
जुन १२ मा भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा पाइलटको सुझबुझले कम क्षति भएको पाइएको छ । दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन सुमित सभरवाल (५६) को सुझबुझका कारणा धेरैको ज्यान जोगिएको दैनिक भास्करले जनाएको छ ।
भास्करको समाचारअनुसार जब क्याप्टेन सुमितले विमान दुर्घटना हुनबाट रोक्न नसक्ने महसुस गरे, उनले जानाजानी विमानलाई त्यस्तो ठाउँमा दुर्घटनाग्रस्त बनाए जहाँ क्षति न्यूनतम हुन्छ ।
बोइङ ७८७ विमान मेडिकल कलेजको होस्टेलमा खसेको थियो । यो कम जनसंख्या भएको क्षेत्र हो, तर त्यहाँ घना बस्ती र यसको वरिपरि तीन ठूला अस्पतालहरू छन् ।
यदि विमान ३ सेकेन्ड अगाडि वा पछि खसेको भए विनाश ठूलो हुने थियो । दुर्घटना स्थलको दायाँपट्टि एक सैन्य अस्पताल छ । अगाडि सिभिल अस्पताल छ र केही दूरीमा गुजरात क्यान्सर सोसाइटी मेडिकल कलेज छ।
अहमदाबादबाट लन्डन जाँदै गरेको एआई १७१ विमान उडान भरेको केही समयपछि मेडिकल होस्टेलको भवनमा ठोक्किएर दुर्घटना हुँदा २४१ यात्रु र चालक दलका सदस्यहरूसहित २७० जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक यात्रु मात्रै बाँचेका थिए ।
समाचारअनुसार यदि यो ३ सेकेन्ड अगाडि वा ढिलो खसेको भए १२०० भन्दा बढी मानिसहरूको मृत्यु हुने थियो ।
दुर्घटना स्थलको अनुसन्धानका क्रममा उपस्थित एक उड्डयन अधिकारीले खसेको विमानको गति अनुसार यो सिधै १२०० शैयाको सिभिल अस्पतालमा दुर्घटनाग्रस्त हुने थियो। प्रारम्भिक अनुसन्धानले पाइलटले केही सेकेन्डअघि विमानलाई तल ल्याएको देखाउँछ ।