुन् । इन्टर मियामीमा पनि उनले छोटो समयमै आफ्नो उत्कृष्टता सिद्ध गरिसकेका छन् । 

मेसीले इन्टर मियामीका लागि हालसम्म ६१ खेल खेल्दै ५० गोल गरिसकेका छन् । उनी इन्टर मियामीका लागि हालसम्मकै सर्वाधिक गोल गर्ने खेलाडी पनि बन्न भ्याइसकेका छन् । कीर्तिमानी रूपमा आठपटकका बालन डी’ओर विजेता मेसीको यो पहिलो क्लब विश्वकप सहभागिता भने होइन् ।

मेसीले यसअघि पनि ६ पटक क्लब विश्वकप खेलिसकेका छन् । क्लब विश्वकपमा उनले हालसम्म ६ गोल गरेका छन् । उनले पाँच गोल भने बार्सिलोनाबाट गरेका हुन् । उनले बार्सिलोनाबाट तीन पटक त क्लब विश्वकपको उपाधिसमेत चुमिसकेका छन् ।

बार्सिलोनाले सन् २००९, सन् २०११ र सन् २०१५ मा क्लब विश्वकपको उपाधि जित्दा मेसी टोलीका प्रभावशाली खेलाडी थिए । विश्व फुटबलका यी अतुलनीय खेलाडीले हालसम्म क्लब फुटबलमा सात सय ५४ गोल गरिसकेका छन् । पक्कै पनि यो तथ्यांकले उनलाई विश्व फुटबलमा पुराण पात्रका रूपमा उभ्याउँछ । 

‘कुनै शंका छैन, उनी विश्व फुटबलकै महान खेलाडी हुन्,’ इन्टर मियामीबाट मेसीसँगै फुटबल खेल्ने फाफा पिकाउल्ट भन्छन् । क्लब विश्वकपमा उनी अर्को एक कीर्तिमानको पनि नजिक छन् । सम्भवत: मेसीले यो कीर्तिमान क्लब विश्वकपको यही संस्करणमा आफ्नो नामसँग जोड्ने छन् । 

null

हालको स्थितिमा उनी क्लब विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा आसिन छन् । मेसीसँगै गारेथ बेल र करिम बेन्जेमाले पनि क्लब विश्वकपमा ६–६ गोल गरेका छन् । क्लब विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी भने समकालीन विश्व फुटबलका अर्का महान खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् ।

रोनाल्डोले हालसम्म क्लब विश्वकपमा सात गोल गरेका छन् । तर, क्लब विश्वकपको जारी संस्करणमा रोनाल्डो उपस्थित छैनन् । आफ्ना बहादुर प्रतिद्वन्द्वीको अनुपस्थिति मेसीका लागि खल्लो हुन सक्छ । किनभने जीत पनि त्यतिबेला सार्थक हुन्छ जब आफ्नो निकट प्रतिद्वन्द्वी सँगै मैदानमा हुन्छ ।

‘अचम्म लाग्छ, उमेर ३८ औं वर्ष प्रवेशको तयारीमा छन् । तर, उनको लयमा कुनै कमी आएको छैन । मैदानमा जताततै उनीमात्र नाँचिरहेको देखिन्छ । उनी टोलीका लागि खेल्छन् । साथीहरूलाई चलाखीपूर्ण पास उपलब्ध गराउँछन् र आफैं पनि गोल गर्न भ्याउँछन्,’ स्कटल्यान्डका पूर्वमिडफिल्डर डन हचिसन पनि मेसीको प्रसंशा गर्न पछि पर्दैनन् ।

हचिसनले यस्तो भन्नुको पछाडी पोर्टोविरुद्धको खेलमा मेसीको सक्रियता पनि होला । त्यो खेलमा सबैभन्दा बढीपटक बल छुने खेलाडीको सूचीमा मेसी तेस्रो स्थानमा रहे । खेलका क्रममा ७० पटक उनले बल आफ्नो खुट्टामा नचाए । मेसीभन्दा बढी इन्टर मियामीकै सर्जियो बुस्केट्स (८५ पटक) र एफसी पोर्टोका फाबियो भिएरा (९९ पटक) ले बल छोएका थिए ।

मेसी आगामी मंगलबार आफ्नो ३८ औं जन्मदिन मनाउने तयारीमा छन् । त्योभन्दा एक दिनअघि नै इन्टर मियामीले समूहगत चरणको अन्तिम खेल्नेछ । त्यसैले सोमबार राति आफ्नो क्लबलाई नकआउट चरणमा पुर्‍याउँदै मेसी आफ्नो ३८ औं जन्मदिनलाई सुखद् बनाउने धुनमा हुनेछन् । 

कुनै समय स्पेनिस क्लब बार्सिलोनालाई चर्चाको शिखरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने पुराना सहकर्मी लुइस स्वारेज, सर्जियो बुस्केट्स र जोर्डी अल्बासँगै अमेरिकाका केही युवा खेलाडीलाई साथमा लिएर यसपटक क्लब विश्वकपमा पनि मेसीले इतिहास रच्ने सपना पालेका छन् ।

‘मेसी टोलीका लागि हौसला पनि हुन् । उनको उपस्थितिले मात्र पनि अन्य खेलाडीमा गतिलो उर्जा थप्छ । विश्व क्लब फुटबलमा हामी पनि केही हौं भन्ने कुरा आजको हाम्रो खेलले देखाएको छ,’ पहिलो जीतपछि उत्साही इन्टर मियामीका प्रमुख प्रशिक्षक जाभिइर मास्चेरानो भन्छन्, ‘सम्भवत: आज हाम्रा समर्थक पनि मख्ख परेको हुनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्