
‘रामसरोज त तराई मधेशमा विमलेन्द्र निधिभन्दा पनि प्रभाव राख्ने भुगोलका शक्तिशाली नेता हुन् । यस्ता खम्बालाई हाम्रो पक्षले किन सजिलै गुमाएको होला ?’ साउन १३ गते मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कृष्णप्रसाद सिटौलालाई आनन्दप्रसाद ढुंगानाले सोधेको प्रश्न यो हो । उनको प्रश्नको जवाफ दिने ठाउँमा सिटौला पनि थिएनन् । उनले पनि भूगोलमा राजनीति गरेका प्रभावशाली नेतालाई किन सहजै अर्को कित्तामा जाने अवस्था ल्याएको होला भनेर संशय व्यक्त गर्नेबाहेक अरू केही भन्न सकेनन् ।
तराई–मधेशमा राजनीति गर्दा रामसरोजले विमलेन्द्र निधि र शेरबहादुर देउवाससँग निकट रहेर चारदशक सहकार्य गरे । तर, आफूमाथि पटकपटक धोका भएको र बेवास्तामा पारिएको भन्दै रामसरोज साउन १० गतेबाट शेखर पक्षमा खुले । महोत्तरीको बर्दिबासमा आफ्नै अध्यक्षतामा ८ जिल्लाको अर्थपूर्ण भेला राखे । सोही भेलाबाट अबदेखि शेखर पक्षको राजनीतिमा होमिने निर्णय उनले लिए, जसले सभापति शेरबहादुर देउवाको टीममा हलचल ल्यायो । रामसरोज अर्को टीममा पुगेपछि सभापति देउवाले समेत चासो राखेको नेताहरू बताउँछन् । मधेशमा प्रभावशाली पकड भएका यादवको ‘इन्ट्री’ले शेखर पक्ष हौसिएको छ ।
अध्यक्ष रामसरोजले गरेको सो कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव प्रमुख अतिथि थिए । आफ्नै समूहको कार्यक्रम भए पनि शेखर सो दिन बर्दिबास पुगेका थिएनन् । गुरुराज घिमिरेलाई शेखरले प्रतिनिधि बनाएर पठाएका थिए ।
जुन भेला शेखरलाई १५ औं महाधिवेशनबाट सभापति बनाउनका लागि लक्षित थियो । भेलाको सात बुँदे निर्णयको अन्तिम बुँदामा नै ‘१५ औं महाधिवेशनबाट शेखरलाई सभापति बनाउने’ दृढता व्यक्त गरिएको छ, जसले संस्थापन पक्षमा हलचल ल्याएको नेताहरू बताउँछन् ।
‘हाम्रै आँखा अगाडि प्रभावशाली नेता शेखरको कित्तामा पुग्नुभयो । तराई–मधेशमा होल्ड छ भनिएका विमलेन्द्र निधि के हेरेर बस्नुभयो ?,’ देउवानिकटकै एक नेता भन्छन्, ‘केही समयदेखि रामसरोज असन्तुष्ट छन् भन्ने थाहा नभएको होइन । तर, पार्टीले बेवास्ता गर्दा रामसरोज गए । उनी गएपछि अब मधेशमा देउवा र निधिको प्रभाव कति जाने हो टुंगो छैन ।’

देउवा र निधि क्याम्प छाडेका यादव बीपीको लिगेसी पार्टीले छाडेपछि शेखर टीममा पुगेको बताउँछन् । ‘बीपीको लिगेसीलाई हामीले बोक्न सकेनौं । हाम्रो आफ्नै नेतृत्व मात्रै होइन, केन्द्रदेखि प्रदेशसम्मका गठबन्धन सरकारमा समेत कांग्रेसले प्रभाव देखाउन सकेन । एमालेको बन्दी जस्तो भयौं । बरू कुशासन र भ्रष्टाचारले जरा गाड्यो,’ लोकान्तरसँगको कुराकानी रामसरोजले भने, ‘बीपीको लिगेसीलाई शेखर कोइरालाले अगाडि बढाउनुहुन्छ भन्ने विश्वास गरेको छु ।’
चार दशकदेखि अविछिन्न निधि र देउवानिकट रहेर काम गरे पनि आफूमाथि निरन्तर अन्याय भएको उनी बताउँछन् ।
‘म लोभले लागेको होइन । मैले बनाएका कार्यकर्ता सह–महामन्त्री, केन्द्रीय सदस्य, सांसद भइसके । म प्रदेशकै राजनीतिमा छु । दुईपटक प्रदेश सांसद पनि भएँ । १८ महिना मन्त्री पनि चलाएँ,’ यादव भन्छन्, ‘तर, अहिले आएर चार दशकदेखिको सहकार्य छुटेको छ । विमलेन्द्र निधि र म सँगै थियौं । मैले नेता मानेकै थिएँ । प्रदेशसभा नेतृत्वको चुनावदेखि नै ममाथि चरम षड्यन्त्र भएपछि मैले त्यता बस्न उचित ठानिँन ।’
२०६४ मा यादव समानुपातिक सांसद भएका थिए । केन्द्रभन्दा भूगोलकै राजनीतिलाई रोजेका यादव १४ वर्ष कांग्रेस धनुषाको सभापति भएका थिए । पछिल्लो एक वर्षदेखि आफू निष्क्रिय भए पनि निधिले झन् बेवास्ता गरेको यादव बताउँछन् ।
‘एक वर्षदेखि म निष्क्रिय भएको विमलेन्द्र निधिलाई थाहा थियो । एकपटक काठमाडौंमा बोलाउनुभयो । तर, के कारणले हो भेट्न चाहनुभएन । जनकपुरमा आउँदा भेट्छु भन्नुभयो । तर, यता पनि भेट हुने वातावरण बनाउनुभएन,’ यादवले भने, ‘मैले क्याम्प चेन्ज गर्दैछु भन्ने विमलेन्द्रजीलाई थाहा थियो । तर, रोक्न खोज्नुभएन । धेरै कार्यकर्ताले पनि हामीबीच सौहार्द सम्बन्ध नभएको थाहा पाएपछि भेटघाटका निम्ति पहल गरेका थिए । तर, परिस्थितिले एकै समूहमा बस्ने वातावरण बनेन अनि चार दशकपछि क्याम्प चेन्ज गर्न पुगें ।’

२०७८ मा प्रदेश सभापतिमा आफूलाई हराउन तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण जनकपुरमै अड्डा जमाएर बसेको समेत यादव बताउँछन् ।
‘प्रदेश सभापतिमा स्वस्थ प्रतिस्पर्धा हुन पाएन । प्रदेशसभा निर्वाचनमा पनि मलाई हराउन सबै प्रयत्न भए । गृहमन्त्री आउनुभयो । पाँच दिन बस्नुभयो । हार्ने पक्का भएपछि बल्ल हिँड्नुभएको थियो । सभापति शेरबहादुर देउवा पनि मलाई हराउन सबै हिसाबले लाग्नुभयो,’ यादव भन्छन्, ‘आफ्नै नेतालाई अख्तियार लगाउने, पुलिस लगाउने, स्वस्थ प्रतिस्पर्धा हुन नदिने भएपछि मैले त्यो समूहमा बसिराख्न उचित ठानिँन ।’
आफूलाई प्रदेश सभापतिमा हराएका कांग्रेस मधेशका सभापति कृष्ण यादव बदनाम भएको दाबीसमेत उनी गर्छन् । ‘हामी त बीपीवाद मान्ने पार्टी हौं, तर सात प्रदेशमा हाम्रै मधेश भ्रष्टाचारमा सबैभन्दा बढी बदनाम छ । हामी सरकारमा हुँदा समेत थुप्रै बेथिति छन्,’ यादवले भने, ‘तर, म मन्त्री हुँदा कुनै अनियमितता भएको छैन । ममाथि कुनै भ्रष्टाचार प्रमाणित भए म राजनीति नै छाड्छु ।’

२०७८ पुसमा भएको मधेश प्रदेश सभापतिको निर्वाचनमा कृष्ण यादवसँग रामसरोज थोरै मतले पराजित भएका थिए । कृष्णले ९९६ म ल्याउँदा रामसरोजले ८५५ मत प्राप्त गरेका थिए ।
१० साउनमा बर्दिबासमा राखिएको भेलामा सप्तरीदेखि पर्सासम्मका ८ वटै जिल्लाका नेता/कार्यकर्ता सहभागी भएका थिए ।
भेलाले १५ औं महाधिवेशनबाट शेखरलाई सभापति बनाउने घोषणा गर्दै प्रदेशमा पकड बनाउन जनकपुरमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको थियो ।
भेलाले १५ औं महाधिवेशन छिटो गर्न, भ्रष्टाचार बढेकोप्रति सचेत हुन, तराई मधेशमा कमजोर बनेको कांग्रेसको संगठनबारे चिन्तन गर्न आवश्यक रहेको भनेर निर्णय गरेको थियो । सुक्खापनले आक्रान्त बनेको तराई–मधेशका लागि राहत प्याकेज घोषणा गर्न, मधेशका १८ जनामाथि गरिएको प्रतिशोधपूर्ण अनुशासनको कारबाही फिर्ता लिन पनि माग गरेको छ ।
नेता यादव अब तराई–मधेशमा कोइरालाहरूको प्रभाव देखिने बताउँछन् ।
‘पहिले पनि तराई मधेश भनेपछि कोइरालाहरूको आधार इलाका जस्तो थियो । पछिल्लो समय कांग्रेस नै कमजोर हुन पुगेको छ,’ यादव भन्छन्, ‘यसैले मधेशमा कांग्रेसको विरासत फर्काउन अब शेखर कोइराला समूहले काम गर्छ ।’
केही दिनमा डा. शेखर कोइरालालाई प्रमुख अतिथि बनाएर ठूलो आमसभा गर्ने तयारीमा शेखर पक्ष छ । कांग्रेस नेता आनन्द ढुंगानाले लामो समय यादवले आफूहरूसँगै काम गरेको बताए ।
‘हामीसँगै काम गर्नु भएको पुरानो नेता हो । कतिपय कमजोरी सहेर बस्नुभएको थियो । प्रदेशसभा निर्वाचनमा हराउन खोज्दा-खोज्दै जित्नुभयो । प्रदेश सभापतिमा पनि टक्कर गरेरै थोरै मतले हार्नुभएको थियो,’ ढुंगाना भन्छन्, ‘यी दुवै चुनावमा हराउन आए भनेर गुनासो गर्दै आउनुभएको थियो । टीममा मात्रै होइन, कांग्रेसको काम, संगठन र संघर्षमा काबिल नेता हो । आर्थिक मामिलामा पनि मुछिनुभएको छैन । धेरै पीडा भोगेँ भनेर उहाँले क्याम्प परिवर्तन गर्नुभयो ।’

यस्तो छ शक्ति सन्तुलन
मधेश प्रदेशको सभापति देउवाका विश्वासिला नेता कृष्ण यादवले जितेका छन् । केन्द्रबाट सहमहामन्त्री महेन्द्र यादवले समन्वय गरिरहेका छन् । तर, यादव देउवाभन्दा बढी बालकृष्ण खाँणसँग निकटता राख्छन् । बालकृष्णले केन्द्रमा पछिल्लो समय शेखरसँग सम्बन्ध बनाएका छन् ।
रामसरोज धनुषा ३ (क)बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । निधि केन्द्रको राजनीतिका शीर्ष तहमा पुगे पनि भूगोलको संगठन रामसरोजहरूकै हातमा थियो । केन्द्रीय राजनीतिमा नगई मधेश मै सक्रिय रहेका यादवको ८ वटै जिल्लामा राम्रो प्रभाव रहेको बताइन्छ ।
प्रदेशको केन्द्र धनुषामा मात्रै नभएर सर्लाही, सिरहा, बारा, पर्सा र रौतहटमा उनको पक्षमा धेरै नेता/कार्यकर्ता रहेको दाबी नेताहरू गर्छन् । तर, संस्थापन पक्षले भने अवसर पाउँदा पनि केन्द्रीय राजनीतिमा पकड बनाउन नसकेको र प्रभाव नबनाएको भनेर आलोचना गर्छन् । यद्यपि यादव बाहुल्य समुदायमा रामसरोजको राम्रो प्रभाव भएको बताइन्छ ।
लामो समयदेखि साथ दिएका यादव अर्को समूहमा लागेपछि तराई–मधेशमा निधि थप कमजोर हुने देखिएका छन् । ‘यसअघि उहाँले आफैं टिकट बाँड्दा चुनाव जिताउन सक्नुभएन । आफूसमेत चुनावमा जित्नुभएन । पछिल्लोपटक त उहाँ समानुपातिकबाट सुरक्षित हुनुपर्यो’ कांग्रेसका एक नेता भन्छन्, ‘प्रदेशमा लामो समय राजनीति गरेका नेतालाई पनि विश्वासमा राखिराख्न सक्नुभएन । यसैले तराई–मधेशमा कांग्रेसको शक्ति सन्तुलन खल्बलिने स्थिति आएको छ ।’
१४ औं महाधिवेशनमा सभापतिमा देउवासँग हारेका शेखर फेरि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । यसैले संस्थापनसँग असन्तुष्ट नेतालाई तान्ने घोषित नीतिअनुसार शेखर अगाडि बढेका छन् । केन्द्रपछि प्रदेशमा गुटबन्दीको सिकारमा पारिएका नेतालाई आफ्नोतिर तान्ने रणनीति शेखरको छ ।