०८ साउन २०८३, शुक्रबार

ट्रम्प-पुटिन वार्तास्थलमा हरिण छिरेपछि रुसी अधिकारीको ठट्टा – जेलेन्स्की छिर्न खोजे कि क्या हो !

साउन ३०, २०८२
काठमाडौं
ट्रम्प-पुटिन वार्तास्थलमा हरिण छिरेपछि रुसी अधिकारीको ठट्टा – जेलेन्स्की छिर्न खोजे कि क्या हो !

अमेरिकाको अलास्कामा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर सम्मेलनको तयारीमा धेरै रोचक घटनाहरू भएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी चर्चा एउटा जंगली जनावर र त्यसमाथि गरिएको एक कूटनीतिक ठट्टाले पाएको छ ।

उच्च सुरक्षा व्यवस्थाबीच सम्मेलन स्थलको प्रवेशद्वारमा एउटा जंगली हरिण घुमिरहेको देखिएपछि रुसी विदेश मन्त्रालयकी प्रवक्ताले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीप्रति व्यंग्य गरेकी छन् ।

उनले हरिणलाई हेर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्तास्थलमा छिर्न खोजेको अर्थ लाग्ने प्रतिक्रिया दिएको रुसी सञ्चारमाध्यम रसिया टुडे (आरटी)ले जनाएको छ ।

घटनाको भिडियो सार्वजनिक भएपछि प्रवक्ता मारिया जाखारोभाले ठट्टा गर्दै भनिन्, 'मलाई लाग्छ पुटिन-ट्रम्प भेटमा कसरी सामेल हुने भन्नेबारे युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले उपाय खोजिरहेका छन् । यहाँ उनी छिर्न खोजे क्या हो ?'

अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता मात्र यो भेटवार्ताको घोषणा गरेकाले दुवै पक्षका लागि तयारी निकै चुनौतीपूर्ण बनेको थियो ।

अलास्काको पर्यटकीय सिजनको उत्कर्षमा शिखर सम्मेलन आयोजना हुँदा एंकोरेजका सबै होटलहरू भरिभराउ थिए ।

यसकारण, रुसी पत्रकारहरूलाई बसोबासको व्यवस्था गर्न स्थानीय अधिकारीहरूले एउटा खेलकुद रंगशालामा अस्थायी शिविर नै खडा गर्नुपर्‍यो ।

पत्रकार र केही प्रतिनिधिहरूलाई पाइप र पर्दाले छुट्याइएको ठाउँमा रेडक्रसका खाटमा सुत्नुपरेको छ ।

लाभरोभको स्वेटर र 'चिकेन किभ'को चर्चा

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ एंकोरेजमा युएसएसआर लेखिएको स्वेटर लगाएर पुगेका थिए । यसले पनि सञ्चारमाध्यममा ठूलो तरंग सिर्जना गर्‍यो ।

यसलाई मस्कोले शिखर वार्तामा 'स्पष्ट अडानका साथ' आएको सांकेतिक सन्देशका रूपमा व्याख्या गरेको छ ।

त्यस्तै, एंकोरेज जाने क्रममा रुसी पत्रकारहरूलाई विमानमा अप्रत्याशित रूपमा 'चिकेन किभ' नामक परिकार दिइयो, जुन कुखुराको मासु र बटरबाट बन्ने एक चर्चित युक्रेनी परिकार हो ।

ब्लूमबर्गका अनुसार अमेरिकी सेक्रेट सर्भिसका लागि अलास्कामा शिखर सम्मेलन आयोजना गर्नु ठूलो व्यवस्थापकीय चुनौती बनेको थियो । उनीहरूले तयारीका लागि मात्र एक हप्ताको समय पाएका थिए ।

सयौं एजेन्टहरूलाई एंकोरेज पठाउनुपरेको र अलास्कामा भाडाको गाडी निकै कम पाइने भएकाले गाडीहरू बाहिरबाटै ढुवानी गरेर ल्याउनुपरेको थियो ।

विश्वविद्यालयका छात्रावासहरू भरिएपछि अतिरिक्त सुत्ने ठाउँ बनाउन अलास्का एयरलाइन्स सेन्टरभित्र पालहरू टाँगिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि अमेरिकी अधिकारीहरूले भिसा जारी गर्ने तरिका बिर्सिएको भन्दै अमेरिकाप्रति कटाक्ष गरे ।

उनले रुसी पत्रकारहरूलाई अमेरिकी भिसा पाउन निकै गाह्रो भएको बताएका थिए । अलास्का भ्रमणमा आएका सञ्चारकर्मीहरूले ढिलाइ र थप तनाव झेल्नुपरेको थियो ।

यसबाहेक, रुसमाथिको अमेरिकी प्रतिबन्धले पनि कार्यक्रम आयोजनामा थप जटिलता ल्याएको थियो । यद्यपि, वासिङ्टनले बैठक राम्रोसँग सुचारू गर्न अस्थायी रूपमा केही प्रतिबन्धहरू हटाएको छ । जुन अगस्ट २० सम्म लागू रहने अमेरिकी ट्रेजरी विभागले जनाएको छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्