बङ्गलादेश प्रहरीले बिहीबार देशका पूर्वप्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ ।
डिटेक्टिभ शाखा (डीबी) प्रहरीको टोलीले उनलाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर निवासबाट पक्राउ गरेको हो ।
डीबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका छन् । 'हो, हामीले उहाँलाई पक्राउ गरेका छौं,' इस्लामले भने, 'उहाँविरुद्ध तीनवटा मुद्दा छन् ।'
खैरुल हकले बङ्गलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा सेवा गरेका थिए । अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन गरेको आरोप लगाउँदै शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गरेका थिए ।
यसअघि १५ अगस्टमा नारायणगञ्जको फतुल्ला प्रहरी चौकीमा अर्को मुद्दा दर्ता भएको थियो । फतुल्ला थाना बिएनपीका महासचिव तथा नारायणगञ्ज जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्ष अब्दुल बारी भुइयाँले मुद्दा दायर गरेका थिए ।
खैरुलले सन् २०१० अक्टोबर १ देखि सन् २०११ मे १७ सम्म बङ्गलादेशको प्रधानन्यायाधीशका रूपमा सेवा गरेका थिए । सन् २०११ मेमा उनको नेतृत्वमा पुनरावेदन बेन्चले विवादास्पद फैसला सुनाउँदै १३औँ संशोधनलाई असंवैधानिक घोषणा गरेको थियो ।
बिडीन्युजका अनुसार यसले राष्ट्रिय चुनावको निरीक्षण गर्न प्रयोग गरिएको कार्यवाहक प्रणालीलाई प्रभावकारी रूपमा अन्त्य गरेको थियो ।
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेवा गरेका राजनीतिज्ञ, अर्थशास्त्री, शीर्ष निर्वाचन अधिकारी, नौकरशाह र प्रहरीसहित विभिन्न स्तरका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।
गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिना अपदस्थ भएकी थिइन् । उनको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।