२६ जेठ २०८३, मंगलबार
नेकपा एसमा वामदेव

एमालेले अपमान गरेपछि समाजवादीमा जोडिएँ, २०८४ मा बहुमत ल्याउँछौं : वामदेव गौतम [कुराकानी]

असार २७, २०८२
काठमाडौं
एमालेले अपमान गरेपछि समाजवादीमा जोडिएँ, २०८४ मा बहुमत ल्याउँछौं : वामदेव गौतम [कुराकानी]

नेकपा विभाजनपछि एमालेमा सक्रिय नभई नेकपा एकता राष्ट्रिय अभियान चलाएका वामदेव गौतम अन्तत: माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

यसका लागि नेपाल र गौतमले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि एमालेमा प्रवेश गर्ने टुंगो लागेको थियो । तर, एमालेले उनलाई पार्टीमा प्रवेश गराउन आवश्यक ठानेन । बाँकी जीवन एमालेमै बिताउँछु भनेर गरेको गौतमको घोषणा अलपत्र परेको थियो ।

एमालेले अपमान गरेकाले आफू अन्तत: समाजवादीसँग एकता गर्ने निचोडमा पुगेको उनी बताउँछन् ।

एकता सम्झौतापछि गौतमले पाउने पोजिसन, उनको तयारी, नेताहरूको कार्यविभाजनसहितका विषयमालोकान्तरका लागि रमेश सापकोटाले वामदेव गौतमसँग छोटो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

तपाईंले यसअघि पनि पटक–पटक वार्ता गर्नुभएको थियो, अहिले कसरी कुरा मिल्यो ?

हाम्रो एकता अभियान र समाजवादबीच झण्डै चार वर्षदेखि वार्ता प्रक्रियाको कुरा चलेको थियो । हामीले अहिले आएर त्यो प्रयासलाई एकतामा परिणत गरेका छौं ।

आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र मैले समझदारीपत्रमा हस्ताक्षर गरेका छौं । साउन २ गते २ बजे हामी एकताको औपचारिक घोषणा गर्नेछौं ।

तपाईं के उद्देश्य राखेर पार्टी एकता गर्ने टुंगोमा पुग्नुभयो ? 

कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने हाम्रो साझा उद्देश्य हो । यसका लागि हामी छरिएर होइन,  एकीकृत भएर मात्रै यी कामलाई सम्पन्न गर्न सक्छौं । यसैले हामी एकताको निचोडमा पुगेका हौं ।

एकताको सहमति गर्नुभयो, तर यहाँको पद व्यवस्थापन कसरी हुन्छ ?

हामीले कम्युनिस्ट पार्टी छरिन हुँदैन भनेर यो निर्णय लिएका छौं । पोजिसनका लागि कुनै बार्गेनिङ गरिएको छैन । पोजिसन के लिने भन्ने आपसी सहमतिले मिल्ने कुरा हो ।​

तपाईंको एकता अभियानका अरू नेताको के हुन्छ ?

यो पनि समाजवादीका नेताहरूले मिलाउनुहुन्छ । यो मिलाउने टीममा म पनि हुन्छु । हामीसँग भएका सदस्यको, नेताको नाम सबै पठाउँछौं । यसमा प्रस्ताव समाजवादीले तयार गर्छ ।

केन्द्रीय नेता तपाईंको कति हुनेछन् ?

हाम्रो अभियानबाट १५ जना केन्द्रीय कमिटीमा रहनुहुन्छ । त्यसमा स्थायी कमिटी र पोलिटब्यूरोमा पनि केही सदस्य रहनुहुन्छ । यो पनि आपसी सहमतिले टुंगो लाग्छ । हाम्रो अभियानका केन्द्रीय नेताहरूलाई एकताको औपचारिकता भएपछि केन्द्रीय निकाय, विभाग र अन्य केन्द्रीय तहको जिम्मेवारी दिनुस् भनेको छु । यसमा पनि कुरा मिल्छ ।

समाजवादीमा आउनुअघि एमालेसँग एकता हुनै लाग्यो भनेर घोषणा गर्नुभएको थियो नि ?

हो, एमालेसँग पनि वार्ता गरेकै हो । तर, एमालेले हामीलाई अपमान गरेपछि समाजवादीमा आउने कुरालाई उचित ठानेका हौं ।

अब समाजवादीमा आएपछि तपाईंका योजना के हुनेछन् ?

हामी समाजवादीलाई थप राम्रो र प्रभावकारी बनाउने योजना अगाडि सार्छौं ।

२०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढ्ने योजना बनाउँछौं । अबको हाम्रो योजना समाजवादीलाई अझै विस्तार गर्दै उन्नत बनाउने नै हो ।

 

 

salt training

कमेन्ट गर्नुहोस्