
कुनै समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वापात्रद्वय गोकुल बाँस्कोटा र महेश बस्नेतले दुई कित्ता समाएका छन् । लामो समय दुवै नेता ओली खेमामै रहेर उनको बचाउमा उत्रिँदै आएका थिए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा आउने विषयमा बहस हुँदा बाँस्कोटा र बस्नेत दुईतिर बाँडिएका हुन् ।
शुक्रबार र शनिबार केन्द्रीय कार्यालयस्थित च्यासलमा बसेको एमालेको पोलिटब्यूरो बैठकमा बाँस्कोटाले राजनीतिमा फर्किएकी भण्डारीको विषयलाई राजनीतिक व्यवहार गरेर पार्टीले टुंग्याउनुपर्ने सुझाव दिए । भण्डारीले राजनीतिमा आउँछु भनेपछि बेवास्ता गर्न नमिल्ने बाँस्कोटाको भनाइ थियो ।
विगतमा पनि ओली र भण्डारीले लामो राजनीतिक जीवनमा सहकार्य गर्दै आएकोले अहिले आएका विषयलाई आपसी सहमतिमा हल गर्न बाँस्कोटाले जोड दिएको नेताहरू बताउँछन् ।
भण्डारीको घोषणा केही पनि होइन जसरी लिने र प्राविधिक मान्ने हिसाबले पार्टीले लिन नहुने उनले बताए । भण्डारीको मुभलाई राजनीतिक ढंगले लिँदै शीर्ष नेता बसेर मिलाउनुपर्ने बाँस्कोटाको भनाइ थियो । एक अर्कालाई खुइल्याउने काममा भन्दा पार्टीमा देखिएको समस्या समाधानमा दोस्रो पुस्ताका नेता पनि लाग्नुपर्ने बाँस्कोटाको भनाइ थियो ।
‘केपीको पक्षपोषण गर्दा विद्याको विरोध नै गर्नुपर्छ भन्ने छ र ? अहिले कसलाई देखाउन जुँधेको ? हिजो चित्तबुझ्दा एउटाविना अर्को बस्न नसक्ने जस्तो गरेका दुनियाँले देखेको छैन ?,’ बाँस्कोटाले भनेका थिए, ‘त्यसैले विद्याको विषय प्राविधिक मात्रै रहेन । पार्टीमा संकट आउनु हुँदैन । हिजो राम्रो सौहार्दता थिए भने आज किन छैनन् ? हिजो ओली संकटमा रहँदा टाढा रहनेहरू आज किन उचाल्दैछन् ?’
बाँस्कोटाले खुलेरै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङहरूको भूमिका दोहोरो र बिगार्ने नियतको भएको आरोप लगाएका थिए । ओली र विद्यालाई लडाएर ‘तर मार्ने’प्रति सचेत हुन उनले आग्रह गरे ।
गोकुलले विद्यामाथि राजनीतिक व्यवहार होस् भनिरहँदा अर्का नेता महेश बस्नेत भने ठीक उल्टो रूपमा प्रस्तुत भए । भण्डारीले राजनीतिलाई थप गिजोल्न खोजेको भन्दै एमालेमा फेरि पनि ओलीको विकल्प नभएको उनले बताए । सम्मानित पदमा पुगेको व्यक्ति फेरि राजनीतिमा आउन खोजको र गिजोल्न लागेको भन्दै बस्नेतले आपत्ति नै जनाएका थिए ।
‘भण्डारी नयाँ सत्ता समीकरण बदल्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि कांग्रेसका शेखर कोइरालासम्म मिलेर हिँडेको अमरेशकुमार सिंहले खुलेआम बताइहनुभएको छ,’ बस्नेतले बैठकमा भनेका थिए, ‘एकातिर सत्ता बदल्न भन्दै भेटघाट अर्कोतिर नारायणकाजीसँग भेटघाट अनि वाम एकताको राग ? यो कम्युनिस्ट एकताको नाममा एमालेलाई कमजोर पार्ने खेल हो । यसप्रति पार्टी सचेत बनोस् । उचित निर्णय गरोस् ।’
सम्मानित पदमा पुगेको व्यक्तिका नाममा गुट चलाउने र खेल्ने नियत अनुचित रहेको बस्नेतले बताएका थिए । पार्टी अध्यक्षको हुर्मत लिन खोज्ने प्रवृत्ति देखिएको भन्दै बस्नेतले ओलीको विकल्प नै तयार नभएको दाबी गरे । यसैले आउँदो कार्यकालमा ओली नै अध्यक्ष बन्नुपर्ने प्रस्ताव बस्नेतले राखेका थिए ।
एमालेका सचिवालय बैठक र पोलिटब्यूरो बैठकमा नेताहरू ओली र कि विद्या भन्ने लाइनमा पनि बाँडिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको पक्षमा लबिङ गरेका छन् । अरु पदाधिकारी खुलेरै विद्याको पक्षमा माहोल बनाइरहेका छैनन् । तर, पार्टी सञ्चालन प्रक्रियामा लोकतान्त्रिकरणको विषय उठाउँदै आएका छन् । कर्ण थापासहितका नेताहरूले भने खुलेरै विद्याको पक्षमा वकालत गरिरहेका छन् ।
६८ जना सदस्यले धारणा राखेपछि एमालेको दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठक सकिएको छ । बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । विधानमा ७० वर्षे उमेरहद खारेज र दुई खालको सदस्यता व्यवस्था नरहने विषयलाई स्वीकार गर्दै निर्णय लिएको जानकारी दिए ।
विद्याबारे झन् कठोर हुने संकेत
एमालेमा पुन: सक्रिय हुने चाहना अनुसार पूर्व राष्ट्रपति भण्डारीले मुभ चाल्दा एमालेले उनको सदस्यता स्थगित अवस्थामा रहेको घोषणा गरेको छ । पोलिटब्यूरो बैठकपछि प्रचार विभाग प्रमुख गौमतले विधानको धारा ८ र ९ आकर्षित भएको भन्दै तत्कालका लागि भण्डारीको सदस्यता स्थगनको अवस्थामा रहेको बताएका हुन् । यस विषयमा अझै ठूलो फोरमले निर्णय लिनुपर्ने स्थिति रहेको उनले बताए ।
‘उहाँको सदस्यता नवीकरण पेन्डिङको अवस्थामा छ । पार्टी विधानको धारा ८, धारा ९ आकर्षित भएको छ । यो धाराको व्याख्या ठूलो फोरमबाट गरेर उचित निर्णय लिन्छौं । केन्द्रीय समितिबाट निर्णय लिन्छौं । तर, अहिले स्थगन छ भन्ने हो’, गौतमले भने, ‘अधिकांश सदस्यले सेनाको परमाधिपति, संविधानको पालक राजनीतिमा आउनु गम्भीर हुने कुरा उठाउनुभएको छ ।’
पार्टी अध्यक्षले पनि अर्को बैठकबाट निर्णय लिने जानकारी गराएको गौतमले बताए ।
‘गरिमामामय पदमा पुगेको व्यक्ति पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौं भन्नुभएको छ,’ गौतमले भने, ‘विधानमा स्वेच्छाले राजीनामा दिएर गइसकेको व्यक्तिको सदस्यता पुनर्नवीकरण गर्ने विषय, नयाँ प्रक्रियाको विषयमा निष्कर्षमा पुगेका छैनौं । जहाँ छ त्यहीँ छ ।’
अहिले नै भण्डारीलाई अध्यक्ष बनाएर जाने कुरा निक्कै गाह्रो रहेको भए पनि अहिले नै औपचारिक निर्णय नभएको उनले बताए । पूर्व राष्ट्रपतिलाई पार्टीमा प्रवेश गर्न दिँदैछैन भन्नु अफबाह भएको उनी बताउँछन् । तर, यसलाई राजनीतिक मुद्दा मानिएको उनले बताए ।
व्यक्तिविशेष भन्दा पनि व्यवस्था महत्त्वपूर्ण भएको गौतमले बताए ।
‘यो व्यक्ति विशेषको कुरा होइन । विद्यादेवी भण्डारीको मात्रै विषय होइन’ गौतमले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘व्यवस्थामा के प्रभाव पार्ने हो, उहाँले लिएको पदको गौरव के होला भन्ने चिन्ता हो । यो कुरामा पार्टी गम्भीर छ ।’
एमालेले विधान महाधिवेशनको लागि २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ जना पदाधिकारी राख्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।
विधानमाथि ५ साउनमा बस्ने केन्द्रीय कमिटीमा छलफल हुने र सुझावका लागि पार्टीका तहमा पठाउने तयारीमा एमाले छ । केन्द्रीय कमिटीपछि आगामी भदौ २० देखि २२ गतेसम्म एमालेको विधान अधिवेशन हुँदैछ ।