३२ असार २०८३, बिहीबार

मुम्बई-पुणे एक्सप्रेसवेमा भीषण सवारी दुर्घटना: १८-२० सवारी साधन आपसमा ठोक्किए, ५ किलोमिटरसम्म जाम

साउन १०, २०८२
काठमाडौं
मुम्बई-पुणे एक्सप्रेसवेमा भीषण सवारी दुर्घटना: १८-२० सवारी साधन आपसमा ठोक्किए, ५ किलोमिटरसम्म जाम

मुम्बई-पुणे एक्सप्रेसवेमा शनिबार दिउँसो भएको भीषण सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने अन्य १८ जना घाइते भएका छन् । तीव्र गतिमा आएको कन्टेनर ट्रकले १८ देखि २० वटा सवारी साधनलाई एकपछि अर्को गर्दै ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना रायगढ जिल्लाको खालापुर तहसील अन्तर्गतको खोपोली इलाकास्थित आदोशी सुरुङ नजिक भएको भारतीय समाचार संस्था पीटीआईले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

एक प्रहरी अधिकृतका अनुसार, ट्रकको ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाउँदा बीएमडब्ल्यू, मर्सिडीजलगायतका लक्जरी गाडीसमेत कम्तीमा २० वटा सवारी साधनमा ठक्कर दिएको थियो । 

दुर्घटनामा १९ जना गम्भीर घाइते भएका थिए । घाइतेलाई नवी मुम्बईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रक चालकलाई खोपोली प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणमा चालकले मादक पदार्थ प्रयोग नगरेको पुष्टि भएको छ । घटनासम्बन्धी मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान भइरहेको छ ।

यो दुर्घटना लोनावला–खण्डाला घाट खण्डको ओरालो पार गरेपछि डेट्टा फूड मल नजिक एक्सप्रेसवेमा भएको हो । ट्रक तीव्र गतिमा रहेको र ब्रेक फेल भएपछि अगाडिको गाडीमा ठोक्किँदै लस्करै सवारी ठोक्किएको बताइएको छ ।

भारतकै व्यस्त एक्सप्रेसवे मध्ये एक मानिने यो सडकमा दैनिक १.५ देखि २ लाख सवारीसाधन गुड्ने गर्छन्, जुन संख्या सप्ताहन्तमा अझ बढ्ने गर्दछ ।

दुर्घटनापछि झन्डै पाँच किलोमिटर लामो जाम लाग्दा सयौं सवारी साधन अलपत्र परेका थिए । कम्तीमा तीनवटा गाडी पूर्णरूपमा कुच्चिएका छन् भने अन्य धेरै गाडी गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । धेरै यात्रुहरू गम्भीर घाइते भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्