२६ जेठ २०८३, मंगलबार
ट्रम्पको ट्यारिफ नीति

ट्रम्पले जीतको घोषणा गरेको १२० दिने 'ट्यारिफ युद्ध'– अमेरिकाले के पायो ?

साउन १६, २०८२
काठमाडौं
ट्रम्पले जीतको घोषणा गरेको १२० दिने 'ट्यारिफ युद्ध'– अमेरिकाले के पायो ?

दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको ६ महिनापछि डोनाल्ड ट्रम्पले विश्वका अरू देशसँगको ट्यारिफ युद्धमा आफू विजयी भएको घोषणा गरेका छन् ।

१२० दिनअघि ट्रम्पले ‘लिबरेसन डे’ घोषणा गर्दै क्यानाडा, मेक्सिको, चीनलगायत अन्य धेरै देशहरूसँग ट्यारिफ युद्ध शुरू गरेका थिए ।

अन्तर्राष्ट्रिय वित्तीय बजारमा हलचल मच्चाएको यो ३ महिनाको अवधि खासै सुखद् भने भएन । वासिङ्टनदेखि वाल स्ट्रिटसम्म र विश्वका विभिन्न राजधानीहरूमा हरेक दिन ‘ट्रम्प सधैं पछि हट्छन्’ भन्ने चर्चा चल्ने गर्थ्यो ।

व्यापार र अस्थिरता, धम्की, छुट र ७० वर्षको विश्व व्यापारको आधारभूत संरचनामा आउने सम्भावित संकटको डरले विश्वको वित्तीय बजार अस्थीर बनेको थियो ।

अहिले पनि अमेरिकाको आर्थिक तथ्यांकले निरन्तर विरोधाभासपूर्ण संकेत र चेतावनी दिइरहेका छन् । तर, ह्वाइट हाउसमा ट्रम्पले आफ्नो विजय घोषणा गरिसकेका छन् ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले एक विश्लेषणमा अहिले ‘स्पष्ट विजय’को घोषणा गर्नु हतार हुने बताएको छ ।

ट्रम्पले आफ्नो व्यापक ट्यारिफ नीतिका लागि प्रयोग गरेको कार्यकारी अधिकार अदालतमा विचाराधीन छ भने जनमत सर्वेक्षणमा ट्रम्पको ट्यारिफ नीति अत्यन्त अलोकप्रिय छ ।

पछिल्लो हप्ता अमेरिकाले आफ्ना प्रमुख व्यापारिक साझेदारहरूसँग द्विपक्षीय सम्झौताहरू गरेको छ । अमेरिकामा आयात हुने वस्तुमा औसत प्रभावकारी ट्यारिफ दर लगभग यो शताब्दीकै उच्च स्तरमा पुगेको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्यारिफबाट प्राप्त राजस्व उल्लेखनीय रूपमा बढेको छ । अमेरिकाको वित्तीय बजार स्थिर भएको छ भने पछिल्लो समय स्टक बजार रेकर्ड उचाइमा पुगेको छ ।

ट्रम्पको यस्तो नीतिले मूल्यवृद्धि हुने भविष्यवाणी गरिएको थियो, तर त्यो अहिले देखिएको छैन । सीएनएनका अनुसार समग्रमा अमेरिकी अर्थतन्त्र यी सबैका बीचमा उल्लेखनीय रूपमा लचिलो रहेको छ ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले ट्रम्पको ट्यारिफ नीति विगत चार महिनाको अवधिमा अल्पमतमा रहेको कुरालाई कुनै हिचकिचाहटविना स्वीकार गरिरहेका छन् ।

ट्रम्पको अप्रिल २ को ‘प्रतिशोधी’ ट्यारिफ घोषणापछि आएको अस्थिरताका बाबजुद ट्रम्प र उनका आर्थिक सल्लाहकारहरू अहिलेको बिन्दुमा पुग्नेमा विश्वस्त थिए । यो विश्वास मूलधारका अर्थशास्त्रीहरूको विचारविपरीत थियो ।

दोस्रो विश्वयुद्धपछि अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाका लागि लिएको आर्थिक नीतिविपरित हिँडेका ट्रम्प ट्यारिफसम्बन्धी ‘नौलो वैचारिक विकास’लाई पुष्टि गर्न चाहन्थे, जुन अहिले सफल देखिएको छ ।

ट्यारिफप्रति ट्रम्पको नयाँ दृष्टिकोण

ट्रम्पले आफ्नो ट्यारिफसम्बन्धी नीतिहरू ‘विश्व अर्थतन्त्रमा अमेरिकी बजारको ठूलो महत्त्व छ’ भन्ने अवधारणाबाट  प्रेरित रहेर लिएका थिए ।

ट्यारिफलाई अमेरिकी हितमा उपभोग गर्नुपर्छ भन्ने उनको इच्छाशक्ति र तिनलाई जसरी पनि लागू गर्ने अनि आवश्यक परेमा ‘प्रतिशोध’ रोक्नका लागि थप वृद्धि गर्ने उनको यो कदमले वास्तविकतालाई थप बलियो बनाएको अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन् ।

ट्रम्पले सन् २०१६ देखि २०२० सम्म ह्वाइट हाउस सम्हाल्दा उनी र वाल स्ट्रिटले विकास गरेको व्यापार संरचनाबीच ठूलो द्वन्द्व देखिएको थियो ।

बाहिरबाट हेर्दा ट्रम्पको दोस्रो कार्यकालको आर्थिक सल्लाहकार टीमलाई पनि पहिलाजस्तै मानिएको थियो ।

पूर्व हेज फन्ड व्यवस्थापक र ट्रेजरी सचिव स्कट बेसेन्ट र राष्ट्रिय आर्थिक परिषद् निर्देशक केभिन ह्यासेट पहिले ‘वाल स्ट्रिट’ खेमामा थिए भने ट्रम्पका शीर्ष व्यापार सल्लाहकार पीटर नाभारो, वाणिज्य सचिव हावर्ड लुटनिक र नीति उपप्रमुख र स्टाफ प्रमुख स्टिफन मिलरलाई ‘व्यापार योद्धा’को रूपमा हेरिएको थियो ।

सीएनएनका अनुसार ट्रम्पको पहिलो कार्यकालमा ग्यारी कोहन र स्टिभ मनुचिनजस्ता सल्लाहकारहरूले राष्ट्रपतिको ट्यारिफ चाहनालाई सीमित गर्ने प्रयास गरेका थिए, तर योपटक सल्लाहकारहरूले ट्रम्पलाई पूरापूर सहयोग गरेका छन् ।

यतिबेला चाहे पनि र नचाहे पनि ट्रम्पको निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता उनको टीमको छ ।

ट्रम्पको पहिलो कार्यकालमा पनि यस्तै ट्यारिफ धम्की दिने गरिएको थियो । त्यसपछि ती ट्यारिफ धम्कीविरुद्ध उनकै सल्लाहकारहरूले प्रतिरोध गर्थे र परिमार्जित हुने गरेका थिए ।

तर, ट्रम्पले त्यतिबेलै चीनसँग व्यापार युद्ध शुरू गरे । त्यसपछि दशकौंदेखिको स्वतन्त्र व्यापार गर्ने सहमतिविपरित चीनविरुद्धको ट्यारिफमा उल्लेखनीय वृद्धि भएको थियो ।

मूलधारका अर्थशास्त्रीहरूले यसमा लाभ भएको तर निकै सीमित भएको भन्ने टिप्पणी गरेका थिए ।

तर, ट्रम्प र उनका सल्लाहकारहरूले यसबाट फरक पाठ सिके । त्यसले दोस्रो कार्यकालमा अमेरिकी बजारको प्रभावलाई आधार बनाएर व्यापक ट्यारिफ नीति अपनाउने आधार तयार गर्‍यो ।​

शुरूको सकस

‘लिबरेसन डे’ को पाँच दिनपछि स्टकबजारमा सबैभन्दा खराब गिरावट आयो । यसले अमेरिकी आर्थिक स्थिरताप्रति संसारको विश्वास घटाउने संकेत दिएको थियो । त्यसपछि ह्वाइट हाउस काउन्सिल अफ इकोनोमिक एडभाइजर्सका अध्यक्ष स्टिफन मिरान वासिङ्टनमा एक थिङ्क ट्याङ्क समूहले गरेको कार्यक्रममा भाषण दिन उभिए ।

मिरानले ट्रम्पको दृष्टिकोण प्रस्तुत गर्दै विश्व व्यापार प्रणालीले अमेरिकालाई नोक्सान पुर्‍याएको र अमेरिकाले प्रदान गरेको सुरक्षा र स्थिरताको लाभलाई पर्याप्त रूपमा सम्बोधन नगरेको आरोप लगाए ।

‘धेरैजसो अर्थशास्त्री र केही लगानीकर्ता ट्यारिफलाई प्रतिकूल र विनाशकारी मान्छन्,’ मिरानले भने, ‘उनीहरू गलत छन् ।’

उनले ट्रम्पको ट्यारिफ नीति धेरै मानिसले नबुझेको टिप्पणी गरे । उनले ट्यारिफको प्रतिशोध सीमित हुने र जो-जसले अमेरिकामा सामान निर्यात गरिरहेका छन्, उनीहरू ट्रम्पसँग नयाँ सम्झौतामा आउन तयार रहेको बताए ।

‘उनीहरूले अमेरिकाको प्रभावको मात्रालाई बुझ्न सकेनन्,’ मिरानले भने, ‘राष्ट्रपति ट्रम्पले यो प्रभाव बुझेका छन् र यसलाई अरू कसैले गर्न नसक्ने तरिकाले प्रयोग गर्न जान्दछन् ।’

ट्रम्पले गत अप्रिल ९ मा ट्यारिफहरू स्थगन गरेर वार्ताका लागि समय दिएपछि केही ठूला व्यापार साझेदार देशहरूले प्रतिशोधी धम्की दिन शुरू गरे । यस्तो कदम लिएपछि ट्रम्पले आफ्नो बाटो परिवर्तन गर्छन् भन्ने विश्वास उनीहरूलाई थियो ।

‘त्यतिबेला उनीहरूले हामीलाई गम्भीर ठानेनन् र प्रतिशोधको धम्कीले हामी पछि हट्छौं भन्ने सोचे,’ मिरानको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, ‘ट्रम्पलाई सम्झौतामा सहमत गराउन सजिलो थिएन ।’

ट्रम्पले यो गतिशीलतालाई बुझेर आफ्नो ट्रुथ सोसल खातामा अप्रत्याशित ट्यारिफ धम्कीहरू पोस्ट गर्ने गर्थे । ट्रम्पको यस्तो कदमले मूल्यवृद्धिको अत्यधिक सम्भावना हुन्छ भन्दै आलोचना गर्नेहरूलाई पनि यस्तै रणनीति प्रयोग गरियो ।

‘यो व्यापारिक निर्णय बन्यो,’ ह्वाइट हाउसका एक सल्लाहकारको भनाइ उदृत गर्दै सीएनएन लेख्छ, ‘ट्रम्प प्रशासनसँग दुश्मनी लिनुको परिणाम सकारात्मक हुँदैन ।’

विजयको घोषणा

ट्रम्पको व्यापार संरचनाको सधैं विरोध गर्ने वाल स्ट्रिटले शुरूको अस्थिरताबाट आफूलाई सम्हाल्न सफल भएको छ ।

‘उनले सबैलाई आत्मसमर्पण गराए,’ वालस्ट्रीटस्थित एक बैंक कार्यकारीको भनाइ उद्धृत गर्दै सीएनएन लेख्छ, ‘सबैले उच्च ट्यारिफको वास्तविकता स्वीकार गरे । तर, यो अझै उच्च हुन सक्थ्यो ।’

ह्वाइट हाउसका पछिल्ला घोषणामा अधिकांश देशबाट हुने आयातमा लगभग १५ प्रतिशत ट्यारिफ कायम राखिने उल्लेख छ ।

त्यस्तै, अहिले अमेरिकी उत्पादनलाई विश्वव्यापी बजारमा पहुँच बनाउन विश्वभरबाट ठूलो लगानीका प्रतिबद्धताहरू पनि आएका छन् । ह्वाइट हाउसले यसैलाई ‘विजय’को रूप दिएको हो ।  

जापानले प्रस्ताव गरेको सानो लगानी रकमलाई ट्रम्पले १०० अर्ब डलर बनाउन भने, अनि जापानले यो स्वीकार्‍यो ।

हुँदा–हुँदा बंगलादेश समेतले ट्रम्पको ट्यारिफबाट जोगिन ठूलो परिणाममा अमेरिकी बोइङ विमान खरिद गर्ने निर्णय गरेको छ ।

ट्रम्पका सल्लाहकारहरू यो बीचमा आएका सबैभन्दा खराब परिदृश्यहरूबाट बाँचेको कुरा स्वीकार गर्छन् ।

यसबीचमा अमेरिकी उपभोक्ताहरूले आफ्नो उपभोग्य सामानमा कुनै कटौती गरेनन् । ट्रम्पले आफ्ना नागरिकका लागि कर कटौती प्याकेज ल्याएका थिए, जसले आर्थिक अनिश्चितता हटायो ।

पछिल्लो समय ट्रम्पको ट्यारिफमा चीनले गरेको प्रतिशोध सबैभन्दा ठूलो चुनौती रहेको छ । तर, चीनसँग पनि वार्ता जारी रहेको अधिकारीहरूले बताएका छन् ।

यद्यपि, फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ट्यारिफको प्रभाव अहिल्यै मूल्यांकन गर्न कठिन रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्