२७ जेठ २०८३, बुधबार

इलामका विद्यार्थीलाई दिइयो नाट्यसम्बन्धी १५ दिने तालिम

असार १८, २०८२
काठमाडौं
इलामका विद्यार्थीलाई दिइयो नाट्यसम्बन्धी १५ दिने तालिम

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा राईटर्स इन्टरनेसनल ग्लोबल कमिटीले विद्यार्थीहरूलाई नाट्यसम्बन्धी १५ दिने तालिम दिएको छ ।

फिक्कल नमुना मा.वि.मा १५ दिन (असार १५ सम्म) सञ्चालित कार्यशालामा कक्षा ६ देखि १० सम्मका २६ जना विद्यार्थीले सहभागिता जनाएका थिए। 

समापन समारोहकी प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले सहभागी विद्यार्थीलाई अभिनयसम्बन्धी सीपको सदुपयोग गर्दै भविष्यमा नाट्य विधामा अगाडि बढ्न शुभकामना दिइन्।

उनले कार्यशालाबाट प्राप्त आधारभूत ज्ञानले नाट्य क्षेत्रतर्फ प्रस्ट मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ नाट्य निर्देशक सुनील पोखरेलले विद्यार्थी जीवनमै अभिनय कार्यशालामा सहभागी हुनु दुर्लभ अवसर भएको बताउँदै यसलाई निरन्तरता दिन सके भविष्यमा सफलता प्राप्त गर्न सकिने बताए।

कार्यशालाको प्रमुख प्रशिक्षक प्राज्ञसभा सदस्य पुरु लम्सालले १५ दिने अवधि अभिनयमा रुचि राख्ने विद्यार्थीका लागि महत्त्वपूर्ण सिकाइको समय भएको उल्लेख गरे। कार्यशाला रमाइलो र फलदायी रहेको अनुभव उनले सुनाए।

समारोहमा विद्यालयका प्रधानाध्यापक गंगा महतको अध्यक्षता रहेको थियो। उनले आफ्नो विद्यालयलाई कार्यशाला सञ्चालनस्थलका रूपमा रोजिएकोमा आयोजक संस्था र प्रज्ञा–प्रतिष्ठानप्रति आभार व्यक्त गरे।

सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाबहादुर बरालले उद्घाटन गरेको अभिनय कार्यशालामा प्रशिक्षार्थीहरूले तयार पारेको नाटक ‘समयको मूल्य’ को मञ्चन पनि गरिएको थियो।

कार्यक्रममा वरिष्ठ कवि विमल वैद्य, सुमन पोखरेललगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राइटर्स इन्टरनेसनल ग्लोबल कमिटीका स्थानीय संयोजक सुजन नेपालले स्वागत मन्तव्य राखेका थिए।

salt training

कमेन्ट गर्नुहोस्