
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर नियन्त्रणमा लिएका एक कारोबारीको बयानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक टर्मिनल) को सुरक्षा लापरबाहीलाई उजागर गरेको छ ।
ब्यूरोका प्रहरी अधिकारीले टोखामा गोली प्रहार गरेर भारतको उत्तर दिनापुरका सादिक आलम र पश्चिम बंगालका मोहम्मद मञ्जर आलमलाई नियन्त्रणमा लिएको थियो ।
लागुऔषध मुद्दामा पक्राउ परेकालाई अदालतबाट म्याद लिएर ९० दिनसम्म प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न पाइन्छ । यही अवधिमा लिइएको बयानमा सादिकले भनेका छन्, ‘मैले भारतको किसनगञ्जका मलिक नाम गरेका व्यक्तिबाट दुई सय ग्राम खैरो हेरोइन स्पिकरभित्र लुकाएर ल्याएको थिएँ । झापाबाट जहाज चढी काठमाडौं आएँ । विमानस्थलमा उत्रिएर केही दिन सुन्धारास्थित होटल ताज महलमा बसेको थिएँ ।’
हेरोइनमा रातो माटो मिसाएर दुई पोका बनाई स्पिकरमा लुकाएर ल्याउँदा विमानस्थलको स्क्यानर मशिनले नभेटेको उनले बयानमा खुलाएका छन् । सादिकका अनुसार उनले प्रतिग्राम खैरो हेरोइन दुई हजार पाँच सय रुपैयाँमा भारतबाट खरिद गरेर ल्याएका थिए । उनले काठमाडौंका दुर्व्यसनीलाई प्रतिग्राम ६ हजार रुपैयाँमा बिक्री गर्ने योजना बनाएका थिए ।
त्यसो त सादिकलाई यसअघि २०८० असोज ५ गते लागुऔषध मुद्दामै ब्यूरोले पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि नख्खु कारागारमा ८ महिना बसेर छुटेका थिए ।
उनले कारागारभित्रै मोहमद रफिक राइनसँग चिनजान गरेका थिए । राइन पनि लागुऔषध मुद्दामै पक्राउ परेर जेल बसी छुटेका आरोपी रहेको सादिकले बयानमा खुलाएका छन् ।
राइनमार्फत नै उनले काठमाडौंमा खैरो हेरोइन खरिद गर्ने व्यक्ति चिनेका थिए । सोही योजनाअनुसार उनले भारतको किसनगञ्ज पुगेर हेरोइन खरिद गरी काठमाडौं ल्याएका थिए ।
ब्यूरोले सादिक, मञ्जर, भारत बिहारका सुमित कुमार र चन्दन कुमारलाई पक्राउ गरेको थियो । सुमित र चन्दनले आफूहरू काठमाडौंमा फोहोर संकलन गर्ने कवाडीको काम गर्दै आएको र लागुऔषध कारोबारबारे केही थाहा नभएको बयान प्रहरीलाई दिएका छन् ।
प्रहरीले उनीहरूकै बयानबाट सादिक र मञ्जरलाई पक्राउ गरेको थियो । सादिक र मञ्जरलाई सुमित र चन्दनले नै सुन्धाराको होटल देखाइदिएका थिए । सादिक यसअघि पनि लागुऔषध कारोबारमा पक्राउ परेर जेल बसी छुटेका आरोपी रहेको क्राइम रेकर्ड सिस्टम (सीआरएस) मा उल्लेख थियो ।
विमानस्थलमा ब्यूरोका प्रहरी पनि बस्छन् । सीसीटीभीमा सादिक देखिएपछि प्रहरीले उनीहरूलाई फलो गरेको थियो ।
प्रहरी बयानमा सुमित र चन्दनले भनेका छन्, ‘सादिक र मञ्जरले के कहाँबाट लागुऔषध खैरो हेरोइन ल्याए भन्ने थाहा भएन, कारोबारमा हाम्रो कुनै संलग्नता छैन ।’ तर, फोनसम्पर्क र होटलसमेत खोजिदिएका कारण सादिकसँग सुमित र चन्दनको ‘नेक्सस’ हुन सक्ने आशंका प्रहरीको छ ।
घटना हुने दिन गत जेठ २७ गते सादिक र मञ्जर दुवै टोखामा मुराकी नाम गरेका व्यक्तिलाई भेट्न पुगेका थिए । उनीहरू लागुऔषध बिक्री गर्न त्यहाँ पुगेको सूचना पाएपछि ब्यूरोको टोलीले नियन्त्रणमा लिन खोज्दा फलामको रड प्रहरीतिरै प्रहार गरेपछि गोली चलाएर नियन्त्रणमा लिइएको थियो ।
प्रहरीसँगको बयानमा मञ्जरले पनि सादिकबाट बरामद भएको लागुऔषधका बारेमा आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।
‘म भारतमै पेन्टिङको काम गर्दै आएको थिएँ । चिनजानका सादिकले नेपालमा पेन्टिङको काम गर्दा धेरै पैसा कमाइन्छ भनेर मलाई काठमाडौं ल्याएको हो,’ मञ्जरले बयानमा भनेका छन्, ‘उनले कहाँबाट खैरो हेरोइन ल्याए, कसलाई बिक्री गर्ने हो, त्यो मलाई थाहा छैन ।’
ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण कोइरालाका अनुसार सादिक यसअघि पनि लागुऔषध कारोबारमा संलग्न रहेकाले प्रहरीले उनीमाथि सूक्ष्म निगरानी बढाएको थियो ।
‘घटना हुने दिन पनि सादिकले कसैलाई लागुऔषध बिक्री गर्दैछन् भन्ने सूचना पाएरै प्रहरीले फलो गरेको थियो,’ कोइरालाले भने, ‘नियन्त्रणमा लिने क्रममा प्रहरीलाई रड प्रहार गरेकै कारण गोली प्रहार गर्नुपरेको हो ।’