
नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारबारे नयाँ प्रस्ताव अगाडि सारेका छन् ।
सात पूर्वपदाधिकारीको तर्फबाट पटक–पटक बैठक बस्दै आएका नेतामध्येका सिटौलाले ७ नेता बाहिरबाट पनि सभापतिको उम्मेदवार प्रस्ताव गर्न सक्ने बताएका हुन् ।
‘परिस्थिति आएपछि निर्णय गर्छौं । हामी ७ मध्येको कोही उठ्छौं, अथवा कसैलाई समर्थन गर्नुपरे हामी मिलेरै समर्थन गर्छौं । के को आपत्ति छ र, के को हतार छ ?,’ आइतबार पत्रकार सम्मेलन गर्दै सिटौलाले भने, ‘हामी बस्छौं, सल्लाह गर्छौं, सभापतिलाई भन्छौं । के बिग्रेको छ र ? यसले पार्टीलाई फाइदा गर्छ । सभापतिलाई पनि फाइदा हुन्छ ।’
आपसमा सहमति जुटाउन अप्ठ्यारो नभएको उनको प्रस्टोक्ति थियो ।
यसअघि आफूहरूमध्येबाटै सभापतिको नाम अगाडि सार्न यो समूहले सभापति शेरबहादुर देउवालाई दबाब दिएको थियो । तर, सभापतिमा ७ भाइमध्ये सबै नेताको दाबेदारी नभएको सन्देश सिटौलाले दिएका हुन् ।
सिटौलाले आफूले अहिलेसम्म सभापतिमा दाबेदारी नगरेको पनि प्रस्ट्याए ।
‘महाधिवेशनमा म के गर्छु भनेर पनि टुंगो लगाइकेको छैन । बोलाएरै तपाईंहरूलाई भन्छु,’ सिटौलाले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रिय सभामा आएको एक वर्ष भयो । रहर गरेर आएको पनि होइन । पार्टीमा आवश्यक सल्लाह गरेर मात्रै अघि बढछौं ।’
विभिन्न कालखण्डमा विशेष भूमिका रहेकाले ७ नेता संगठित भएको उनको भनाइ छ । राष्ट्रिय राजनीति र आन्तरिक संगठनमा पनि सात नेताको प्रभावशाली भूमिका रहेको दाबी उनले गरे ।
‘परिस्थितिले हाम्रो विशेष भूमिका रह्यो । पदमा बसेर वा नबसेर हामीले भूमिका खेलेका छौं । उपसभापति, महामन्त्री, संविधान निर्माण नेपालको प्रक्रियालाई यहाँसम्म ल्याउन हाम्रो नेतृत्वदायी भूमिका रहेको छ,’ सिटौलाले भने, ‘व्यवहार, संगठन परिचालन, पार्टी सरकारमा भूमिका रहेको छ । यही भूमिका र अनुभवले पनि पार्टीलाई फाइदा हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’
सभापति साझा भएको र अब दाबेदारी नरहने भएकाले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने सिटौलाको भनाइ छ । ‘सभापतिले टोटल कांग्रेसलाई नेतृत्व गर्नुभएको छ । त्यसैले हिजो महाधिवेशनमा समर्थन गर्ने हामीहरूले समर्थन गर्नु नेचुरल कुरा नै हो,’ सिटौलाले भने, ‘महाधिवेशन नजिक आउँदा उहाँको विचार पनि भेन्टिलेट होला । सबै पदाधिकारी, नेताहरूलाई मिलाए लानुपर्छ भन्नेमा छौं ।’
पछिल्लो समय कांग्रेसका पूर्व पदाधिकारीहरूमा उपसभापति भइसकेका विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, महामन्त्री भएका सिटौला, डा. शशांक कोइराला र सह–महामन्त्री भएका डा. प्रकाशशरण महतले आलोपालो छलफल गर्दै आएका छन् । शशांकले मात्रै सभापतिमा अहिलेसम्म उम्मेदवारी दिएका छैनन् ।
आलोपालो छलफल गर्दै आएका नेताहरूले आफूहरूमध्येबाटै सभापतिमा एक जनालाई अगाडि सार्न माग गर्दै आएका छन् । तर, आइतबार सञ्चारकर्मीलाई बोलाएर सिटौलाले ७ नेताभन्दा बाहिर जान पनि तयार रहेको प्रस्टै बताएका हुन् ।
सिटौला १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका थिए । दोस्रो चरणमा सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए । १५ औं महाधिवेशनमा सिटौलाले आफ्नो तर्फबाट महामन्त्रीमा प्रदीप पौडेललाई संस्थापनको उम्मेदवार बनाए । बदलामा देउवालाई समर्थन गरे । निधि र सिंह १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिसँगै भिडे । तर, दोस्रो चरणमा सभापतिमा देउवालाई निधि र सिंहको समर्थन रहन पुग्यो, जसका कारण देउवा डा. शेखर कोइरालालाई पराजित गर्दै दोस्रोपटक सभापति जित्न सफल भए ।
अब हुने १५ औं महाधिवेशनमा देउवा विधानतः: सभापतिको उम्मेदवार बन्न मिल्दैन । यसैले ७ नेतामध्येको कुनै एक, उपसभापति पूर्णबहादुर खड्का, गगन थापा र डा. शेखर कोइराला को–को सभापतिको उम्मेदवार बन्छन् भन्ने टुंगो छैन । कोइराला र थापाले आफूहरू प्रतिस्पर्धामा उत्रिसकेको सन्देश दिँदै आएका छन् । संस्थापनमा भने अझै उम्मेदवारको सकस छ ।
सिटौलाको ७ नेताभन्दा बाहिर पनि जान सक्ने सन्देशले कांग्रेस महाधिवेशनको समीकरण नै फेरिन सक्ने देखिन्छ । २०७८ पछि अब चार वर्षमा २०८२ मा महाधिवेशन हुनुपर्ने हो । तर, विधानले एक वर्ष र संविधानले अर्को ६ महिना समय थप्ने सुविधा पार्टी नेतृत्वलाई दिएको छ । यस्तोमा २०८३ दशैंको आसपास १५ औं महाधिवेशन गर्नुपर्ने सिटौला बताउँछन् ।
‘कांग्रेसमा चार वर्षमा कहिल्यै महाधिवेशन भएको छैन । यसैले ८३ दशैंको सेरोफेरोमा महाधिवेशन गर्नुपर्छ,’ सिटौलाले भने, ‘२०८३ मंसिरभन्दा उता महाधिवेशन गर्न हुँदैन ।’
सरकारको निरन्तरताको पक्षमा सिटौला
यसैबीच, नेता सिटौलाले अहिलेको सरकारको विकल्पमा अर्को सरकार बन्नै नसक्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै सिटौलाले अर्को सरकार बन्ने विकल्प नै नभएको बताएका हुन् ।
‘सरकारले अपेक्षाअनुसार काम गर्न सकेको छैन । तर, सरकार निरन्तर जान्छ । अर्को विकल्पबाट सरकार बन्न सक्दैन । अर्को सरकारको विकल्प र परिस्थिति छैन,’ सिटौलाले भने, ‘जे सम्झौता भएको छ, त्यो पूरा हुन्छ । मेरो बुझाइ यही हो ।’
यद्यपि सरकारले प्रभावकारी काम गर्न नसकेको र कांग्रेसका मन्त्रीको कार्यसम्पादन पनि कमजोर रहेको सिटौलाको भनाइ छ । पछिल्लो बैठक सरकारमा सहभागी कांग्रेसका मन्त्रीको कार्यसम्पादनमा केन्द्रित भएको जानकारी सिटौलाले दिए ।
‘प्रकाशमान सिंहको घरमा राष्ट्रिय राजनीतिको विषयमा बढी छलफल गर्यौं । हाम्रो पार्टीका मन्त्रीले संयुक्त सरकारमा राम्रोसँग काम गर्नुपर्छ भन्दै आएका छौं । यसबारे सभापतिमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने हाम्रो मुख्य उद्देश्य हो,’ सिटौलाले भने । संविधान कार्यान्वयन, समीक्षा र संशोधन हुने प्रक्रियामा प्रवेश गर्नुपर्ने सिटौलाले बताए ।