
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा नौ दशमलव २४ प्रतिशतले बढी हो ।
गत आव २०८०/८१ को (साउन–जेठ)मा रु दुई अर्ब ६७ करोड २६ लाख ३१ हजार राजस्व सङ्कलन भएको कर अधिकृत एवं सूचना अधिकारी डोरराज सुनुवार जानकारी दिए। आन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उनले बताए ।
गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको ११ महिनाको लक्ष्यको ८५ दशमलव ६१ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताए । कार्यालयले ११ महिनामा आयकरबाट रु एक अर्ब रु २६ करोड ५२ लाख, ब्याजबापत रु आठ करोड १६ लाख, मूल्य अभिवृद्धि करबापत रु ९८ करोड २८ लाख ३१ हजार, अन्तःशुल्कबापत रु ५५ करोड १६ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।
साथै कार्यालयमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये एक हजार ५८८ करदातालाई निलम्बन गरिएको सूचना अधिकारी सुनुवारले जानकारी दिए ।