२७ जेठ २०८३, बुधबार
बाहिर व्यापार, भित्र अवैध धन्दा

किराना र कपडा पसलको आवरणमा हुन्डी र क्रिप्टो, एकै जनाबाट साढे ४० करोड कारोबार

साउन १८, २०८२
काठमाडौं
किराना र कपडा पसलको आवरणमा हुन्डी र क्रिप्टो, एकै जनाबाट साढे ४० करोड कारोबार
तस्वीरमा गुप्ता र कुमार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका तीन जनाले ललितपुरको सानेपा र काठमाडौंको पकनाजोलमा बसेर लामो समयदेखि हुन्डी र क्रिप्टो कारोबार गर्दै आएको तथ्य खुलेको छ ।

पक्राउ परेकामध्ये भारत बिहारका रुपेश कुमार गुप्ताले आफूले ४० करोड ५६ लाख रुपैयाँ हुन्डीमार्फत कारोबार गरेको स्वीकारेका छन् ।

सानेपामा राजातीर्थ ट्रेडर्सका नाममा किराना, खुद्रा तथा होलसेल पसल सञ्चालन गर्दै आएका गुप्ताले अर्का भारतीय नागरिक सागर साहसँग मिलेर हुन्डी र क्रिप्टो कारोबार गर्दै आएका थिए ।

कामकै सिलसिलामा आफू भारतको घोडासन पुगेका बेला साहसँग भेट भएको र उसले नेपालमा हुन्डी कारोबार गरे कमिसन दिने आस देखाएपछि हुन्डीको काम गर्दै आएको गुप्ताले बयानमा खुलाएका छन् ।

साहले नै आफ्नो मोबाइलमा क्रिप्टो कारोबार गर्ने विनान्स र ट्रस्ट वालेट डाउनलोड गरिदिएर कारोबार गर्न सिकाएसँगै १ लाख रुपैयाँ क्रिप्टो गरेवापत दुई सय रुपैयाँ कमिसन पाउँदै आएको गुप्ताले बयानमा खुलाएका छन् ।

गुप्ताका अनुसार उनले शुरू–शुरूमा ५० हजार, एक लाख र दुई लाख रुपैयाँको हुन्डी कारोबार गर्दै आएको र पछि २० देखि ३० लाख हुँदै दैनिक ५० लाख रुपैयाँसम्मको कारोबार गरेका थिए ।

‘सागरले हुन्डीको टोकनबापत नेपाली रुपैयाँ ५/१० को नोटको फोटो पठाउन भन्थ्यो, मैले पठाइदिन्थेँ । पछि ती नोट बोकेर कारोबारी आउँथे र मैले पैसा जम्मा गर्न विपिन कुमारलाई पठाउथेँ,’ गुप्ताले बयानमा भनेका छन्, ‘पैसा दिएको र आएको रेकर्ड सबै डायरी मेन्टेन गर्थें ।’ सीआईबीले गुप्तासँगै विपिनलाई पनि पक्राउ गरेको थियो ।

सीआईबीले गुप्ताको डायरीमा कोड नामहरू जैसवाल ब्रदर, मुकेश फलमण्डी, नशिफ क्षेत्रपाटी, प्रमोदजी, बालाजी नक्साललगायत उल्लेख थिए ।

यी कोड नाम गरेकाहरूबाटै हुन्डीको रकम संकलन गर्दै आएको कुरा गुप्ताले बयानमा खुलाएका छन् ।

उक्त रकम वाल्डो, किनपिङ, बल्ली र सल्ली नामका व्यक्तिहरूलाई पठाउँदै आएका थिए । उनीहरू चिनियाँ कारोबारी रहेको गुप्ताको बयान छ ।

प्रहरीले गुप्ताकै बयानका आधारमा अर्का भारतीय नागरिक नशिफ आलमलाई पक्राउ गरेको थियो ।

आलमले नै आफूलाई पटक–पटक हुन्डीको रकम दिएको र उक्त रकम चिनियाँ नागरिकलाई डेलिभरी गर्दै आएको गुप्ताले बयानमा खुलाएका छन् । गुप्ताले हुन्डीकै रकमबाट आफूले हिमालयन लाइफ इन्स्योरेन्समा ६० लाखको जीवन बिमा गरेको र पहिलो किस्ताबापत ६ लाख ४८ हजार २ सय १ रुपैयाँ तिरेको बयान दिएका छन् ।

क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) रेकर्ड अनुसार गुप्ता डेढ वर्षअघि पनि स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ परेका थिए । राजस्व अनुसन्धान विभाग बुझाइएका उनी त्यतिबेला ३० लाख धरौटी तिरेर छुटेका थिए । प्रहरीले गुप्ता र कुमारबाट बरामद गरेको ८ लाख २० हजार नेपाली रुपैयाँ हुन्डीकै कारोबारमध्येको रकम भएको अनुसन्धानबाट खुलेको छ ।

हाल भारतमै रहेका साहले ह्वाट्सएपमा क्रिप्टो वालेट ठेगानाको क्यूआर पठाउने र उक्त क्यूआरबाट गुप्ताले यूएसडीटी ट्रान्सफर गर्दै आएका थिए । साहले नै भनेका वालेटमा गुप्ताले रकम पठाउँदै आएका थिए । गुप्ताको वालेटबाट ३९५ वटा वालेटमा क्रिप्टो कारोबार भएको अनुसन्धानबाट देखिएको छ ।

गुप्ताको बयानलाई भने पक्राउ परेका अर्का प्रतिवादी नफिश आलमले अस्वीकार गरेका छन् । उनी पेशाले कपडा व्यापारी हुन् । भारतीय नागरिक आलमले नेपालमा १० वर्षदेखि कपडाको व्यवसाय गर्दै आएका थिए । काठमाडौंको पकनाजोलमा लेडिज कपडाको होलसेल गर्दै आएका आलमले आफूलाई हुन्डी कारोबारबारे केही थाहा नभएको बयान दिएका छन् ।

‘मैले एक/दुईपटक घरमा पठाउन भनेर एक/दुई लाख रुपैयाँ विपिन कुमारलाई दिएको हुँ,’ आलमले बयानमा भनेका छन्, ‘मलाई उनीहरूको कारोबारका बारेमा थाहा छैन । हुन्डी र क्रिप्टो कारोबार पनि मैले बुझेको छैन ।’

तर, अनुसन्धानका क्रममा उनकै सीमकार्ड प्रयोग गरेर ह्वाट्सएपमार्फत् हुन्डी कारोबारका म्यासेज आदानप्रदान भएपछि सीआईबीले आलमलाई नियन्त्रणमा लिएको थियो ।

आलमले प्रयोग गर्ने ९८४१........नम्बरको मोबाइल नम्बरबाट ह्वाट्सएपमा ८६ लाख रुपैयाँ हुन्डीमार्फत लेनदेन गर्ने कुरा गुप्तासँग भएको देखिन्छ ।

आलमले भने आफूले एकजना भारतीयलाई विश्वासमा सीमा कार्ड प्रयोग गर्न दिएको र त्यही व्यक्तिले गुप्तासँग लेनदेन गरेको हुनसक्ने बयान दिएका छन् ।

गुप्ताको राजातीर्थ किराना पसलबाट बरामद भएको डायरीमा समेत नफिश क्षेत्रपाटी भनेर १० लाख, ८ लाख, २३ लाख, ३५ लाख, ७ लाख, ५ लाख उल्लेख गरिएको थियो ।

प्रहरीको दाबी अनुसार उक्त रकम आलमले नै गुप्तालाई दिएका हुन् ।

आलमकै नामबाट ९६ लाखको हुन्डी कारोबार भएको प्रहरी अधिकारीहरू बताउँछन् । पक्राउ परेका मध्येका कुमारले नै आफूले आलमको पसलबाट पटक–पटक गरेर हुन्डीको रकम बुझेको बयान दिएका छन् ।

सीआईबीले शुरूमा गुप्ता र कुमारलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।

ललितपुर परिसरले अनुसन्धान गर्दा हुन्डीमा आलमको समेत संलग्नता खुलेपछि उनलाई नियन्त्रणमा लिएको हो । तीनै जनाको बयान सकिएपछि परिसरले जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा मिसिल बुझाएको थियो ।

सरकारी वकिल कार्यालयले गत शुक्रबार मात्रै अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुर (मुद्रासम्बन्धी) तथा हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्