०२ साउन २०८३, शनिबार

भैरहवा भन्सारबाट २० अर्ब ९२ करोडको निर्यात, भटमासको तेल सबैभन्दा बढी

साउन ९, २०८२
बुटवल
भैरहवा भन्सारबाट २० अर्ब ९२ करोडको निर्यात, भटमासको तेल सबैभन्दा बढी

​रुपन्देहीको बेलहिया नाका भएर भारतसहित तेस्रो मुलुकमा हुने वैदेशिक व्यापार ५३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा भैरहवा भन्सार कार्यालयबाट २० अर्ब ९२ करोड बराबरको निर्यात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा बेलहिया नाका हुँदै १३ अर्ब ६८ करोडको भएको थियो । बेलहिया नाका हुँदै गत आर्थिक वर्षमा आयात भने, २ खर्ब ६३ अर्बको भएको छ । यो अंकको आयात निर्यात हालसम्मकै धेरै हो । बेलहिया नाकाबाट प्रशोधित तेलको निर्यात उच्च देखिएको छ । 

यस्तै आव ०७९/०८० मा १० अर्ब ७० करोड ९१ लाख र आव ०७८/०७९ मा ७ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए । आयात परिमाणका दृष्टिले बेलहिया मुलुकको दोस्रो ठूलो भन्सार नाका हो ।

अघिल्लो आर्थिक वर्षसम्म सबैभन्दा बढी भारत तथा तेस्रो मुलुकमा निर्यात हुने वस्तुमा सेन्थेटिक यार्न (धागो) रहने गरेकोमा अहिले प्रशोधित तेलले त्यो स्थान ओगटेको छ ।

गत वर्ष भटमासको प्रशोधित तेल सबैभन्दा बढी निर्यात हुने १० वस्तुको सूचीमा १ नम्बरमा रहेको छ ।

अघिल्लो आवमा प्रशोधित तेल भारत निकासी भएको थिएन । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बेलहिया नाकाबाट गत आर्थिक वर्षमा ६ अर्ब ९८ करोड १७ लाख ७५ हजारको भटमासको प्रशोधित तेल निर्यात भएको छ भने ४४ करोड ११ लाख ९२ हजार बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ ।

भटमासको प्रशोधित तेल ३ करोड ५१ लाख ६९ हजार ३४१ लिटर तथा सूर्यमुखी प्रशोधित तेल २४ लाख १५ हजार ३०२ लिटर निर्यात भएको छ ।

रुपन्देहीका २ तथा नवलपरासीको एक गरी ३ उद्योगले तेल निर्यात गर्दै आएका छन् । विगतमा नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको भए पनि विक्रम संवत् २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो ।

त्यसयता भटमास र सूर्यमुखी तेलको निर्यात बढ्दै गएको देखिएको छ । यस्तै गत आर्थिक वर्षमा सेन्थेटिक यार्नको निर्यात दोस्रो नम्बरमा छ भने तेस्रो नम्बरमा सिमेन्ट खैरो निर्यात भएको छ । एक वर्षमा ३ अर्ब ४९  करोड ९२ लाख ६२ हजारको सेन्थेटिक यार्न निर्यात भएको छ ।

सेन्थेटिक यार्न नेपालबाट भारत तथा टर्कीलगायतका मुलुकमा निर्यात हुँदै आएको छ । यस्तै १ अर्ब ४७ करोड ८ लाख ३७ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततर्फ निर्यात हुन थालेपछि यहाँका उद्योगीहरू उत्साहित भएका छन् ।

अर्घाखाँची, जगदम्बा, पाल्पा, शुभश्री तथा सर्वोत्तम सिमेन्टले आफ्ना उत्पादन भारततर्फ निर्यात गरिरहेका छन् । तर, भारतले सिमेन्ट निर्यातका लागि बीआईए (ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डस्)बाट गुणस्तर प्रमाणपत्र अनिवार्य गरेर निकासीमा कडाइ गरेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार गत आर्थिक वर्षमा २ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँका विभिन्न सामान आयात भएको थियो । यो अघिल्लो वर्ष भन्दा ८.७२ प्रतिशतले बढी हो । यस्तै अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा २ खर्ब ४२ अर्ब ६६ करोड बराबरको वस्तु आयात भएको थियो ।

बेलहिया नाका हुँदै नेपालमा सबैभन्दा बढी आयात हुने १० वस्तुहरूमा सबै प्रकारका मोटरसाइकल, जीप, कार भ्यानहरू, पेट्रोल, विद्युत्‌बाट सञ्चालित जीप, कार भ्यान, शुद्ध फलाम (स्पोन्ज/फेरेस आइरन), डबल क्याब पीकअप गाडी, मोबाइल टेलिफोन सेट, एमएस बिलेट, चकलेट, एलपी ग्यास रहेका छन् ।

गत आर्थिक वर्षमा मोटरसाइकल (सबै प्रकारका) आयात सबैभन्दा धेरै रहेको छ । मोटरसाइकल मात्र १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

एक वर्षमा १ लाख ४४ हजार १९४ वटा मोटरसाइकल बेलहिया नाका हुँदै नेपाल भित्रिएको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष मोटरसाइकलको आयात बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्