११ साउन २०८३, सोमबार

२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन

साउन ४, २०८२
काठमाडौं
२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन

लामो समयदेखि ‘सुतिरहेको राजकुमार’ भनेर चिनिएका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ । उनी करिब दुई दशकदेखि कोमामा थिए ।

राजकुमार अल वालिद सन् १९९० को अप्रिलमा जन्मिएका हुन् । उनी राजकुमार खालिद बिन तलालका जेठा छोरा तथा चर्चित साउदी अर्बपति प्रिन्स अल वालिद बिन तलालका भतिजा थिए ।

उनी सन् २००५ मा लन्डनमा सैनिक तालिम लिँदै गर्दा भएको एक गम्भीर सवारी दुर्घटनामा परेका थिए । त्यस दुर्घटनाबाट मस्तिष्कमा गम्भीर चोट र आन्तरिक रक्तस्राव भएपछि उनी कोमामा पुगेका थिए । त्यसयता उनी कहिल्यै पूर्ण रूपमा होसमा आउन सकेनन् । अमेरिकन र स्पेनी विज्ञ चिकित्सकहरूको टोलीले निकै प्रयास गरे पनि उनको अवस्था उस्तै रह्यो ।

बुबाको अपार समर्पण
राजकुमार अल वालिदको उपचारमा उनका बुबा राजकुमार खालिद बिन तलालले ठूलो समर्पण देखाएका थिए  । उनले सधैं ‘ईश्वरको चमत्कारले छोराको स्वास्थ्य फर्कन्छ’ भन्ने विश्वास राखे ।

परिवारले समय–समयमा सार्वजनिक गरेका भिडियोहरूमा अल वालिदले कुरान पाठको ध्वनीमा केही शारीरिक प्रतिक्रिया जनाएका देखिएका थिए । यिनै झलकले धेरैको मन छोएका थिए ।

null

निधनपछि देशभर शोक
साउदी अरबको एक विशेष मेडिकल सेन्टरमा उनको निधन भएको जानकारी सार्वजनिक भएपछि ‘#SleepingPrince’ ह्यासट्यागसहित हजारौं व्यक्तिले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको निधनले साउदी समाजमा गहिरो भावनात्मक प्रभाव पारेको छ ।

उनको अस्पताल कक्ष नै एक प्रकारको आध्यात्मिक तीर्थस्थलजस्तै बनेको थियो, जहाँ नियमित रूपमा आफन्त, धर्मगुरु र सर्वसाधारणले प्राथना र भेटघाट गरिरहेका हुन्थे ।

राजकुमार अल वालिदको जीवनले केवल एउटा दुर्भाग्यपूर्ण दुर्घटनाको कथा मात्र होइन, एक बुबाको अपार माया, धार्मिक आस्था र परिवारको धैर्यको गहिरो चित्र प्रस्तुत गर्छ । उनको जीवन संघर्षले विश्वभरिका मानिसलाई सहानुभूति र श्रद्धा प्रकट गराउने अवसर दिएको छ ।

उनको निधनसँगै साउदी अरबमा एउटा दुर्लभ, भावनात्मक यात्राको समापन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्