
यो युग प्रचण्डको युग हो । इतिहास नजान्ने र वर्तमान नमान्ने केही उकेरा हालिएका र टेको लगाइएका कथितहरूले बनाएको भाष्य विभीषिका माथि आज जे छ, त्यो ज्युँदो प्रचण्ड हो । उनी अपत्यारिलो, तर अनिवार्य भविष्यका लामो दुरीवाला परिस्थिति मापक र निर्धारक दुवै हुन् ।
निसन्देह, आज सत्तामा जुनसुकैको पिरति छ, त्यो प्रचण्ड 'मय र भय'को परिणाम हो । प्रचण्ड छन् र काँग्रेसमा झगडा छ । प्रचण्ड छन् र एमालेमा पिरलो छ । राजनीतिमा यसलाई बाध्य परिस्थितिको आवर्तन भनिन्छ । धेरैले भन्छन्- प्रचण्डले रंग फेर्छन् । यो रंग फेराइ मात्र होइन, जब्बर कूटनीतिबाट निर्धारित अब्बल परिणाम पनि हो । यो कहिले को कहिले कोमार्फत चलिरहन्छ ! यो चलिरहनु नै यसको विशेषता हो । क्रान्ति निरन्तरतामा हुन्छ, त्यसरी नै यो निरन्तरतामा छ । यसले संकटको उत्पादन मात्र गर्दैन, तिनको सामनासहित परिस्थिति र अवस्थिति दुवै सकारात्मक ढंगले बदलिदिन्छ । यो जादुभन्दा बेसी प्रचण्ड विज्ञान हो ।
युद्धको अन्त्यतिर काठमाडौंमा छापामार दायित्व बोकेर सडकमा खनिएका गगन, कुन्दन र रामकुमारीहरू प्रचण्ड राजनीतिका उपज थिए । यो अरूको गुँडमा फूल छोडेर आमा बन्ने कोइलीको निखरता मात्र थिएन, बल्कि सुविचारित ढंगले अपनाइएको क्रान्तिकारी प्रयोग थियो । एक प्रकारले राजनीतिक उद्देश्य पूर्तिका लागि गरिएको एक अस्थायी वा करार नियुक्ति । त्यसो त प्रचण्डलाई आउने र जानेहरूको बारे थाहा छ, कुरो यतिमात्र हो, काम भने भइरहनुपर्दछ । समुन्द्रजस्तै विशालदेखि ताराबारको तलाउ आकारसम्म उनी दुबै भएका छन् । तर, यसको अर्थ यो होइन कि उनी समुन्द्रमा फर्किँदैनन् । नेकपा त्यही एक उत्तम आशयको प्रयत्न थियो । त्यो टिकेन । त्यसको अर्थ यो होइन कि यो फेरि बन्दैन । माओको पियानो बजाउने सूत्रमा एक दिन यो फेरि विशाल पार्टीमा बदलिने छ । त्यसो त हिजोका दौंतरी आज खरो प्रतिवादी बनेका छन् । आज कांग्रेस र एमालेमा देखिने प्रचण्ड प्रभाव सानो अवश्य छैन । यो असारको तामा जस्तै पूर्ण गतिमा पुष्टिँदै छ ।
माओवादीको कामीडाँडा बैठकमा नेपाली क्रान्तिको विधिका रूपमा संश्लेषित अन्तरविरोधको सही परिचालनमार्फत क्रान्तिका कार्यभारहरू सम्पादन आजको विज्ञान हो । यो विधि विज्ञान प्रचण्डको दिमागमा हमेसा थियो र छ ।
प्रचण्डको छेउछामा जीवनभरि मनपरी गरेकाहरूले आजकल प्रचण्डलाई बुढो देख्न थालेका छन् । अर्काको घरमा बजेको खैंजडीको तालमा आफ्नो घरको धुरी उप्काउने उत्तेजनाले विछिप्तहरू जति प्रचण्ड जान्दछन्, त्यो भन्दा बेसी विविधताको संयोजन नजानेको भए आज प्रचण्ड गोन्जालो- २ भइसक्थे । टाढाका बस्तीमा प्रचण्ड विगुलसँगै ब्युँझिएका सपनाहरू आज सडकमा अशरल्ल हुन्थे । चुनुवाङले मोडिदिएको क्रान्तिको शिलशिला आज विक्षिप्त छ भन्ने तिनीहरूलाई लागेको भए तिनका नाकमा कलंक हुन्थ्यो र वैरागी भएर तिनीहरू बनारस पुग्थे । तर, त्यसो भएन, प्रचण्ड आज पनि छन् र सही सलामत रहनुको कारणले श्रीपेच पहिरिने मनोसंवादमा रमाएकाहरू सुलसुले प्रचारको झिनो संवादमा कायम छन् ।
चुनुवाङले आजभन्दा २१ वर्षअगाडि भनेको गणतन्त्रको विद्रूपीकरण र गणतन्त्रको समाजवादीकरणको टसल आजको राजनीतिको सार हो । बुर्जुवाहरू र प्रतिगामी एकातिर छन्, क्रान्तिकारीहरू अर्कोतिर । माओले भने झैं, 'गडबडी गरिरहनु तिनको काम हो भने, सधैंका लागि पराजित नगर्ने बेलासम्म लड्नु क्रान्तिकारीको दायित्व हो । यो संघर्ष बाहिर मात्र छैन, पार्टीभित्र पनि छ । पार्टीभित्र यो कहिले केका नाममा, कहिले केका नाममा पुनरावृत्त भइरहन्छ । पात्र फरक होलान्, प्रवृत्ति एउटै हो । त्यसको सार प्रचण्डलाई खुइल्याउनु र सताउनु हो । केही मानिसहरूलाई एक जब्को जमिन सदा र जे गर्दा पनि मेरो भन्ने उत्तेजनाले बिठ्याइँ गर्न उकासेको भए त्यो भ्रम हो ।
समयले भनेको छ, ज्ञानको बुर्ज खलिफा ठानिएकाहरू आफ्ना उत्तेजक निष्कर्षले रोइरहेको र लाज मान्न पनि शर्माइरहेको पृष्ठभूमिमा निकालिएका सबै निष्कर्ष झूट हुन् । निसन्देह यो जनवादको खोज होइन । यो पार्टीको लोकतान्त्रिकरण र विचारको क्रान्तिकारीकरण पनि होइन । प्रचण्ड ब्रान्डलाई कौशीमा सुताएर आजको राजनीतिक जटिलता जित्न सकिँदैन । प्रचण्डलाई पन्छाएर आजका प्रश्नको जवाफ फर्काउन सकिँदैन । नेतृत्व निसन्देह कतिपय ठाउँमा योजनाबद्ध विकास गर्न सकिन्छ, तर रीत नपुगेको फर्जी अर्जीमाथि घोरिनुपर्ने आजको आवश्यकता होइन ।
पार्टी कसले बिगारेको भन्ने प्रश्न आफैँमा बेठीक हो । किनकि यसको अर्थ योभन्दा राम्रा पार्टी छन् भन्ने हुन्छ । र, यो निष्कर्षले पात्रलाई बतुर्याउँछ । बतुर्याउनु भनेको ठेगानाविहीन यात्रा हो । माओवादीको ठेगाना छ । यो समाजवादमा पुग्ने हो । शोषणको समूल अन्त्य गर्ने हो । स्वदेशको उत्पादनमा आधारित बलियो अर्थतन्त्र बनाउने हो । यी ठेगानाहरूको प्राप्ति अन्तरसंघर्षले होइन, वर्ग संघर्षले गराउँछ र यही वर्ग संघर्षले नै नेता जन्माउँछ । असन्तुष्टहरूको हुल जम्मा गरेर, तिनका उत्तेजनालाई आधार मान्नु भनेको पार्टीलाई विघटनको दलदलमा धकेल्नु हो । यो जसले गरोस्, जुन जमिनबाट गरोस्, त्यो क्रान्तिकारी हेडक्वार्टरमाथिको आक्रमण हो । त्यो आक्रमणले रमाउने भनेको प्रतिक्रियावाद हो । त्यसैले यो दण्डनीय छ ।
पार्टीका धेरै अभियानहरू भए । संगठनको सर्वेसर्वा रहने पद कुन ठाउँमा पुग्यो ? कुन ठाउँमा संगठनलाई संयोजित गर्यो । कुन ठाउँको अन्तर विरोध हल गर्यो ? शायद त्यो पदले त्यस्तो कुनै अन्तरविरोधको हल वा समाधान गरेन । आन्तरिक प्रतिस्पर्धाको दुहाइ दिएर निर्वाचनमा हारेकासँगको भोजले लोकतान्त्रिक विधिको खिल्ली उडायो । जितेकासँग हात नमिलाएर हारेकाहरूको बहादुरीलाई धाप मार्न हतारो गर्यो । यो कुन तरिका हो? लेनिनवादी संगठन सञ्चालनको कुन बुँदाको कुन विधि हो, जसले पराजितहरू उभ्याएर आफ्नो छाप हान्ने रोइलो जन्मायो ।
यतिबेला सत्ता प्रतिगामी दिशातर्फ उन्मुख छ । जे गरे पनि, जसो गरे पनि नियन्त्रण गर्न कसैले सक्दैन भन्ने धुन्धुकारी मानसिकताले सत्तालाई अन्धो बनाएको छ । प्रचण्डले भने झैँ यतिबेला फराकिलो गठबन्धनको आवश्यकता छ । आन्तरिक अराजकतालाई प्रश्रय दिएर यो राष्ट्रिय आवश्यकतामा केन्द्रित हुन सकिँदैन । यसका लागि विशाल छाति चाहिन्छ । विधिमा लचकता, तर सिद्धान्तमा दृढता चाहिन्छ । प्रचण्डसँग पारापाचुके गरेका तर उपेक्षा गर्न नसकेर फेरि ढोकामा आएर गन्गनाएका आफन्तहरूलाई अंगालो हाल्नुहुदैन भन्ने निष्कर्षले पार्टीलाई समाजवादको नेतृत्व गर्न सक्ने बनाउँदैन । भ्रमित हुनु गलत कुरा हो, तर भ्रम निवारण हुनु राम्रो कुरा हो । ऊ आए म के हुन्छु ? भन्ने हिसाब कसैले गरेको छ भने त्यो कायरता हो ।
लड्नका लागि यतिबेला हजारौं मोर्चाहरू छन् । निरंकुशताको अभ्यास संविधानमाथिको बक्रदृष्टि र जनअधिकारको कटौती विरुद्ध लड्नुपर्ने छ । यो व्यवस्था हाम्रो रगत, मासु र आँसुको परिणाम हो । यो व्यवस्था जोगाउन प्रचण्डको जस्तो नेतृत्व क्षमता चाहिन्छ । राजनीतिक समन्वय र सहकार्यको विशाल छाति चाहिन्छ । लक्ष्यप्रतिको दृढता र विधिको लचकता चाहिन्छ, जो प्रचण्डसँग छ । संकटको आह्वान र त्यसको व्यवस्थापन हामीले बेहोर्ने गरेको विजय विधि हो । त्यसको संयोजन प्रचण्डविना सम्भव छैन । अन्त्यमा प्रचण्ड ती पात्र हुन्, जो जनवादको हदसम्म पुग्छन् । राष्ट्रपति–सेनापति प्रकरण प्रचण्ड नचाहेर भएका निर्णय हुन् ।
धोबिघाट पार्टी विभाजनको आधार हो भन्ने जान्दाजान्दै उनले कसैलाई लखेटेनन् बल्कि तिनैलाई प्रधानमन्त्री बनाइदिए । यो प्रचण्डको उदारता हो । पार्टी र नेतृत्वविरुद्ध खुल्ला हमलाको अनुमति प्रचण्ड नेतृत्वमा सम्भव भएको एक नमीठो इतिहास हो । यसले भन्छ जनवादको उग्र उपभोग र अराजक लोकतान्त्रिक विधिका विरुद्ध उनलाई थप केन्द्रीयताका लागि गरिने सहयोग आजको आवश्यकता हो । इतिहास साक्षी छ, सिंगो पार्टी प्रचण्डमा केन्द्रित भएका बेला यसले ऐतिहासिक जित निकालेको छ । केन्द्रित होऔं, र कोही पनि विशाल तलाउका बीचमा पानी पाइएन भनेर मूर्छित नहोऔं !