
जग्गाको विषयलाई लिएर जंगे सार्की र जमुना नेपालीबीच बेलाबेला विवाद भइरहन्थ्यो । यो विवाद पछिल्लो समय चर्काचर्की र झगडा परिणत भएको थियो । जंगे जग्गा बेच्नुपर्ने पक्षमा थिए भने जमुना जग्गा नबेच्ने अडानमा थिइन् । पोखरा २७ रिट्ठेपानी शान्ति खहरे टोलस्थित सुकुम्बासी टोलमा अस्थायी छाप्रो बनाएर बस्नै आएका उनीहरूको विवाद हत्यासम्म पुगेर टुंगिएको छ ।
साउन ६ गते साँझ सधैं झैं दैनिक मजदुरी सकेर जंगे घर फर्किए । सामान्य वादविवाद हुनु उनीहरूको दैनिकी नै भइसकेको थियो । त्यो साँझ पनि शुरूमा उनीहरूबीच जग्गाको विषयमा विवाद र चर्काचर्की भयो ।
विवाद हुँदाहुँदै पनि उनीहरूले खाना खाए । खाना खाइसकेपछि जंगेले एक गिलास रक्सी खाए । श्रीमान् श्रीमतीबीच जग्गाको विषयमा कुराकानी भयो । तर यो पटकको उनीहरूको विवाद विगतको जस्तो बनेन ।
मदिरा सेवन गरेका जंगेले झगडालाई थप बल्झाए । जग्गा नबेच्ने आफ्नो अडानबाट जमुना पनि पछाडि हटिनन् । त्यो झगडा हातपातमा बदलियो । जंगेले जमुनामाथि दुई मुक्का प्रहार गरे । मदिरा सेवन गरेका उनले जमुनालाई भित्तामा ठोक्काए । जमुनाले त्यहीँ होस् गुमाइन् । जंगे घरबाहिर रहेको आफ्नै टिनको टहरमा सुत्न गए ।
त्यसको भोलिपल्ट जंगे विगतका दिनमा जस्तै सामान्य रूपमा प्रस्तुत भए । छिमेकी घरमा गएर चिया पिए । ठेकेदारसँग पैसा लिन रहेको बताउँदै छिमेकीको घरबाट शिशुवा तर्फ मोडिए । दिनभर उनी शिशुवामा नै ठेकेदारलाई भेट्न कुरेर बसे । तर उनको ठेकेदारसँग भेट भएन । साँझ घर फर्किए । खाना बनाए । आरामले खाए ।
साउन ८ गते बिहान उठेर मामा पर्ने छिमेकीकोमा गए । चिया पिए, अघिल्लो दिन जस्तै । अनि, ठेकेदार भेट्न शिशुवा पुगे । त्यतिन्जेलसम्म पनि उनले श्रीमतीबारे केही चासो गरेनन् ।
सोही दिन साँझ ५ बजेतिर स्थानीयबाट प्रहरीलाई खबर पुग्यो- जंगेको घरबाट गन्ध आएको । प्रहरी पुग्दा दुर्गन्ध आइरहेको अवस्थामा जमुनाको शव भेटियो । प्रहरीले जंगेलाई सोही दिन पक्राउ गर्यो । कास्की प्रहरी कार्यालय प्रमुख श्यामबाबु ओलीयाका अनुसार जमुनाको मृत्युको मुख्य कारण उनको टाउकाको चोट रहेको पाइएको छ ।
‘प्रहरी पुग्दा शवबाट दुर्गन्ध आइरहेको थियो । हामीले शवलाई पोस्टमार्टमका लागि पठायौं । रिपोर्टमा टाउकोमा गहिरो चोटका कारण मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरी प्रमुख ओलीयाले भने ।
कास्की प्रहरीका अनुसार जंगेलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान स्थायी घर भएका सार्की दम्पती विगत २१ वर्षदेखि सुकुम्बासी टोलमा अस्थायी छाप्रो बनाएर बस्दै आएका थिए ।
प्रहरीका अनुसार जमुना जंगेकी दोस्रो श्रीमती हुन् । पहिलो श्रीमतीले एक वर्षको छोरा छाडेर गएपछि जंगेले जमुनासँग दोस्रो विवाह गरेका थिए । पहिलो श्रीमतीको तर्फको छोरालाई जमुनाले नै हुर्काएकी थिइन् ।