
झापा, मोरङ र सुनसरीमा श्रृंखलाबद्ध रूपमा चोरी भएका ट्रान्सफर्मर फ्याक्ट्री र कवाडी पसलमा बिक्री हुने गरेको पाइएको छ । एक वर्षमा यी तीन जिल्लाबाट चोरी भएका २२ वटा ट्रान्सफर्मर मोरङ र सुनसरीका फ्याक्ट्री र कवाडी पसलमा बिक्री हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
गत माघ १० गतेदेखि हालसम्म तीन जिल्लामा २२ वटा ट्रान्सफर्मर चोरी भएका छन् । मोरङमा ८, सुनसरीमा १२ र झापामा २ स्थानमा विभिन्न मितिमा ट्रान्सफर्मर चोरी भएको थियो ।
प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहसहित ७ जनालाई पक्राउ गरेको छ । चोरी गरिएको ट्रान्सफर्मर खरिद गर्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी प्रमुख, डीआईजी ईश्वर कार्कीले जानकारी दिए ।
ट्रान्सफर्मर चोरीमा पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ बस्ने ४२ वर्षीय अर्जुन कुमार माझी (चौधरी), सोही ठाउँका ३१ वर्षीय इरज धामी, सुनसरी दुहवी नगरपालिका–३ लबिपुर बस्ने ३५ वर्षीय अनुज विश्वास (चौधरी), मोरङ बेलबारी नगरपालिका–४ कसेनी बस्ने २६ वर्षीय अर्जुन चौधरी, भारत घर भएर हाल सुनसरी दुहवी नगरपालिका-४ मलाटीमा ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँ, बेलबारी नगरपालिका–३ का २७ वर्षीय रञ्जित तामाङ र दुहवी नगरपालिका–२ बस्ने ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी रहेका छन् ।
‘तीन जिल्लामा चोरी गर्ने गिरोहको एउटै समूह रहेको पाइएको छ । चोरी गर्ने गिरोह अनुभवी र प्राविधिक ज्ञान भएका दक्ष रहेका छन् । उनीहरूले ट्रान्सफर्मर चोरी गर्न भर्याङको पनि प्रयोग गरेको पाइएको छ,’ डीआईजी कार्कीले भने ।

अग्लो ठाउँमा लिस्नो प्रयोग गरेको चोर्ने गरेको उनले बताए । प्रहरीले चोरीमा संलग्न भएका गाडी र मोटरसाइकल पनि बरामद गरेको छ । श्रृंखलाबद्ध रूपमा चोरी भएका ट्रान्सफर्मर एक उद्योगसहित ७ वटा पसलमा बिक्री गरेको पाइएको छ ।
चोरीमा संलग्न गिरोहले चोरी गरेका ट्रान्सफर्मर लक्ष्य प्रधानले सञ्चालन गरेको कवाडी पसल, इटहरी उपमहानगरपालिका–४ बस्ने ३९ वर्षीय सीताराम राईको भाडा पसल, मोरङ बूढीगंगा गाउँपालिका–३ स्थित विनय शाहको एसएस मेटल फ्याक्ट्री, विराटनगर–६ बस्ने ४४ वर्षीय अजय कुमार साहले सञ्चालन गरेको दुर्गा भाडा पसल, कृष्ण गोपाल ताम्राकारले सञ्चालन गरेको मनकामना मेटल्स एण्ड सप्लायर्स र इटहरीमा दिलिप चौधरीले सञ्चालन गर्दै आएको दिलिप कवाडीमा बिक्री गरेको प्रहरीले जनाएको छ ।
चोरी गरेर ल्याएको थाहा पाउँदापाउँदै पनि खरिद गरेको पाइएपछि प्रहरीले उनीहरूलाई समेत पक्राउ गरेको हो । प्रहरीले उनीहरूको पसलबाट ३ सय ६८.५ केजी तामाको तार पनि बरामद गरेको छ ।
२५० केभीएको ट्रान्सफर्मरलाई ९ लाख रूपैयाँ पर्छ । तर, उनीहरूले चोरी गरेपछि २ लाख रूपैयाँमा बिक्री गर्ने गरेको खुलेको डीआईजी कार्कीले बताए ।
सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा विद्युत आपूर्तिका लागि जडान गरिएका ट्रान्सफर्मर लगातार चोरी भएपछि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजीव सिंहले प्रदेश प्रहरीमा घटनाको अनुसन्धान गर्न उजुरी दिएका थिए ।
११ हजार भोल्टको तार सर्ट गराएर लाइन काट्ने र ट्रान्सफर्मर झारेर भित्रको तामाको क्वाइल निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

श्रृंखलाबद्ध रूपमा तीन जिल्लामा ट्रान्सफर्मर चोरी भएपछि प्रहरीलाई टाउकोको दुखाइ भएको थियो । प्रहरीले यस चोरीको घटना अनुसन्धान गर्न विशेष टिम नै परिचालन गरेको थियो ।
यही क्रममा साउन ९ गते मोरङको रङ्गेली नगरपालिका–९ इटाभट्टा टोलस्थित खानेपानी आयोजनाको ट्रान्सफर्मरको छेउमा संदिग्ध अवस्थामा २ वटा मोटरसाइकलमा ३ जना मानिस आए । प्रहरी टोलीलाई देख्नासाथ उनीहरू फरार भए ।
सोही स्थानमा डिप बोरिङ सञ्चालनार्थ जडान गरिएको ट्रान्सफर्मर राखेको पोलमा चढिरहेको अवस्थामा मोरङको ग्रामथान गाउँपालिका–४ बस्ने ४२ वर्षीय अर्जुन कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि तीन जिल्लामा श्रृंखलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी गर्नेलाई प्रहरीले पक्राउ गर्न सफल भएको डीआईजी कार्कीले मंगलबार पत्रकार सम्मेलनमा बताए ।
‘लामो प्रयासपछि हामीले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहको सञ्जाललाई पक्राउ गर्न सफल भएका छौं,’ उनले थपे ।
प्रहरीले ट्रान्सफर्मर चोरी गर्न प्रयोग भएका विभिन्न साइजका डायल रेन्च २२ थान, सलाई रेन्च ३ थान, प्लायर्स ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङली १ थान, कैंची १ थान, ह्याक्सो ब्लेड ३ थान, खन्ती १ थान, ब्याट्रीसहितको इलेक्ट्रिक ग्राइन्डरसहितको सेट १ थान बरामद गरेको छ ।
ट्रान्सफर्मर चोरीमा प्रयोग भएका ५ थान मोटरसाइकल र को १ च ७७२९ नम्बरको सेतो रङको पिकअप गाडी बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई मोरङ प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
