३२ असार २०८३, बिहीबार
अन्यायमा एक प्रहरी अधिकृत

बढुवामा विभेद– पछिल्ला ब्याच समेत समेटेर ७ पटक सूची निस्किँदा पनि छुटे डीएसपी थापा

साउन ७, २०८२
काठमाडौं
बढुवामा विभेद– पछिल्ला ब्याच समेत समेटेर ७ पटक सूची निस्किँदा पनि छुटे डीएसपी थापा

प्रहरी उपरीक्षक (एसपी) कोमल शाह अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख छन् । उनी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पूर्व पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) समेत हुन् ।

एसपी सन्तोष तामाङ अहिले जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख छन् । उनी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पीएसओ रूपमा काम गरिरकेका अधिकृत हुन् ।

प्रसंग प्रहरी बढुवाको हो । प्रहरीको सरुवा–बढुवामा हुँदै आएको राजनीतिक प्रभाव यी दुई अधिकृतको बढुवामा  पनि देखिन्छ । तर, कतै भनसुन गर्न नपुगेका डीएसपी वीरेन्द्र थापा भने आफ्नै ब्याचका साथीहरूको सातपटक बढुवा सूची प्रकाशन हुँदा पनि अटाएनन् । थापाकै इन्सपेक्टरका ब्याची शाह र तामाङले अहिले जिल्ला हाँकिरहेका छन् ।

असईबाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०६१ जेठ १५ मा प्रहरी निरीक्षक बनेका थिए । थापालाई डीएसपीमै रोक्ने क्रममा उनमाथिको विगतको एउटा कारबाहीलाई बहाना बनाइरहेको देखिन्छ ।

इन्स्पेक्टर हुँदा २०६२/०६३ मा उनलाई विभागीय कारबाही भएको थियो । तर, त्यो कारबाहीबाट पनि सफाइ पाएर उनी २०७२ मा डीएसपी भइसकेका थिए ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थापा हालै (साउन ५) को बढुवा सूचीको प्रतिस्पर्धामा तेस्रो नम्बरमा थिए । तर, पनि उनलाई छुटाइयो । बढुवामा छुट्नेमध्येका उनी आफ्नो ब्याचका एक्ला डीएसपी हुन् । जबकि २०६२ मा इन्स्पेक्टरमा भर्ना भएकाहरू एसपी भइसके ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवामा छुटेका थापाकै ब्याचीहरू तीन वर्ष पहिला (२०७९ साउन ७) नै एसपी भइसकेका छन् ।

ती भाग्यमानी एसपीमध्येका एक हाल काभ्रेमा प्रहरी प्रमुखको रूपमा काम गरिरहेका शाह पनि हुन् ।

शाहसँगै त्यतिबेला नरेशराज सुवेदी, भरतबहादुर बिक, सुधीरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्धि बज्राचार्य, माधवप्रसाद बुढाथोकी, गौतम मिश्र, मोहन कुमार थापासहित १५ जना एसपीमा बढुवा भएका थिए । बढुवा भएकामध्ये अधिकांश जिल्ला इन्चार्ज बसिसकेका छन् ।

सुवेदीले प्रदेश ट्राफिक कार्यालय बागमती, बिकले रुपन्देही, शाहले बर्दिया र अहिले सुर्खेत, आचार्यले पूर्वी नवलपरासी, मिश्रले चितवन र पर्सा तथा थापाले कास्कीको जिम्मेवारी पाएर काम गरिसके ।

डीएसपी थापाकै ब्याचीको अर्को लटमा बढुवा सूची निस्कियो, २०८० जेठ ६ गते । त्यतिबेला वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायण चिमोरिया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिकराम शर्मा, हरिहर नाथ योगी, गोविन्द राज काफ्ले, नरेन्द्र चन्द, राजन भुजेलको बढुवा निस्किएको थियो । बढुवा भएकामध्येका केसी, रिमाल, योगी, काफ्लेले जिल्ला चलाइसके ।

थापाकै ब्याचबाट अर्को लटको पनि सूची निस्कियो, २०८० चैत २१ मा । त्यतिबेला डीएसपीहरू क्रमश: ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे एसपीमा बढुवा भए ।

यीमध्धे खतिवडाले सप्तरी, तामाङले बारा, ओलियाले कास्की, भट्टले कपिलवस्तु, लिम्बूले झापाको इञ्चार्ज सम्हालिसके । तर, थापाको नाम त्यतिबेला पनि बढुवा सूचीमा अटाइएन ।

२०८१ जेठ २५ मा चारजनाका बढुवा सूची निस्कियो । डीएसपीहरू प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एक नारायण कोइरालाको एसपीमा बढुवा भएको थियो ।

यो लटपछि एकैपटक २०८१ माघ १७ कुलदीप चन्दसहित ३७ जनाको एसपीमा बढुवा भयो । ३७ जनाको नाम बढुवा सूचीमा अटाउँदा डीएसपी थापालाई पाखा लगाइयो । उनले कतै भनसुन गर्न गएनन् ।

प्रहरी प्रधान कार्यालयले यही साउन ५ गते ११ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गर्‍यो ।

डीएसपीहरू अनिलकुमार खड्का, महेश थापा, दीपेन्द्र पञ्जियार, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का बढुवा सिफारिस सूचीमा अटाउँदा थापालाई पाखा लगाइयो ।

थापाले आफ्नो नाम छुटेपछि प्रहरी महानिरीक्षक दीपक थापालाई पनि सोधेका थिए । महानिरीक्षक थापाले ‘तिमी कारबाहीमा परेको भन्दै बढुवा गर्न दिएनन्, मलाई अप्ठ्यारोमा पारे,’ भनेर जवाफ दिएको स्रोत बताउँछ ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले विगतमा कुनै कारबाही भोगेको वा अन्य कुनै कारणले थापाको बढुवा रोकिएको हुनसक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्