
अघिल्लो दिनसम्म नोकझोकमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकै भेटबाट सौहार्दता सन्देश प्रवाह गरेका छन् ।
सचिवालय बैठक हुँदै शनिबार टुंगिएको पोलिटब्युरो बैठकपछि एमालेले औपचारिक रूपमा विद्याको पार्टी सदस्यता ‘पेन्डिङ’मा रहेको घोषणा गरेको थियो । तर भोलिपल्टै केन्द्रीय कार्यालय च्यासलमा ओली र भण्डारीबीचको भेटवार्ताको सन्देश अलग भएको देखाउन खोजिएको छ ।
डेढ घण्टासम्म ‘वान टु वान’वार्तापछि दुवै नेता च्यासलको चोटाबाट प्रसन्न मुद्रामा सँगै निस्किए । अनि आफूहरूबीच तीतो नभएको सन्देश प्रवाह गर्ने गरी भर्याङबाट सँगै ओर्लिए ।
बैठकपछि भण्डारीले छोटो कुराकानी मात्रै गर्दा विवादित कुरालाई लम्ब्याउन चाहिनन् । समसामयिक राजनीतिबारे कुराकानी भएको बताइन् । सदस्यता पहिल्यै नवीकरण भएकाले बाँकी काम पार्टीको आधिकारिक च्यानलबाट अघि बढ्ने शान्त जवाफ दिइन् । ‘अध्यक्षसँग राष्ट्रिय राजनीतिबारे कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पार्टी सदस्यता पहिल्यै नवीकरण गरिसकेको छु । अब पार्टीको आधिकारिक च्यानलबाट बाँकी काम अघि बढ्छ ।’
भण्डारी सकेसम्म प्रतिक्रिया नदिई बाहिरिने मुडमा थिइन् । तर सञ्चारकर्मीले घेरेपछि उनी प्रतिक्रियाका लागि बाध्य भइन् । अनि महासचिव शंकर पोखरेलतिर फर्किएर बोल्ने इसारा पाएपछि छोटो प्रतिक्रिया दिइन् ।
भण्डारीले छोटो बोले पनि संस्थापनका तर्फबाट पोखरेलले कुनै प्रतिक्रिया दिन आवश्यक ठानेनन् । विषयलाई थप किचलोतिर लम्ब्याउन नहुने गरी पोखरेल प्रस्तुत भए ।
भण्डारीको छोटो प्रतिक्रिया बाहेक दुवै पक्षबाट छलफलका अन्य आधिकारिक विषय बाहिर आएका छैनन् । अघिल्लो दिनसम्म पार्टी बैठक, नेताका अन्तर्वार्तामा एक अर्काप्रति लाञ्छना र आरोपका श्रृंखला चलाइएको थियो । तर आइतबार भएको छलफलमा दुवै नेताले यी कुरा लुकाएर आफूहरूबीच कुनै तिक्तता नभएको सन्देश प्रवाह गर्न खोजेका हुन् ।
बैठक पूर्व र पछाडि पनि सहजै फोटो शेसन गर्दै मिडियामार्फत दुवैले आफूहरू तिक्ततामा अगाडि नबढ्ने सन्देश दिएका हुन् । बैठक अघि नै ओली र विद्याले यस्तो छनक दिइसकेका थिए । प्रधानमन्त्रीको सचिवालयले बैठक अघि र पछाडिका दुवै क्षणलाई तस्वीरमा कैद गरेको थियो । जुन तस्वीर तत्काल मिडियालाई उपलब्ध गराइएको थियो ।

बैठक अघि ओली र विद्याले यस अघि विवादमा उत्रिएका ६ नेताहरूसँगै सामूहिक तस्वीर खिचाएका थिए । सचिवालय बैठकमा ओलीसँग भिडेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कर्ण थापालाई ओलीले प्राथमिकता दिएका थिए । अर्कोतिर पूर्वराष्ट्रपतिप्रति कटाक्ष गर्दै आएका महासचिव शंकर पोखरेललाई पनि सहभागी गराइएको थियो । सामूहिक तस्वीर खिचाउँदा उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी पनि थिए । सामूहिक तस्वीरपछि ओली र विद्याबीचको हँसिलो अनुहारको फोटो सार्वजनिक गरिएको थियो । बैठकपछि पनि ओली र भण्डारी दुवै प्रसन्न मुद्रामा बैठक स्थलबाट बाहिरिएको र भर्याङबाट ओर्लिँदै गरेको तस्वीर सार्वजनिक भएको छ ।
भण्डारी कुनै विवाद नभएको शैलीमा कूटनीतिक हिसाबले प्रस्तुत भइन् । अर्कोतिर संस्थापनका तर्फबाट कुनै पनि विषयलाई लिएर प्रष्ट दाबी गरिएको छैन ।
भेटवार्तापछि एमाले नेता राजन भट्टराईले मतभेदभन्दा सहमतिमा अघि बढ्न खोजेको सन्देश गएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय पूर्वराष्ट्रपतिज्यूको आजको भेटघाटको निष्कर्ष,’ भट्टराईले लेखेका छन्, ‘हाम्रा दुईका बीचमा मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ सहमतिमा हुन्छ, दरार पार्न खोजेर सम्भव छैन।’
भण्डारी पक्षले तताएको माहोल
ओली र भण्डारीबीच भित्र वार्ता चल्दै गर्दा भण्डारीप्रति नरम नेताहरूले च्यासलमा आफ्नो माहोल बनाउन खोजेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईदेखि स्थायी कमिटी सदस्य कर्ण थापासम्मले भण्डारीको पक्षमा खुलेरै पैरवी गरे ।
दुई वर्ष अगाडि नै पार्टीले भण्डारीको सदस्यता नवीकरण भएको दाबी उनीहरूको थियो । महासचिव पोखरेलले सचिवालय बैठकमै यो कुराको जानकारी गराएको र अध्यक्षको पनि प्रष्ट जानकारीमा रहेको प्रतिक्रिया यी चारै जना नेताले दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीसँग सल्लाह गरेरै भण्डारी एमालेमा सक्रिय हुन खोजेको प्रस्ट्याए । ‘भण्डारी सल्लाह गरेर कसरी आउने भनेर लाग्नुभएको हो । उहाँको पार्टी सदस्यता, आउने विषयमा छलफल गर्ने भनेर निर्णय गरेका थियौं । त्यही विषयमा छलफल भएको हो,’ पोखरेलले भनेका थिए ।
सदस्यता नवीकरणको विषयलाई महासचिवले नै आधिकारिता दिइसकेपछि अहिले आएर विवाद गर्नुको अर्थ नरहेको उनले बताए । ‘महासचिवले नै आधिकारिक रूपमा सदस्यता नवीकरण भइसकेको बताउनुभएको छ । अध्यक्षले केही भन्नुभएको छैन,’ पोखरेलले भने, ‘एक वर्ष गोप्य, राखिएको पनि होइन । असमझदारी छैन । आउँदा कुन किसिमले आउने भनेर छलफल भएको हो ।’
उपाध्यक्ष पाण्डेले भण्डारीको सदस्यता नवीकरण भएको विषयलाई अध्यक्ष ओलीले स्वीकारेका बताए । ‘दुई वर्ष अघि नै पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरेको छु भन्नुभएको थियो । एक वर्ष अघि नै सचिवालय बैठकमा महासचिवले पार्टी बैठकमा उहाँले नवीकरण गर्नुभएको भन्नुभएको थियो,’ पाण्डेले भनेका थिए, ‘अध्यक्षले पनि त्यसमा सहमति जनाउनुभएको थियो । नवीकरण विषयमा पहिले नै प्रश्न उठेन त्यसैले अहिले बाहिर विवाद गर्नुभन्दा भित्रै बसेर सहमति गर्नुपर्छ ।’

भण्डारीको पक्षमा पैरवी गर्दै आएका कर्ण थापाले अघिल्लो वर्ष र यसवर्ष गरी दुवैपटक भण्डारीको सदस्यता नवीकरण भइसकेको बताए ।
सचिव योगेश भट्टराईले सदस्यता प्राविधिक विषय रहेको भन्दै समस्या आए पनि नेताहरूले सहमतिमा समाधान गर्ने सन्देश दिएको बताए । ‘सदस्यताको विषय प्राविधिक हो । मुख्य कुरा राजनीतिक विषय नै हो । यसैले छलफल गरेर उपयुक्त निकास निकाल्नुपर्छ भनेरै दुवै नेता संवादमा जुट्नुभएको हो,’ भट्टराईले भने, ‘पूर्वराष्ट्रपतिले राजनीतिमा फर्किएर भूमिका खेल्छु भनेपछि भेटघाट गरेर समस्या समाधान गर्न खोजिएको प्रयत्नको रूपमा यो भेटघाटलाई लिनुपर्छ ।’
पोलिटब्युरो बैठकपछि शनिबार प्रवक्ता एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता पेन्डिङमा रहेको दाबी गरेका थिए । तर यो विषयलाई पार्टीले आवश्यक छलफल गरी टुंग्याउने बताएका थिए । ‘उहाँको सदस्यता नवीकरण पेन्डिङको अवस्थामा छ । पार्टी विधानको धारा ८, धारा ९ आकर्षित भएको छ । यो धाराको व्याख्या ठूलो फोरमबाट गरेर उचित निर्णय लिन्छौं । केन्द्रीय समितिबाट निर्णय लिन्छौं । तर, अहिले स्थगन छ भन्ने हो,' गौतमले भनेका थिए, ‘अधिकांश सदस्यले सेनाको परमाधिपति, संविधानको पालक राजनीतिमा आउनु गम्भीर हुने कुरा उठाउनुभएको छ ।’
अघिल्लो दिनको बैठकपछि कठोर बन्न खोजिएको विषयमा भोलिपल्टै संस्थापन पक्षले नरम नीति लिएको हो ।
पार्टी बैठकमा नेताहरूले संवादबाटै विवाद टुंग्याउन दिएको सुझावलाई ओलीले स्वीकारेका हुन् ।

ओलीको फेरि एकपटक अध्यक्ष बनेरै छाड्ने र भण्डारीको पनि आँखा अध्यक्षमै रहेको देखिन्छ । यो विषयलाई दुई नेताले कसरी मिलाउँछन् भन्ने अहिले नै प्रष्ट भइसकेको छैन । सम्मानित राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा आउने कुराले गणतन्त्रलाई नै कमजोर पार्ने तर्क ओली पक्षधरले गर्दै आएको छ । तत्काल संवादको थालनी गरे पनि यी कुराको निरुपण भइसकेको छैन । ७ वर्ष राष्ट्रपति भएकी भण्डारीले असार १४ गते एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । त्यसयता उनको पक्ष र विपक्षमा एमालेका नेता ध्रुवीकरणमा लागेका छन् ।
ओलीले केन्द्रीय कमिटी बैठक अघि भण्डारीसँगै छलफल गरेका हुन् । भोलिदेखि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुने विधान महाधिवेशनमा भण्डारीको सहभागिता कसरी हुने भन्ने अझै टुंगो लागेको छैन ।
संस्थापन निकट स्रोत पोलिटब्युरो बैठकको समापनतिर आइपुग्दा भण्डारी पक्ष पनि रक्षात्मक भएको दाबी गर्छ । ‘आफैंमाथि समस्या खडा भएपछि कर्ण थापाको स्टाटसले उनीहरू नरम हुँदैछन् भन्ने देखाउँछ,’ संस्थापन निकट स्रोतले भन्यो, ‘विचार राखेको आधारमा पक्षपात गर्नुहुन्न भनेर अध्यक्षप्रति नरम हुनु भनेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपतिको हकमा कुनै निर्णय हुँदैन भन्ने सन्देश हो ।’