
अर्बपति व्यापारी एलोन मस्क स्वामित्वको स्टारलिंकले भारतमा सस्तो स्याटेलाइट-आधारित इन्टरनेट सेवा सुचारू गर्ने भएको छ ।
भारतीय अन्तरिक्ष नियामक निकाय, राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन र प्राधिकरण केन्द्रले स्टारलिंकलाई व्यावसायिक स्याटेलाइट ब्रोडब्यान्ड सञ्चालन शुरू गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । स्टारलिंकले भारतमा सस्तो र उच्च गतिको इन्टरनेट पुर्याउने जनाएको छ ।
भारतले स्वीकृति दिएसँगै स्टारलिंकले भारतमा आफ्नो सेवा शुरू गर्न अन्तिम नियामक खड्को पार गरेको छ ।
यद्यपि, स्टारलिंकले सरकारबाट स्पेक्ट्रम पाउन बाँकी नै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यससँगै ग्राउन्ड इन्फ्रास्ट्रक्चर पनि अहिलेसम्म स्थापना भएको छैन ।
भारतको दूरसञ्चार विभागले स्टारलिंकलाई ट्रायल स्पेक्ट्रम प्रदान गर्ने तयारी गरिरहेको छ ।
संघीय सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले गत हप्ता भनेका थिए, 'हामीले स्टारलिंकको भारत प्रवेशका लागि सबै आवश्यक प्रक्रियाहरू पूरा गरेका छौं । अब उनीहरूले नियामक र लाइसेन्स स्वीकृति प्राप्त गरेपछि जुनसुकै बेला सेवा शुरू गर्न सक्छन् ।'
स्टारलिंकले भारतमा भीस्याट प्रदायकहरूसँग पहिलो व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको छ । भीस्याट सेवाले विशेषगरी ग्रामीण क्षेत्रहरूमा स्याटेलाइट-आधारित इन्टरनेट प्रदान गर्छ ।
यो कदमले भारतको डिजिटल खाडललाई कम गर्न र ग्रामीण समुदायहरूलाई विश्वव्यापी डिजिटल अर्थतन्त्रसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।
केही प्राविधिक र प्रक्रियागत कदम बाँकी रहे पनि स्टारलिंकको सेवा आगामी केही महिनामा भारतमा शुरू हुने अपेक्षा गरिएको छ ।
स्टारलिंकले ६ हजार ७५० भन्दा बढी स्याटेलाइटहरू पृथ्वीको कक्षमा स्थापना गरेको छ । स्टारलिंकले मंगोलिया, जापान, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, जोर्डन, यमन, अजरबैजान र श्रीलंका जस्ता देशहरूमा पहिले नै आफ्नो सेवा विस्तार गरिसकेको छ ।
स्टारलिंकको भारत प्रवेशले स्याटेलाइट सञ्चार बजारमा नयाँ प्रतिस्पर्धा ल्याएको छ । स्टारलिंकको प्रमुख प्रतिद्वन्द्वी अमेजनको प्रोजेक्ट कुइपरले पनि भारतमा ठूलो स्तरको स्याटकम रोलआउटको लागि भारतको दूरसञ्चार विभागबाट नियामक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ ।
यी दुई कम्पनीहरूले भारतको इन्टरनेट बजारमा नवीनता र किफायती सेवाहरू ल्याउने सम्भावना रहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्टारलिंकको सस्तो र भरपर्दो इन्टरनेट सेवाले भारतको डिजिटल परिदृश्यलाई परिवर्तन गर्ने सम्भावना बोकेको छ ।
परम्परागत ब्रोडब्यान्ड सेवाहरूको पहुँच सीमित रहेका क्षेत्रहरूमा स्टारलिंकले शिक्षा, स्वास्थ्य सेवा र व्यवसायका अवसरहरू विस्तार गर्ने योजना बनाएको छ ।