
अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम- पलेँटीमा यस पटक प्रसिद्ध सङ्गीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुने भएका छन् ।
यही महिनाको अन्तिम शुक्रबार र शनिबार (२५ र २६ तारिख) आयोजना हुने कार्यक्रममा न्ह्यूलाई बानिका प्रधानको गायनले साथ दिनेछ ।
पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले शुरू भएको साङ्गीतिक कार्यक्रम हो । जुलाई महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार न्ह्यू बज्राचार्य र बानिका प्रधान पलेँटी टिमसँग अभ्यासमा धमाधम जुटिरहेका छन् ।
न्ह्यू बज्राचार्य नेपाली साङ्गीतिक जगतका श्रोता, दर्शकबीच स्थापित नाम हो । उनले धुन भरेका अनेकौं गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् ।
खासगरी बज्राचार्यले धुन भरेका- ‘फूलको आँखामा’, ‘नआऊ सपनाभरि’, ‘अरबौं मान्छेरूमा’, ‘लैजा चरी’, ‘सयथरि बाजा’ लगायत अनेकौं गीतलाई नेपाली श्रोता जगतले अत्यधिक रुचाएका छन् ।
नेपाली गायनकी अग्रज स्वर-शिल्पी अरुणा लामाले गाएको ‘यो मन त तलाउ हो’लाई पनि बज्राचार्यले धुन भरेका हुन् । बज्राचार्यसँग गायक बच्चु कैलाशका निम्ति सङ्गीत रचेको अनुभव समेत रहेको छ ।
यसपालिको पलेँटीबारे कार्यक्रम संयोजन गर्दै आएका सङ्गीतकार आभास भन्छन्- ‘न्ह्यू बज्राचार्य नेपाली सङ्गीतमा लामो समयदेखि क्रियाशील सिद्धहस्त सङ्गीतकार हुन् । उनका सृजनाले नेपाली सङ्गीतमा भिन्दै स्वाद स्थापित गरेका छन् । लोकप्रिय सर्जक न्ह्यूलाई पलेँटीमा निम्त्याउन पाउँदा मलाई साह्रै आनन्द अनुभूत भएको छ ।’
पहिलोपल्ट पलेँटीमा सहभागी हुँदै गरेका सङ्गीतकार न्ह्यू भन्छन्- ‘नेपाली आधुनिक सङ्गीतलाई अहिलेका श्रोताहरूसँग कनेक्ट गर्ने ब्रिजको रूपमा पाउँछु म पलेँटीलाई । यस मञ्चमा यसपालि हुने मेरो प्रस्तुतिलाई स्मरणीय बनाउन मेरो पूरा कोसिस रहनेछ ।’
यसपालिको पलेँटी सञ्चालनका निम्ति छेउमा बसेर रिहर्सल निहारिरहेका कवि तथा गीतकार विप्लव प्रतीक भन्छन्- ‘कुनै शहर कतिको जीवन्त छ भन्ने कुरा त्यहाँ गुञ्जिने समकालीन सङ्गीतमा पनि निर्भर हुन्छ । त्यस पुण्य कामलाई २० वर्षदेखि निरन्तरता दिइरहेको छ पलेँटीले । मलाई विश्वास छ; यसपालि पलेँटीमा हुने न्ह्यू बज्राचार्यको प्रस्तुति स्मरणीय रहनेछ ।’
पलेँटी टिमसँग पहिलोपल्ट गीत अभ्यास गरिरहेकी बानिका प्रधान भन्छिन्- ‘असंख्य अग्रजहरूले पलेँटी कस्नुभएको यो मञ्चको गरिमा अतुलनीय छ । धेरै पहिलेदेखि यस मञ्चमा गाउने सपना थियो । मसँग पलेँटीको दर्शक भएको अनुभव छ । तर, यसपालि भने आफैंलाई गाउने मौका जुर्यो । साह्रै आनन्दित छु ।’
पलेँटी कार्यक्रम यही जुलाई महिनाको अन्तिम शुक्रबार; २५ र २६ तारिख; शनिबारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमको टिकट अनलाइनबाट नै प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।