
बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । एक अर्बको कोष बनाउने लक्ष्य रहेकामा कोषमा रु ५० लाख १० हजार जम्मा भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ ।
पालिकाभित्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउनका लागि जैमिनी नगरपालिकाले रु एक अर्बको जैमिनी नागरिक उपचार कोष बनाउने लक्ष्यका साथ तीन वर्षअघि कोष घोषणा गरेको थियो । तीन वर्षअघि नगरपालिकाले रु १० लाख जम्मा गरेर घोषणा गरेको कोषमा गत वर्ष रु १५ लाख र यस वर्ष रु २५ लाख जम्मा गरिएको छ ।
कोषको ब्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्यसहित कोष निर्माण थालिएको बताउँदै आगामी एक वर्षमै कोष वृद्धि भएर एक करोड पुर्याइने जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले बताए ।
क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता उपचारमा ठूलो खर्च लाग्ने रोगका लागि नगरपालिकाले कोषको ब्याजबाट सहयोग उपलव्ध गराउनेगरी नीति बनाउन लागेको छ ।