
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रूपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जितेका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप यो डिल हात पारेका हुन् ।
आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङ मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् ।
त्यसैगरी, बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हासि गरि अपट्रेन्डली पीकका रूपमा १ लाख रूपैयाँको ब्रान्ड डिल जिते ।
गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरी टेलर्सलाई सशक्त बनाउने उद्देश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।

‘देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरूलाई कन्टेन्ट क्रिएशनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।
साथै, यस प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पुर्याउने सबै मेन्टरहरूप्रति एनसेलले धन्यवाद दिएको छ ।

प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोमध्येबाट उत्कृष्ट ५० जना क्रिएटरलाई पाँच जना मेन्टर; सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरुलाई १०/१० जनाको समूहमा ५ जना मेन्टरमार्फत् विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो ।
सहभागीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।
प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो विजयी श्रेष्ठ सञ्जोग कोइराला टिमका थिए । त्यसैगरी, तेस्रो विजेता रुचेल र चौंथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टिमका थिए । उत्कृष्ट ५० मा पर्न सफल भएका क्रिएटरमध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटर छानेका हुन् ।

निर्णायक मण्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए ।