१२ असार २०८३, शुक्रबार
विद्यार्थी आन्दोलनको दिशा

बरालिएको विद्यार्थी आन्दोलन र आगामी कार्यभार

असार २०, २०८२
काठमाडौं
बरालिएको विद्यार्थी आन्दोलन र आगामी कार्यभार

नेपालको विद्यार्थी आन्दोलनका अगाडि विभिन्न चुनौती र सम्भावना रहेका छन् । अहिले मुख्यत: चुनौतीहरू कै बीचमा छ र नवीन सम्भावना खोजीको दिशामा अगाडि बढ्न सकिरहेको छैन । पुरानै संरचना वा ढाँचाको विद्यार्थी आन्दोलन आजको नयाँ पुस्ताको मनोविज्ञानसँग मेल खाँदैन । राणाकालमा विसं १९९१ सालमा बनारसमा अध्ययनरत विद्यार्थीहरूबाट शुरू हुँदै १९९७ माघ १६ गते त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता गंगालाल श्रेष्ठलाई राणाहरूले फाँसी दिएर गरेको हत्या र उहाँको सहादत, २००४ सालमा ‘जयतु संस्कृतम्’ नाममा पहिलो पटक संगठित विद्यार्थी आन्दोलन, पञ्चायतविरुद्धको संघर्ष र सशस्त्र युद्ध हुँदै ६२/६३ सम्मको विद्यार्थी आन्दोलनले आफ्नो समयको सापेक्षतामा ठूल–ठूला परिवर्तनहरूमा अग्रमोर्चामा रहेर महत्वपूर्ण भूमिका खेलेको छ । गणतन्त्रको स्थापनापछि विद्यार्थी आन्दोलन समयसापेक्ष परिष्कृत हुनसकेन । पुरानो पुस्ताले कोरेको मार्गले आजको पुस्ता र समयको मागलाई सम्बोधन गर्न सक्दैन । इतिहासको सम्मान र रक्षा गर्दै नयाँ खोज र अनुसन्धानका बीचबाट आजको विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने चुनौती हाम्रो सामु छ र उत्तिकै नवीन सम्भावना पनि छन् ।

अहिले नेपालको विद्यार्थी आन्दोलन मूलत: दुई धारामा विभक्त छ । एउटा, यथास्थितिवादी वा संसद्‌वादी धारा अथवा वर्तमान सत्ता/व्यवस्था सबै ठीक छ भन्ने र पाएको बेला मन्त्रीको पीए पनि भइहाल्ने, कुनै लाभको पदमा राजनीतिक नियुक्ति खाइहाल्ने, नारामा विद्यार्थी आन्दोलन प्रतिपक्षीय आन्दोलन भनेर भट्याउने तर आफू निकटको भ्रष्ट सरकार वा व्यक्तिको समर्थनमा वक्तव्य जारी गर्ने, प्रदर्शन गर्ने । यो धाराले सुधारवादी नारा लगाए पनि विद्यमान स्थितिमा वास्तविक रूपले सुधार गर्न चाहँदैन । अर्को, क्रान्तिकारी धारा हो । जो विचार, सिद्धान्तको दृष्टिकोणबाट सुस्पष्ट छ । शैक्षिक आन्दोलनका हिसाबले आम शैक्षिक सुधार हुँदै वैज्ञानिक समाजवादी शिक्षाको स्थापनार्थ संघर्षरत छ । तर, त्यसका लागि कुन राजनीतिक व्यवस्था छ र त्यसको चरित्र कस्तो छ भन्ने कुराले सबैथोक निर्धारण गर्छ । त्यसो हुँदा नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको खोलमा दलाल पुँजीवादी संसदीय व्यवस्था चलिरहेको छ । त्यसैले यो सत्तालाई विघटन गर्नुपर्छ र त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ भन्ने मान्यता राखेर विद्यार्थी आन्दोलन भित्रको क्रान्तिकारी धाराले संघर्ष गरिरहेको छ । अर्कोतिर, प्रतिगमनसँग साठगाँठ गर्दै नयाँ पुस्तालाई दिग्भ्रमित पार्ने तथा प्रतिगमनकारी मनोविज्ञान तयार पार्ने प्रतिगमनकारी शक्तिसमेत विद्यमान छ । जुन विद्यार्थी आन्दोलनकै स्तरबाट संगठित भएर कार्यक्रमिक रूपमा समेत देखा परेको छैन तर पर्ने सम्भावना छ । जसले अहिले पनि ‘राजा आउ, देश बचाउ’, ‘हिन्दु राष्ट्र जिन्दावाद’ जस्ता प्रतिगमनकारी नारा भट्याइरहेको छ र सानो स्वरमा भए पनि प्रतिगमनको प्रतिनिधित्व गरिरहेको छ ।

आजको विषय मुख्यत: क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई कसरी अगाडि बढाउने ? भन्ने कुरा नै हो । किनभने समाज स्वभाविक रूपले प्रगतिशील छ र सधै प्रगतिपथमा अगाडि बढ्न चाहन्छ । त्यस्तो प्रगतिपथको नेतृत्व क्रान्तिकारीहरू अर्थात् क्रान्तिकारी संगठनले मात्रै गर्नसक्छ । अरू बुर्जवा संसद्‌वादी धार बोकेकाहरूले आफूलाई कसरी परिष्कृत गर्ने र अगाडि बढाउने त्यो उनीहरूको कुरा हो । हामीले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई तिनीहरूको भन्दा सही दिशामा मात्रै अगाडि बढाउनु छैन कि समग्र व्यवस्था नै फेर्ने गरि नयाँ आधारशिला तयार गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले सर्वप्रथम आफ्ना सबै सीमा, समस्या र कमजोरीप्रति निर्मम बन्न र आफैंलाई बदल्न आवश्यक छ । विचार, सिद्धान्त पक्ष मुख्य भए तापनि त्यसलाई हामी व्यवहारमा कसरी प्रयोग गर्छौं ? भन्ने कुरा अहिलेको समयमा कम्ता महत्वपूर्ण छैन । पुरानै ढर्राको आन्दोलनबाट हाम्रो उद्देश्य र लक्ष्य हासिल गर्न सक्दैनौ । नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनका अगाडि आजको दिन धेरै चुनौतीका पहाड खडा भएका छन् । वर्तमान वस्तुस्थितिलाई पक्रिन नसक्दा क्रान्तिकारीले अगाडि बढाएको संघर्ष र आममनोविज्ञानबीच अन्तरविरोध छ । नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनमा चुनौती त छँदैछन् तर परिस्थितिलाई सम्हालेर अगाडि लैजान सकियो भने हाम्रा सामु चुनौतीको तुलनामा सम्भावना नै बढी छन् । ती सम्भावनालाई अवसरमा बदल्न आजको क्रान्तिकारी विद्यार्थी आन्दोलनका कार्यभारबारे केही महत्वपूर्ण विषय यसप्रकार छन् ।

क) निरन्तरतामा क्रमभंगत्ता :

आज हामी एउटा क्रान्तिकारी विचार र सिद्धान्तबाट निर्देशित भएर विद्यार्थी आन्दोलनलाई अगाडि बढाइरहेका छौं । कुनै पनि क्रान्तिकारी संघर्ष वा आन्दोलन राजनीतिक/वैचारिक र सैद्धान्तिक तवरले स्पष्ट हुनु आन्दोलनका लागि अत्यावश्यक र महत्वपूर्ण विषय हो । वैचारिक र सैद्धान्तिक स्पष्टता हुँदाहुँदै वर्तमान समयको मागनुरूप आन्दोलनको विकास गर्न नसक्नु हाम्रो कमजोरी हो । त्यो कुरा सच्याउने र आन्दोलनमा विगत देखिको निरन्तरतामा क्रमभंगता गर्दै नयाँ खोज र अनुसन्धानसँग जोडेर आन्दोलनलाई अगाडि बढाउने कुरा, सांगठानिक पुनर्गठन, विकृत संस्कृतिको विरुद्ध नयाँ जनसंस्कृतिको निर्माण, विज्ञान प्रविधिको विकासलाई आन्दोलनसँग जोड्ने कुरामा पहलकदमी लिन आवश्यक छ । अहिलेको आन्दोलन तुलनात्मक रूपमा केही फरक भए पनि सारभूत रूपले विगतकै निरन्तरतामा अल्झिएको छ । विगतको विरासत र इतिहासलाई उच्च सम्मान गर्दै आन्दोलनलाई नयाँ ढंगबाट विकास गर्न आवश्यक छ । विगतकै निरन्तरताले आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न सम्भव देखिँदैन । वर्तमान विश्व व्यवस्थाका तमाम चुनौतीको सामना गर्दै आन्दोलनलाई वस्तुस्थितिको सापेक्षतामा क्रान्तिकारी ढंगले अगाडि बढाउनु नै अहिलेको विद्यार्थी आन्दोलनको प्रमुख कार्यभार हो ।

युवा विद्यार्थीहरूको पलायन दिन दुई गुणा रात चार चौगुणा बढेको छ । यो सबैको कारण अहिलेको वर्तमान संसदीय राजनीतिक व्यवस्था हो । तर, भ्रम सिर्जना गरेर कुनै निश्चित व्यक्तिमा समाधान खोजिँदै छ । व्यवस्था होइन, व्यक्ति बेठीक हो भन्ने हावा फैलाएर अनेकन जेलेन्स्कीहरू जन्माइँदै छन् । यो कुरामा आमनेपाली जनता सचेत हुन आवश्यक छ ।

ख) विद्यार्थी आन्दोलनको आवश्यकता बोध :
अहिले नेपालमा केही राजनीतिक पार्टी र व्यक्तिहरूले सुनियोजित रूपमा विद्यार्थी आन्दोलन र संगठनहरूको औचित्य समाप्त भएको कुरा हल्ला पिट्दै हिँडिरहेका छन् । यस्ता अभिव्यक्ति कतै न कतैबाट विद्यार्थी आन्दोलनलाई तथाकथित प्रश्नको घेराभित्र राखेर बदनामित गराउने, शिक्षामा भएको निजीकरण, व्यापारीकरणको संरक्षण गर्ने र नवउदारवादी शिक्षा नीतिको पक्षपोषण गर्ने मनसायबाट प्रेरित देखिन्छ । आज शिक्षा क्षेत्रमात्रै होइन, राज्यका सबै निकाय भ्रष्टाचार, कमिशनजस्ता तमाम बेथितिहरूमा चुर्लम्म डुबेको बेला विद्यार्थी आन्दोलन आवश्यक छैन भन्ने कुरा सत्ताको चास्नीमा मस्ति मार्दै लुटपाट गर्न पाउनुपर्छ भन्नु हो । आज विद्यार्थी आन्दोलन साँच्चिकै विद्यार्थी आन्दोलन जस्तो हुनसकेको छैन थुप्रै सीमा समस्या छन् । त्यसमा पनि मुख्यत: संसद्वादी धारा अथवा वर्तमान सत्ता र व्यवस्थाप्रति समर्पित विद्यार्थी संगठनहरूले आन्दोलन बदनामित बनाएका छन् । त्यसलाई समग्र विद्यार्थी आन्दोलनको रूपमा अर्थ्याउनु र विश्लेषण गर्नु जायज हुँदैन । असाध्यै जटिलताहरू र वर्तमान आन्दोलनको संक्रमणकालीन अवस्थाको बीचबाट पनि एकप्रकारको क्रान्तिकारी आन्दोलन धिपधिप गर्दै बलिरहेको छ । जो छिट्टै नै उज्यालो छर्ने गरी प्रज्वलित हुनेछ । त्यसैले आजको सापेक्षतामा विद्यार्थी आन्दोलनको आवश्यकता घटेको होइन कि अझै बढेर गएको छ ।

ग) विद्यार्थी आन्दोलनको पुनर्गठन र विकास :

आज हामी आन्दोलनलाई नयाँ रूप दिन सकिरहेका छैनौं । सामान्य मुद्दाहरूको उठान हुने तर निष्कर्षमा नपुग्ने समस्या देखिन्छ । अबको विद्यार्थी आन्दोलनलाई दुई कोणबाट अगाडि बढाउन सकिन्छ । एउटा समस्याहरूको उजागर गर्ने र जागरण फैलाउनेगरी सञ्चालन गर्नपर्छ । अर्कोतर्फ निश्चित मुद्दाहरू उठान गरेर निष्कर्षमा पुर्‍याउनेगरी संघर्ष अगाडि बढाउनुपर्ने हुन्छ । आज विद्यार्थीहरू माध्यमिक तह पार गरिसकेपछि उच्च शिक्षाको नाममा पलायन भइरहेको अवस्था छ । त्यसको कारण के हो त भन्दा विद्यार्थीले जुन तहको उच्च शिक्षा हासिल गरे पनि त्यो अनुसार देशमा रोजगारी, पेशा–व्यवसाय गरेर खान सकिने वातावरण र अवस्था छैन । यसको अर्थ देशको शिक्षा नीति र प्रणालीमै समस्या देखियो । अन्तर्राष्ट्रिय बजारमा कौडीको भाउमा बिक्री हुने सस्तो श्रमिक हुनका लागि होइन । प्रतिस्पर्धा गर्नका लागि र नेपालको विकास, समृद्धि र प्रगतिका लागि वास्तविक धरातलमा टेकेर कस्तो शिक्षा आवश्यक छ ? भन्ने यी दुबै विषयमा राज्यले आवश्यक शिक्षा नीति अख्तियार गर्न सकेको छैन त्यो नै मुख्य समस्या हो ।

आज हाम्रो आन्दोलनलाई नीतिगत विषयको हल खोज्नेतिर पनि केन्द्रीत गर्न आवश्यक देखिन्छ । जसभित्र हामी गुणस्तरीय र वैज्ञानिक शिक्षा, विद्यार्थी पलायनको समस्या, बेरोजगारीको समस्यालगायतको हल खोज्न सक्छौं । त्योसँगै शिक्षाको आमसुधारका लागि निजीकरण र व्यापारीकरणलाई अन्त्य गर्दै नि:शुल्क शिक्षाको विषय, शिक्षा क्षेत्रमा हुने गरेको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र कमिशन लगायतका विषयमा संघर्ष गर्न सक्छौ । शैक्षिक एजेण्डाभन्दा बाहिर पर्यावरण संरक्षण आजको मुख्य मुद्दा हो । अन्यमा राष्ट्रियता, सुशासन र जनजिविकाका मुद्दासँगै युवा पुस्ता दुर्व्यसनीमा फसिरहेको स्थितिबारे, छात्रा हिंसालगायत अन्य थुप्रै मुद्दाहरूमा संघर्ष केन्द्रित गर्न सक्छौं । विषयको उठानका लागि विद्यार्थी आन्दोलनका अगाडि प्रशस्तै मुद्दा छन् । तर, आन्दोलनप्रति नेपालमा लाखौं लाख विद्यार्थीहरू र आमजनको मनोविज्ञान सकारात्मक बनाउन आवश्यक छ । ती सबै कुराको बाबजुद आन्दोलनमा नीतिगत रूपमै पुनर्गठन नगरिकन सही दिशा दिन सकिँदैन । विद्यार्थी आन्दोलनको पुनर्गठनबारे पहिलो कुरा, आन्दोलनले आ शैक्षिक सुधारसँगै आमूल रूपान्तरण नै मुख्य हो भन्ने कुरालाई जोड दिदै शैक्षिक प्रणाली राजनीतिक व्यवस्थासँग घनिष्ठ रूपले अन्तरसम्बन्धित हुन्छ भन्ने कुरा विद्यार्थीहरू माझ स्थापित गर्नुपर्छ । दोस्रो कुरा, आन्दोलनलाई आमसुधारको नाममा सुधारवाद, अर्थवाद र अकर्मण्यतावादबाट टाढा राख्नु पर्दछ । तेस्रो कुरा, आन्दोलनमा विद्यार्थीहरूले शैक्षिक समस्याको हल र आफ्नो भविष्यको स्पष्ट खाका देख्न सक्नुपर्छ । चौथो कुरा, आन्दोलनले विद्यार्थीहरूलाई निरूत्साहित होइन नयाँ विश्वास र आशाको रक्तसञ्चार गर्न सक्नुपर्छ । यसरी आन्दोलनको पुनर्गठनबारे छलफल अगाडि बढाउँदा मात्रै विद्यार्थी आन्दोलनलाई एक तहसम्म नयाँ उचाइ प्रदान गर्न सकिन्छ ।

घ) व्यवहार र सिद्धान्तको तालमेल :

लेनिनको एउटा गज्जबको भनाइ छ ‘हजारौं सिद्धान्तका तर्कहरूभन्दा एउटै व्यवहार काफी हुन्छ । आज हामी व्यवहारको शुन्यता सहित आन्दोलनलाई आवश्यकताभन्दा बढी सैद्धान्तिकरण गरिरहेका छौं । जसको फाइदा पुँजीवादीले उठाइरहेका छन् । क्रान्तिकारी आन्दोलनसँग सम्बन्धित रहेको विद्यार्थी आन्दोलन एउटा आवश्यक विचार र सिद्धान्त पक्कै चाहिन्छ । जसले क्रान्तिको सेवा गरोस् र नयाँ पुस्तालाई धेरैभन्दा धेरै कम्युनिष्ट आन्दोलन र क्रान्तिको बाटोमा डोहोर्‍याओस् । तर कहिलेकाहीँ हामी देख्छौ कि क्रान्तिकारी विद्यार्थी आन्दोलन यस्तो घेरा र पर्खालभित्र कैद गर्न खोजिएको छ, जसले नयाँ पुस्ता होइन आन्दोलनमा भएकै पुस्ता कम्युनिष्ट आन्दोलनको अन्तिम पुस्ता हुने देखिन्छ । पार्टी, विचार, सिद्धान्त, कमानको शृंखला, आदेशको शृंखला भनिएको छ । त्यो सही छ । त्यो भन्नेहरू फेरि आफैं व्यहारबाट च्युत छन् र सबै कुरा आफैं उल्लंघन गर्छन् ।

एउटा भयानक प्रवृत्ति आन्दोलनमा हाबी छ । जसले नयाँ पुस्तालाई आन्दोलनबाट टाढा बनाइरहेको छ । व्यवहार र सिद्धान्त एकअर्काका परिपूरक विषय हुन् । त्यसले व्यवहार र सिद्धान्तको उचित तालमेल गरेरमात्रै आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । तबमात्रै नयाँ पुस्तालाई आन्दोलनमा जोडेर सँगसँगै अगाडि लैजान सकिन्छ ।



यो एउटा भयानक प्रवृत्ति आन्दोलनमा हाबी छ । जसले नयाँ पुस्तालाई आन्दोलनबाट टाढा बनाइरहेको छ । तसर्थ व्यवहार र सिद्धान्त एकअर्काका परिपूरक विषय हुन् । त्यसले व्यवहार र सिद्धान्तको उचित तालमेल गरेरमात्रै आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । तबमात्रै नयाँ पुस्तालाई आन्दोलनमा जोडेर सँगसँगै अगाडि लैजान सकिन्छ ।

ङ) राजनीति र क्रान्तिकारी आन्दोलनप्रतिको सकारात्मक सन्देश प्रवाह :

अहिले आममानिसहरू राजनीतिको ‘र’ पनि सुन्न चाहँदैनन् । राजनीतिप्रति असाध्यै वितृष्णा जागेको छ । नेपालको राजनीतिमा ‘जुन जोगी आए पनि कान चिरेको भन्ने उखान लागू भएको छ । कसैलाई पनि विश्वास गर्न सकिने ठाउँ आमजनले देख्न सकेका छैनन् । केही भ्रम छरेर जनताको भावनामा खेलेर आफूलाई नयाँ भन्ने रास्वपा जस्ता दल वर्षामा उम्रिने च्याउ जसरी उम्रिए पनि खासै पुरानो दलभन्दा पनि गए–गुज्रेका देखिए । सबै एउटै खेतका मुला वा नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तो स्थिति निर्माण भएको छ । वर्तमान संसदीय व्यवस्थाभित्रको वास्तविकता यहीँ नै हो । तर यो व्यवस्थाभन्दा बाहिर क्रान्तिकारीहरू छन् । जसले आफूलाई वर्तमान परिस्थितिमा प्रमाणित गर्न सकिरहेका छैनन् ।

त्यसले हाम्रो अगाडि अजंगको चुनौती के छ भने राजनीतिक वितृष्णाबाट जनतालाई मुक्त गर्दै व्यवस्थाकै दोष भएको हुँदा नयाँ राजनीतिक व्यवस्था अगाडि बढाउनुपर्छ भन्नेकुरा जनतालाई बुझाउन आवश्यक छ । राजनीतिप्रति आशाको रक्तसञ्चार गर्ने कार्यभार पनि विद्यार्थी आन्दोलनको महत्वपूर्ण कार्यभार बन्न पुगेको छ । अहिले देशमा जताततै निराशा फैलाइएको छ । सबै खतम भयो, अब यही देशमा बस्नु भनेको काललाई पर्खनुसरह हो र उन्नति/प्रगति केही हुँदैन भन्ने हौवा फैलाइएको छ । वर्तमान संसदीय राजनीतिप्रतिको आमबुझाइ र वितृष्णा सही छ । तर गम्भीर समस्या के छ भने कुरा व्यक्तिको हो व्यवस्था ठीक छ र यसको विकल्प छैन भन्ने भ्रम फैलाइएको छ । त्यसलाई चिर्दै क्रान्तिकारी विकल्प र सम्भावनाप्रति आमजन र त्यसमा दिग्भ्रमित बनेको नयाँ पुस्तालाई प्रशिक्षित तुल्याउँदै र सबैलाई गोलबद्ध पार्दै क्रान्तिकारी आन्दोलन उठाउने र राजनीतिप्रति सबैमा आशा र विश्वासको रक्तसञ्चार गर्ने कार्यभार पनि क्रान्तिकारी विद्यार्थी आन्दोलन कै टाउकोमाथि छ ।

च) नयाँ पुस्तालाई इतिहासप्रतिको जिम्मेवारी बोध :

आज देशमा जतासुकै नयाँको हावा हुन्डरी चलाइएको छ । वर्तमान व्यवस्थाभित्र रहेका संसदीय राजनीतिक दलले फैलाएको वितृष्णा र निराशाको कोणबाट हेर्दा स्वाभाविक लागे तापनि आज इतिहासलाई नजर अन्दाज गरेर, समाज रूपान्तरण र परिवर्तनको प्रक्रियामा भएका संघर्ष, आन्दोलन र क्रान्तिलाई बिर्सेर अगाडि बढ्ने कुरा हावामा तिर चलाउनु जस्तै हो । आज हामी जे छौं इतिहासमा भएका सबै परिवर्तनकामी जनसंघर्षको जगमा उभिएका छौं । आज नयाँ पुस्तालाई इतिहासका जनसंघर्षलाई तोडमोड गरेर प्रशिक्षित गरिर्दैछ । नेपालमा निरंकुश राजतन्त्रको अन्त्य गर्ने, शोषित पीडित जनतालाई आंशिक रूपमा भए पनि अधिकार दिने सशस्त्रयुद्धलाई हिंसाको रूपमा परिभाषित गरिँदैछ ।

छ) जनविरोधि व्यवस्था परिवर्तनमा भूमिका निर्वाह :

अहिले देश आर्थिक रूपमा टाट पल्टिएको छ । सामाजिक सांस्कृतिक रूपमा परम्परागत रूढीवादी संस्कार हाबी भएको छ, विभिन्न सामाजिक अपराधहरू बढेका छन । देशमा भ्रष्टाचार, कमिशनतन्त्र र मानव तस्करीको मुख्य केन्द्र राजनीतिक दल र पार्टीका नेता भएका छन् । आम जनताको वित्तीय शोषण आक्रान्त बनेर आत्महत्या गरिरहेका छन् । युवा विद्यार्थीहरूको पलायन दिन दुई गुणा रात चार चौगुणा बढेको छ । यो सबैको कारण अहिलेको वर्तमान दलाल पुँजीवादी संसदीय राजनीतिक व्यवस्था हो । तर भ्रम सिर्जना गरेर कुनै निश्चित व्यक्तिमा समाधान खोजिँदै छ । व्यवस्था होइन, व्यक्ति बेठीक हो भन्ने हावा फैलाएर अनेकन जेलेन्स्कीहरू जन्माइँदै छन् । यो कुरामा आमनेपाली जनता सचेत हुन आवश्यक छ । यो सचेतना फैलाउने र वर्तमान व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा नयाँ जागरण फैलाउने मुख्य भूमिका आजको क्रान्तिकारी विद्यार्थी आन्दोलनको हो ।

अन्त्यमा, नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनले बोक्नुपर्ने उपर्यक्त कार्यभारमा दृढतापूर्वक अगाडि बढियो भनेमात्रै नयाँ समाधान दिन सकिन्छ । क्रान्तिकारी रोमाञ्चकारिताका लागि क्षणिक क्रान्तिकारी बन्नेहरूको कमी छैन, यो दुनियाँमा । तसर्थ, परिवर्तन सम्भव छ । शुरूआत आफैंबाट गरौं ।

salt training

कमेन्ट गर्नुहोस्