२६ जेठ २०८३, मंगलबार
जीवनदर्शन

लिङ्गार्चन साउनमा किन बढी हुन्छ ?

साउन ३, २०८२
काठमाडौं
लिङ्गार्चन साउनमा किन बढी हुन्छ ?

साउन महिना शिवको महिना, शिवोपासनाको महिना, लिङ्गार्चनको महिना, वर्षाऋतुको महिना, वर्षाऋतु शुभारम्भको महिना, प्रकृतिको महिना, प्रकृति उपासनाको महिना, प्रकृतिप्रशवको महिना । त्यसैले शिवको महिना, शिवोपासनाको महिना, लिङ्गार्चनको महिना ।

प्रकृति र शिव एउटै हुन्, नाम फरक हो काम एउटै । शिव लिङ्ग हुन्, लिङ्गरूप हुन्, लिङ्गदेव हुन्, प्रकृति उसको शक्ति, जो लिङ्गबाट प्रसूति हुन्छ, संसारलाई फलाउँछ फुलाउँछ । शिवार्चन भन्नेवित्तिकै लिङ्गको कुरा आउँछ, लिङ्गार्चनको कुरा आउँछ । अनि लिङ्गार्चन भन्नेवित्तिकै योनिको पनि अर्चन हुन्छ । आकाश लिङ्ग हो, प्रकृति योनी हो, जो एकअर्कोमा सम्बन्धित हुन्छ । किनकि लिङ्ग र योनीसँगै हुन्छ, सँगै बसेको हुन्छ, । फलत: एकअर्कोप्रति आकर्षित हुन्छ र नवसृजना सम्भव हुन्छ । त्यसैले यसलाई प्राणीजातिको आलय र विलयको आधार मानिएको छ । आलय पनि त्यही हो विलय पनि त्यहीँ हुने हो ।  

लिङ्गार्चनको परम्परा निकै पुरानो हो । जहाँ पनि हुन्छ, जहिले पनि हुन्छ । हिजो पनि हुन्थ्यो, आज पनि हुन्छ, भोलि पनि हुनेछ । मोहनजोद्दारोहरप्पामा उत्खनन गर्दा भेटिएको पुरातात्विक आकृति अरू केही नभएर लिङ्ग र योनिकै थियो । छुट्टै कुरा हो कि इलावर्तबाट आउने आर्यहरूले शायद महत्व नबुझेर होला शुरूमा रुचाएनन् र कुनातिर पन्छाइदिए तर लामो सयम त्यसैमा अडिन भने सकेनन् र जीवनको आधार मानेर साधना गर्न थाले, उपासना गर्न थाले, जसले तन्त्रशास्त्रको उदय गरायो । त्यसैले त तन्त्रशास्त्र भन्नेवित्तिकै गौरीशङ्करको कुरा आउँछ, योनि र लिङ्गको कुरा आउँछ, जसलाई अर्धनारीश्वर भनिन्छ ।   

प्राणीजातिको सृष्टि नै लिङ्ग र योनिबाट भएको हुन्छ, लिङ्ग र योनिको सम्पर्कबाट भएको छ । समग्रमा भन्नुपर्दा लिङ्गार्चनबाट भएको हुन्छ । संसारभरीकै प्राचीन इतिहास लिङ्गार्चनको महिमाले भरिएको छ । भलै नाम फरक होला, आकृति फरक होला, तरिका फरक होला तर लिङ्गार्चन भएकै हुन्छ । कहाँ थिएन र लिङ्गको अर्चना ? जहाँ पनि थियो । चीनमा थियो, जापानमा थियो । ग्रीसमा थियो, रोममा थियो, मिश्रमा थियो । फ्रान्समा थियो, ब्राजिलमा थियो, इज्रायलमा थियो, स्कटल्याण्डमा थियो, काबूलमा थियो, बुखारामा थियो । अरबमा थियो, अमेरिकामा थियो । चम्पा, कम्बोज, जावा, सुमात्रा, मलयद्वीप, मेक्सिक्को जताततै थियो । यहूदीहरू लिङ्ग पूजन गर्थे, इसाइहरू लिङ्गपूजन गर्थे इस्लामहरू लिङ्गपूजन गर्थे, सुरहरू लिङ्गपूजन गर्थे, असुरहरू लिङ्गपूजन गर्थे ।

भलै अरबमा हजरत मुहम्मदले मन पराएनन् होला, पन्छाउन खोजे होला, कालो पत्थरले ढाके होलान्, ढाक्न लगाए होलान् तर उनी आउनुपूर्व लिङ्गार्चन भएकै हुन्थ्यो, लिङ्गको उपासना भएकै हुन्थ्यो । अहिलेकै कुरा गर्ने हो भने पनि भएकै छ, भइरहेकै छ । प्रकृतिको शास्वत सत्यलाई कालो पत्थरले छोपेर किन छोपिन्थ्यो र ? झन् बढी महत्व पाइरहेको छ । जसले बढी छोप्न खोज्छ, घुम्टो हाल्न खोज्छ घुम्टो उघारेर हेर्न खोज्ने उनीहरू बढी हुन्छन् । खुला हुँदा ती सबै शील थियो, शील मानिन्थ्यो, घुम्टो हाल्न थालियो अश्लील भयो, अश्लील मानियो तर साधना गर्न छाडिएन, लुकीलुकी नै सही, अर्कैै नाममै सही, अर्कै तरिकाले सही झन्झन् बढी गरिएको छ, गर्न थालिएको छ । यही हो वास्तविकता, यही हो अरबी दुनियाँको ऐना ।   

शिवार्चन भन्नेवित्तिकै लिङ्गको कुरा आउँछ, लिङ्गार्चनको कुरा आउँछ । अनि लिङ्गार्चन भन्नेवित्तिकै योनिको पनि अर्चन हुन्छ । आकाश लिङ्ग हो, प्रकृति योनी हो, जो एकअर्कोमा सम्बन्धित हुन्छ । किनकि लिङ्ग र योनीसँगै हुन्छ ।

रक्षसंस्कृतिका अनुयायी रावण लिङ्गपूजक थिए । शिव आफैं पनि लिङ्गोपासक थिए । संसारमा सर्वप्रथम लिङ्गपूजनको परम्परा चलाएकै उनीहरूले हुन् । उनीहरूले अन्य कुनै देवता देखेनन्, देवताको कुरा गरेनन् । अपितु लिङ्गो कुरा गरे, त्यसैको महत्व देखे, त्यसैको उपासना गरे, त्यसैको उपासना गर्न सिकाए, गर्न लगाए । विस्तारै मनुष्य बुद्धिले पनि यसको महत्व बुझ्दै जान थाल्यो र पूजा तथा उपासनाका परम्परा चल्यो, चलाइयो ।

लिङ्गको पूजा गर्दा गौरीको पनि पूजा भएकै हुन्छ । गौरी भनेको स्त्रीलिङ्ग हो, स्त्री लिङ्ग भनेको योनि हो । शिव भनेको लिङ्ग हो, जो पुंलिङ्ग हो । संसारलाई यी दुईको आवश्यकता छ, अत्यावश्यकता छ । नत्र यी दुईको कुरा किन हुन्थ्यो होला, दुवैलाई सँगै किन देखाइन्थ्यो होला । किन नन्दी र नागको कुरा आउँथ्यो होला, किन शिवले यिनीहरूलाई साथमा राख्थे होलान् । किन शिवको साथमा उनीहरूको पनि पूजन हुन्थ्यो होला । किनकि तिनको आवश्यकता पनि छ, महत्व पनि छ । नन्दी लिङ्ग हुन्, नागको पनि टाउको लिङ्गाकृतिको हुन्छ, पुलिङ्गाकृतिको हुन्छ । मुख योनिको आकृतिको हुन्छ, स्त्रीलिङ्गाकृतिको हुन्छ । त्यसैले गौरी र शङ्करको साथमा उनीहरूलाई पनि राखिएको हुन्छ, गौरी र शङ्करको गुणगान गर्दा उनीहरूको गरिएको हुन्छ, गौरी र शङ्करको पूजा गर्दा उनीहरूको पनि पूजा गरिएको हुन्छ ।

जब नारी र पुरुषले एकअर्कोको सान्निध्य पाए तब एकअर्को प्रति आकर्षित भए । प्रकृति आफैं सृजनधर्मी थियो, उसैले आकर्षित गर्‍यो, आकर्षित गरायो, आकर्षित गर्न बाध्य गरायो । फलत: नवसृजना भयो । जब नवसृजना भयो तब आश्चर्य मानियो, के हो यो ? कसरी भयो यस्तो चमत्कार ? त्यसपछि त्यसलाई गोप्य ठानियो, गोप्य राख्ने प्रयास गरियो र प्रतीकको रूपमा लिङ्गको उपासना गर्ने परम्परा बसाइयो, योनिको उपासना गर्न थालियो । अर्धनारीश्वरको संज्ञा दिइयो र गुणगान गर्न थालियो ।

शिव भनेको प्रकृति हो, जो अत्यन्त सूक्ष्म हुन्छ । जो सूक्ष्म हुन्छ त्यो सेलको रूपमा हुन्छ । सेलको सङ्ख्या बढ्छ आकृति बढ्दैन । त्यसैले त्यसको विनाश पनि हुँदैन । न आदि हुन्छ न अन्त्य नै ।  जो स्थूल हुन्छ उसको आकृति बढ्छ । अनि जसको आकृति बढ्छ उसको विनाश पनि हुन्छ तर, जो सूक्ष्म हुन्छ ऊ सदा एकनासले रहन्छ । समय पुगेपछि आफैंलाई विस्फोट गर्छ र सङ्ख्या बढ्न थाल्छ, बढाउन थाल्छ । त्यसैले शिवलाई अविनाशी मानिको हो । उदाहरणका लागि बीज, बिरुवा र वृक्षलाई लिन सकिन्छ । बिरुवा बढेर वृक्ष बन्छ त्यसैले उसको नाश हुन्छ तर  बीज मर्दैन । किनकि उसको अवस्था जहिले पनि उस्तै हुन्छ, उत्रै हुन्छ ।

यसो त बीज नै बढेर बिरुवा बन्ने हो तर त्यो रूपमा मात्र हो सारमा होइन । सारमा त यही हो कि बीजतत्व न बढ्छ न मर्दछ । बरू के चाहिँ हो भने सङ्ख्या भने बढाउँछ । एकबाट अनन्त हुन्छ, अनन्त बनाउँछ । अनादिकालदेखि चल्दै आएको यो नियम अनन्तकालसम्म चली नै रहन्छ । न बढ्छ न मर्दछ । बरू अरूलाई बढाउँछ बढ्न लगाउँछ । त्यसैले ऊ शिव हो, लिङ्ग हो, जो संसारको आलय पनि हो, विलय पनि हो । यसको अर्थ हो प्रकृति आफैं शिव हो, शिव भएकाले लिङ्ग हो ।

प्रणयपछि प्रजनन हुन्छ, जहाँ लिङ्गबाही दुईवटा सेल हुन्छ । पुलिङ्गी सेल र स्त्रीलिङ्गी सेल ।  पुलिङ्गी सेल प्रवल भए पुरुष बन्छ । स्त्रीलिङ्सेल प्रवल भए स्त्री बन्छ । यही नै शिव र शक्ति हो, अनि यही नै लिङ्ग र योनि अर्थात् प्रकृति हो । शिव पुलिङ्ग हो र प्रकृति स्त्रीलिङ हो । अनि लिङ्ग र योनि अर्थात् शिवलिङ्ग भनेको यही हो । त्यसैले साउनमा बढी लिङ्गार्चन हुने गरेको हो । किनकि साउन नै प्रकृति प्रशवको महिना हो ।

salt training

कमेन्ट गर्नुहोस्