०५ साउन २०८३, मंगलबार

टिचिङमा इमर्जेन्सी १५ शय्या र आधुनिक एमआरआई सेवा विस्तार

असार २८, २०८२
काठमाडौं
टिचिङमा इमर्जेन्सी १५ शय्या र आधुनिक एमआरआई सेवा विस्तार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरूआत गरेका छन् । साथै, मन्त्री पौडेलले अस्पतालमा आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत शुरू गरेका छन् ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रूपैयाँ दिएको थियो । सेवा शुरूआत गर्दै मन्त्री पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालमा धेरै आउनुको कारण यही भएको बताए । 

अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।

‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ’, मन्त्री पौडेलले भने । 

अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।

बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परेपछि अस्पतालले शय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शय्या पुर्‍याएको हो ।

यसअघि आठ बेड मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गराउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् ।  

कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शय्या रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्