
जिल्ला शिक्षा कार्यालय (तत्कालीन) खोटाङका तत्कालीन शिक्षा अधिकारी बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, खोटाङस्थित जनता उच्च माध्यमिक विद्यालयको चारकोठे भवन निर्माणका लागि प्राप्त सरकारी अनुदान रकम दुरुपयोग गरिएको उजुरीका आधारमा आयोगले अनुसन्धान गर्दा ३० लाख ५० हजार रूपैयाँ बराबरको रकम हिनामिना भएको पुष्टि भएपछि बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७०/७१ मा १० लाख र २०७१/७२ मा १४ लाख रूपैयाँ गरी कूल २४ लाख अनुदान जिल्ला शिक्षा कार्यालयबाट सो विद्यालयलाई चारकोठे आरसीसी भवन निर्माणका लागि प्रदान गरिएको थियो । तर, सम्झौतामा उल्लेख भएअनुसार काम सम्पन्न नगरी नै सम्पूर्ण रकम भुक्तानी दिइएको पाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा पुस्तकालय व्यवस्थापन तथा किताब खरिदका लागि छुट्याइएको ६ लाख ५० हजार रूपैयाँ समेत भवन निर्माणमै प्रयोग गरिएको पाइएको छ ।
गाउँपालिकाको प्राविधिक टोली र आयोगको स्थलगत निरीक्षणमा विद्यालय भवन कम गुणस्तरको निर्माण भएको, भवन डिजाइनअनुसार नबनाइएको, स्तम्भ र पर्खाल छुट्टिएको, बिम चर्किएको, पिल्लर टाइ बीम नभएको र स्ल्याबको मोटाइ मापदण्डभन्दा कम भएको उल्लेख गरिएको छ। यस्तो भवन विद्यार्थीको सुरक्षाका हिसाबले प्रयोग गर्न अयोग्य रहेको समेत प्रतिवेदनमा जनाइएको छ।
अनियमितता प्रकरणमा शिक्षा अधिकारीहरू चापागाईं र भट्टराईसहित लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सव–इञ्जिनियर शिवराज राई, विद्यालयका प्रधानाध्यापक हेम्वर बस्नेत, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू दिलीपकुमार राई र चर्चबहादुर विश्वकर्मा तथा भवन निर्माणमा संलग्न बबेन्द्र राई रहेका छन्।
उनीहरूलाई सार्वजनिक पदको दुरुपयोग गरी आफूलाई लाभ र सरकारलाई हानि पुर्याउने उद्देश्यले सम्झौता नियम विपरीत निर्माण गराएको, झुटा बिल तथा कागजात तयार पारी रकम भुक्तानी लिएको आरोपसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता पौडेलले जनाएका छन् ।