२६ जेठ २०८३, मंगलबार

चितवनमा बढ्यो डेंगुको प्रकोप : १५ दिनमा २० जनामा संक्रमण

साउन १६, २०८२
चितवन
चितवनमा बढ्यो डेंगुको प्रकोप : १५ दिनमा २० जनामा संक्रमण

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगुको सङ्क्रमण देखिएको हो ।

कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् ।

जिल्लाको भरतपुर महानगरपालिकाका– सात जना, खैरहनी नगरपालिकाका तीन जना, रत्ननगर नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जनामा डेंगुको सङ्क्रमण देखिएको हो । पाँच जना पुरुष र नौ जना महिलामा डेंगुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन् ।

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेंगुको सङ्क्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छ ।

डेंगु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको कार्यालयले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको रुपाखेतीले बताए ।

३२ जनामा स्क्रबटाइफस

यही अवधिमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३२ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । पोखरेलका अनुसार सङ्क्रमितमध्ये २३ जना चितवनका हुन भने नौ जना जिल्ला बाहिरका रहेका छन् । स्क्रबटाइफस एक प्रकारको सरुवा रोग हो । जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ ।

यो रोग मानिसबाट मानिसमा सर्दैन । कार्यालयका प्रमुख रुपाखेतीका अनुसार स्क्रबटाइफस ओरेन्टिया सुसुगामुसी नामक जीवाणुबाट लाग्ने हो ।

माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घरवरिपरिको फोहर क्षेत्रमा पाइन्छ ।

रोग नियन्त्रणका लागि उनले खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भुइँमा सुत्न वा बस्न नहुने उनले जानकारी दिए ।

रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्ग प्रभावित हुने, तथा कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्