
हिन्दूपुराणादिमा उल्लेख भएअनुसार पछिल्लो जलप्रलयपछि मानवसम्यताको विकास वैवस्वत मनुले गरेका हुन्, जुन प्रलयलाई कुरान तथा बाइबल आदि अन्य ग्रन्थहरूले नुहको प्रलय भन्ने गरेका छन् । वैवस्वत विवस्वान्का पुत्र थिए । यसै अर्थमा उनलाई वैवस्वत भनिएको हो, जसको जन्म पर्शियन क्षेत्रको मत्स्यप्रदेशमा भएको अनुमान गरिएको छ ।
उनको जन्म छैटौँ चाक्षुष मनुको अन्त्यमा भएको जलप्रलयपछि भएको थियो । यसै अर्थमा उनलाई सातौँ मनु भन्ने गरिएको हो । हिन्दूपुराणहरूले के पनि भनेको छ भने मानवसृष्टि क्षीरसागरको आसपासबाट भएको हो, जसलाई हाल काश्यपसागर भन्ने गरिएको छ । यसको आधारमा भन्नुपर्दा सृष्टिको शुरूवात पनि आर्यहरूबाटै भएको थियो र सभ्यताको विकास पनि आर्यहरूबाटै भएको हो ।
यद्यपि कतिलाई यो मन नपर्न सक्छ र कतिले मिथकीय प्रसङ्ग भनेर नाक खुम्च्याउन पनि सक्छन् तर, यो भनाइ मिथकीय प्रसङ्ग मात्र नभएर भौगर्भिक उत्खननबाट प्राप्त पुरातत्वहरूले नै पुष्टि गरेको हो । पुरातत्वविद्, भूगर्भशास्त्री र नृवंशशास्त्रीहरूका अनुसार संसारमा सर्वप्रथम विकास भएको सभ्यतलाई युथिल सभ्यता भनिन्छ । त्यतिबेलाका मानिस घुमन्ते जीवन व्यतीत गर्दथे । ढुङ्गा घोटेर बनाएको औजारले काम चलाउँथे ।
विस्तारै मानवउद्विकासको क्रम बढ्दै गएकाले सभ्यतामा पनि परिवर्तन हुँदै गयो । फलत: चिलियन सभ्यताको उदय भयो । यस अवस्थालाई नरवानरको अवस्था भनिन्छ । विस्तारै यस सभ्यताबाट अगाडि बढेर मुस्टेरियन सभ्यताको विकास भयो । पछि त्यसैबाट रेडइण्डियन सभ्यताको विकास हुन पुग्यो । त्यसबाट समाज नवपाषाण युगमा पुग्यो । यसरी युथिलसभ्यतादेखि नवपाषाण सभ्यतासम्मको समयलाई संयुक्तरूपमा पाषाण युग भनिन्छ ।
पाषाणयुगपछि धातुयुग र कृषियुको उदय भएको देखिन्छ । धातुयुगमा शुरूको युग ताम्रयुगको थियो, जुन युगको विकास सप्तसिन्धु क्षेत्रको सरस्वतीतटमा भएको कुरा त्यस क्षेत्रमा भएको उत्खनन तथा अनुसन्धान्ले पुष्टि गरेको छ । प्रश्न उठ्न सक्छ ताम्रयुगको विकास गर्ने जाति को थिए ? खोज्दै जाँदा उत्तर के भेटिन्छ भने त्यसको विकास आर्यहरूबाट भएको देखिन्छ, जो तिनै वैवस्वत मनुका वंशज थिए ।
किनभने वैवस्वत मनु विवस्वान्का पुत्र थिए । विवस्वान् भनेका सूर्य हुन् । सूर्यकै अर्को नाम आदित्य पनि हो । उनी अदितीका सन्तान भएकाले आदित्य भनिएको हो । आदित्यका सन्तानलाई पनि आदित्य नै भनिन्छ, जसले काश्यपसागरीय क्षेत्रबाट अघि बढ्ने क्रममा ऐलभूमि (मनुपुत्री इलाको नाममा कायम भएको) क्षेत्रमा आइपुगेपछि आर्यसभ्यता निर्माण गरेका थिए । जब उनीहरू कृषियोग्य भूमि खोज्दै सप्तसिन्धु क्षेत्रमा आइपुगे त्यसपछि कृषियुगको मात्र विकास गरेनन् ताम्रसभ्यताको समेत विकास गरे ।
पछि गएर यिनै आर्यजाति काबूल, पर्शिया (इरान) तथा मेसोपोटामिया (इराक) आदि क्षेत्रमा फैलिएर रहन लागे । यस जातिलाई त्यहाँ प्रोटोइलामाइट जाति भनिन्थ्यो । उनीहरूले त्यस क्षेत्रमा विकास गरेका सभ्यतालाई पनि प्रोटोइलामाइट सभ्यता नै भनिन्छ । पछि गएर यस सभ्यतालाई सुमेर जातिले विस्थापित गरेका थिए, जसले त्यसअघि काश्यपसागरीय प्रदेशमा सुमेरसभ्यता निर्माण गरेका थिए । बिस्तारै यसैको जगमा टेकेर मिश्रसभ्यता विकास हुन पुगेको इतिहास भेटिन्छ । अमेरिकी पुरातत्वविद् डा. डी. टेराले यसरी सिन्धुसभ्यतालाई ढुङ्गा र धातुयुलाई जोड्ने सेतुको रूपमा लिएका छन् ।
ताम्रसभ्यतापछि काँश्यसभ्यताको विकास भएको इतिहास छ । डा. टेराका अनुसार ताम्रसभ्यताको विकास गर्ने जाति अरू कोही नभएर सुमेरजाति नै थिए, जसको पूर्वज सप्तसिन्धुक्षेत्रबाट फैलिने क्रममा मेसोपोटामियातिर पुगेर बस्न लागेका थिए । किनभने उनले मेसोपोटामियाको उर, फरा, किस, सुषा, तपा, मुख्यान आदि क्षेत्रमा उत्खनन गर्दा काश्यसभ्यताको तल ताम्रसभ्यताको अवशेष फेला पारेका थिए ।
मोसोपोटामियाको जुन स्थानमा प्रोटोइलामाइट भनिने ताम्रसभ्यताको चिह्न प्राप्त भएको थियो त्यसको र सुमेरजातिको काँश्यसभ्यताको भोगभूमिको गर्भमा चिल्लो माटोको चारफिट अग्लो स्तर प्राप्त भएको थियो । युरोपेली पुरातत्वविद्हरूका अनुसार माटोको सो स्तर कुनै ठूलो बाढीले जम्मा गरेको थियो भने ताम्रयुगको प्रोटोइलामाइट सभ्यताको अवशेष यस प्रलयको अवशेषभन्दा तल मिलेको थियो । यसबाट के अनुमान लगाउन सकिन्छ भने यस प्रलयभन्दा अघि त्यहाँ प्रोटोइलामाइट सभ्यताको अस्तित्व थियो ।
त्यतिबेला यस सभ्यताको अवशेषको तल केही स्थानमा कमजोर खालको पाषाणसभ्यताको चिह्न प्राप्त भएको थियो, जसमा प्रोटोइलामाइट सभ्यत विकास भएको सङ्केत मिलेको थिएन । यसबाट पुरातत्वविद्ले के अनुमान लगाएका छन् भने प्रोटोइलामाइट जाति ताम्रसभ्यताको साथमा कतैबाट यस क्षेत्रमा आएर बसेका हुन्, जसले यस क्षेत्रमा आएपछि पाषाणसभ्यतलाई विस्थापितगरी बस्न लागेका थिए । उनीहरू खेतीकिसानी गर्थे, पाशुपालन गर्थे, तामाको हतियार प्रयोग गर्थे, उनी धागोको कपडा लगाउँथे । अनुसन्धानकर्ताहरूले सो जाति कहाँबाट आए भन्नेबारे केही नबताएका भए पनि तिनीहरू सुमेरजाति हुनुपर्छ भन्नेबारे भने बलियो अनुमान गरेका छन् ।
त्यसपछि सर जोन मार्सल नामक विद्वान्ले सिन्धुक्षेत्रको आमरी नामक प्रदेशमा उत्खनन गरेका थिए । उनले सो ताम्रसभ्यतालाई आमरी सभ्यताको नाम दिएका थिए । त्यतिबेला भूगर्भबाट प्राप्त वस्तुहरूका सामञ्जस्यबाट के निष्कर्ष निकालेका थिए भने प्रोटोइलामाइट तथा आमरी सभ्यता एउटै हो, जुन सभ्यता सप्तसिन्धुको सरस्वतीतटमा विकास भएको थियो । यसबाट के प्रष्ट हुन्छ भने यी जाति अरू कोही नभएर आर्यहरू नै थिए, प्रलयपछि बलुचिस्तान, इरान हुँदै मेसोपोटामिया क्षेत्रमा बस्न पुगेका थिए । यसले के प्रमाणित गर्छ भने कृषियुगसँगै आदित्य आर्यहरूले पहिले सरस्वती तटमा ताम्रसभ्यता विकास गरेका थिए । पछि उनीहरूले नै विभिन्न चरण पार गर्दै मेसोपोटामिया क्षेत्रमा पुगेपछि काँस्यसभ्यताको विकास गरे ।