०६ साउन २०८३, बुधबार

विना प्रतिस्पर्धा नर्सिङ प्रशिक्षक नियुक्त गरिएको छैन- प्रसूति अस्पताल

असार ११, २०८२
काठमाडौं
विना प्रतिस्पर्धा नर्सिङ प्रशिक्षक नियुक्त गरिएको छैन- प्रसूति अस्पताल

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमार्फत् ललितपुरको कुपण्डोलमा सञ्चालित परोपकार नर्सिङ क्याम्पसमा विना प्रतिस्पर्धा नर्सिङ प्रशिक्षक नियुक्त नगरिएको अस्पतालले जनाएको छ । 

अस्पतालको क्याम्पसले विषयसँग सम्बन्धित प्रशिक्षक चार जना २०८१ पुस २२ गते माग गरेको बताइएको छ । सोही अनुसार परेका आवेदनमध्येबाट क्याम्पस व्यवस्थापन समितिले गठन गरेको अन्तर्वार्ता तथा माइक्रोटिचिङ समितिले २०८१ फागुन १२ र १३ गते अन्तर्वार्ता तथा शिक्षण प्रस्तुतीकरण गराएको थियो । 

त्यसआधारमा समितिको सिफारिस बमोजिम तत्काल साइक्याट्रिक हेल्थ नर्सिङ र कम्युनिटी नर्सिङ विषयको प्रशिक्षक नियुक्ति भएको अस्पतालले जनाएको छ । 

यसैगरी, गत वैशाख २१ गते पुनः क्याम्पसबाट पेडियाट्रिक विषय शिक्षक माग भएकोमा वरीयता क्रममा रहेको उक्त विषयको प्रशिक्षक यही जेठ १ बाट करारमा नियुक्ति गरि दैनिक अध्ययन अध्यापन भइरहेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार वरीयताक्रमको प्रतीक्षा सूचीमा अझै १ जना बाँकी रहेकाले नर्सिङ क्याम्पसमा तत् विषयसँग सम्बन्धित प्रशिक्षक छनौट समितिले सिफारिस भएको मितिले ६ महिनाभित्र आवश्यक परेमा सोही लिस्टबाट पदपूर्ति गरिने उनले बताए । 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच आपसी समन्वय भई २०७३ सालदेखि नै कुपण्डोल परिसरमा परोपकार नर्सिङ क्याम्पस सञ्चालनमा रहेको निर्देशक अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्