२९ जेठ २०८३, शुक्रबार

घरेलु हिंसाको डरलाग्दो तथ्यांक- कोही बोल्दैनन्, कतै हत्यासम्म !

साउन १३, २०८२
पाेखरा
घरेलु हिंसाको डरलाग्दो तथ्यांक- कोही बोल्दैनन्, कतै हत्यासम्म !

श्रीमानसँग बस्न नसक्ने कुरा बारम्बार बताउँदै आएकी थिइन् कास्कीकी ४० वर्षकी राधिका कुँवरले । श्रीमानबाट छुटकारा पाउनका लागि  उनले प्रहरीदेखि जिल्ला अदालतसम्म धाइन् । आफूमाथि भएको हिंसाबारे बोलिन् । तर पनि राधिकाले न्याय भने पाइनन् । उनले न्यायिक निकायबाट न्याय त पाइनन् नै आफ्नो ज्यान समेत जोगाउन सकिनन् । 

गत वर्ष भदौ २६ गते कार्यालय समय नहुँदै कास्की प्रहरीमा छट्पटिदै पुगेकी थिइन् राधिका । आफ्नो सरसामान लिएर घरबाट निस्कने भन्दै प्रहरीसँग सहयोग माग्न पुगेकी थिइन् उनी । घरबाट सामान निकाल्ने विषय वडासँग जोडिने भएकाले वडासँग पनि सहकार्य गर्न प्रहरीले सुझायो । हतारमा उनी प्रहरी कार्यालयबाट निस्किन् । 

त्यसको केही घण्टापछि प्रहरीमा सूचना पुग्यो- पोखरा महानगरपालिका-८ कुँवर टोलमा श्रीमानले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरे । प्रहरी घटनास्थल पुग्दा रगतको आहालमा थियो कोठा । उनै राधिकालाई श्रीमान जहरसिंह कुँवरले खुकुरी प्रहार गरेका थिए । टाउको र पेटमा चोट लागेकी राधिकालाई पश्चिमाञ्चल अस्पताल पुर्‍याएको केहीबेरमा चिकित्सकले मृत घोषणा गरे ।

राधिकामाथि भएको घरेलु हिंसाले हत्याको रूप लिएको थियो । त्यसअघि उनीहरूबीचको झैझगडा प्रहरीसमक्ष तीनपटक पुगिसकेको थियो । सम्बन्ध विच्छेद गर्न चाहेकी राधिकाले प्रहरीमा उजुरी नदिई सिधै अदालतमा फिराद दिएकी थिइन् । सम्बन्ध विच्छेदको मुद्दामा फैसला आइसकेको थिएन । न्यायिक प्रक्रिया निरूपण नहुँदै उनी आफ्नै श्रीमानबाट मारिइन् । त्यसपछि जहरसिंहविरुद्ध दायर भएको कर्तव्य ज्यान मुद्दामा कास्की अदालतले जेठ ५ गते फैसला गरेको छ । जसको पूर्णपाठ भने आइसकेको छैन । 

घरेलु हिंसाले ठूलो रूप लिँदै ज्यान गुमाउने राधिका एक्ली पात्र होइनन् । देशभर यस्ता कयौं हृदयविदारक घटना हुने गरेका छन् । यसले एकातिर हाम्रो समाजमा महिलाले भोग्नुपरेको हिंसालाई उजागर गरेको छ भने अर्कोतिर न्यायिक निकायले यस्ता हिंसाप्रति गरिरहेको वेवास्ता ढिलासुस्तिमाथि पनि प्रश्न उब्जाइरहेको छ । 

१६ वैशाख २०७५ मा मागी विवाह भएको एक महिनापछि नै पीडित महिलामाथि श्रीमानले कुटपिट गर्न थाले । श्रीमानले उनीमाथि मादक पदार्थ सेवन गरी कुटपिट गर्थे । साथै, सासु, ससुरा, नन्द, सानीमा, सासुले पनि दाइजोको निहुँमा दिनहुँ कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिन्थे । 

उनी चार वर्षसम्म घरेलु हिंसा सहेर बसिन् । २०७९ भदौ २२ गते काठमाडौंमा ती महिलालाई उनको परिवारले कुटपिट गरी घरनिकाला गरे । माइतीको शरणमा पुगेकी उनले जाहेरी दिने निर्णय गरिन् । ८ वैशाख २०८२ मा काठमाडौं अदालतले महिलाको पक्षमा फैसला गर्‍यो ।

पीडितको घाउ जाँच केश फारमले उनीमाथि घरेलु हिंसा भएको प्रस्ट्याउँछ । अदालतले त्यसमा टेकेर अनुज कुमार सिंहलाई दोषी ठहर गर्‍यो । 

‘सासु र ससुराको उमेर अवस्था र शारीरिक स्वास्थ्य अवस्थाले घरेलु हिंसा गर्न सक्ने नदेखिँदा, क्षतिपूर्तिको हक दाबी नपुगे पनि जरिवाना हुने ठहर्छ’, अदालतको फैसलामा भनिएको छ । 

सुर्खेतकी २६ वर्षीया प्रेमा ओलीले चार महिनाअघि श्रीमानसँग भएको खट्पटले ज्यान गुमाइन् । नेपाली सेनामा कार्यरत रहेका दर्शन खत्रीले गत वैशाख २१ गते उनको हत्या गरेका थिए । त्यसकै भोलिपल्ट पोखरामा ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरे । दुईवटा घरबार गरेका बरालले कान्छी श्रीमतीसँग झगडा परेपछि हत्या गरेका थिए । आर्थिक वर्ष २०८०/८१ मा घरेलु हिंसाका कारण देशभर ८१ जनाले ज्यान गुमाएको तथ्यांक छ । 

गुपचुप पीडित, गण्डकीमा घटेको तथ्यांक

केही हप्ता अगाडि शरीरभरि चोट लिएर एक जना पीडित प्रहरी प्रशासन पुगिन् । श्रीमानद्वारा उनी कुटिएकी थिइन् । उनको मनाशय न श्रीमानविरुद्ध जाहेरी दिनु थियो न त श्रीमानसँग छुटिनु नै । श्रीमानबाट पीडित उनी मौन बस्ने निर्णय गरेकी थिइन् । ती महिला प्रतिनिधि पात्र हुन् घरेलु हिंसा विषयमा कानूनी उपचार नखोज्नका लागि । 

जसकारण पनि हुनसक्छ पछिल्लो दुई आर्थिक वर्षमा गण्डकी प्रदेशमा प्रहरीसमक्ष घरेलु हिंसाका घटना कम आउन थालेका छन् । नेपाल प्रहरीको तथ्यांक केलाउँदा गण्डकीमा घरेलु हिंसाका घटना कम भएको देखिन्छ ।

 

सबैभन्दा बढी मधेश प्रदेशमा घरेलु हिंसाका घटना दर्ता भएका छन् । हेर्नुहोस् तथ्यांक :


अधिवक्ता कुन्जनी परियार प्यासी पीडितहरू कानूनी बाटो अपनाउन नचाहने समस्या रहेको बताउँछिन् । 

‘घरेलु हिंसाको घटना गण्डकी प्रदेशमा घटेको देखिए पनि यथार्थमा रिपोर्ट नगर्ने क्रम बढेको हो । घरेलु हिंसाका मुद्दामा मेलमिलापमा जोड दिने प्रचलन छ । मुद्दा चलिहाले पनि सफाइको दर बढी छ । कानूनले मानसिक हिंसालाई पनि घरेलु हिंसा भनेतापनि शरीरमा चोट देखिएन, प्रमाण पुगेन भनेर मानसिक हिंसाको सम्बोधन अदालतले नगरेको थुप्रै उदाहरण छ,’ अधिवक्ता कुन्जनीले भनिन् ।

घरेलु हिंसाको स्वरूपमा पनि परिवर्तन भएको उनको बुझाइ छ । पछिल्लो समय श्रीमानद्वारा श्रीमतीमाथि अनलाइनमार्फत् पनि हिंसा हुने उनले बताइन् । उनका अनुसार गण्डकीमा यस प्रकारको घटना बढ्दो छ । साथै, न्यायमा कार्यान्वयनमा कमजोरी हुँदा पनि घटना दर्तामा नआउने उनले सुनाइन् ।

‘बल्ल बल्ल हिम्मत गरेर सम्बन्धित निकायमा पुग्दा पनि न्याय नपाउने अवस्था छ । अदालतले अन्तरिम संरक्षण आदेश जारी गरे पनि कार्यान्वयन नहुने कारणबाट घरेलु हिंसाका घटना दर्ता नभएका हुन सक्छन्’, उनले भनिन् ।

नेपाल प्रहरीले उपलब्ध गराएको नेपालभरको आठ वर्षको तथ्यांक हेर्दा वर्षेनी घरेलु हिंसाका घटना बढेका देखिन्छ । 

हिंसा पीडित बाहिर नआउँदा राज्यलाई थप चुनौती हुने महिला अधिकारकर्मी बिना सिलवाल बताउँछिन् ।

‘समग्रमा हामीले प्रदेशभित्र गाउँगाउँमा काम गरेर जाँदाखेरि चाहिँ घटेको होइन बढेको जस्तो महसुस हुन्छ । त्यो बढेको छ भने घटना किन बाहिर आएन ? घटना लुकेर छुपेर बसेको बाहिर नआएको हो भने राज्यका लागि ठूलो चुनौतीको विषय हो’, सिलवालले भनिन् । ​​

तीन दशकपछि खुल्न थालेका पीडित

पछिल्लो तीन दशकको तथ्यांक हेर्दा नेपालमा घरेलु हिंसाका घटना बढ्दो छ । यसको अर्थ घरेलु हिंसाका पीडित प्रहरीसामु खुल्न थालेका मान्न सकिने अधिकारकर्मीहरू बताउँछन् । पछिल्लो २९ वर्षको तथ्यांक हेर्दा नेपालमा वर्षेनी हिंसाको दर बढ्दो छ ।

Made with Flourish

 

salt training

कमेन्ट गर्नुहोस्