
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटलाई '१० मा १०' नम्बर दिएका छन् । पुटिनसँगको भेटवार्तापछि फक्स न्युजसँग कुरा गर्दै उनले भेट धेरै राम्रो भएको बताए ।
अब रूस र युक्रेनले अर्को वार्ता गर्ने र जसमा भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की दुवै सहभागी हुने उनको भनाइ छ । 'हाम्रो भेट धेरै राम्रो थियो । धेरै न्यानो भेट भयो । मलाई लाग्छ हामी सम्झौताको धेरै नजिक छौं । अब युरोपेली सहभागिताको साथ सम्झौतामा पुग्नु जेलेन्स्कीको हातमा छ,' ट्रम्पले भने, 'रूस र युक्रेनले अर्को वार्ता गर्नेछन्, जसमा भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की दुवै सहभागी हुनेछन्। हेरौं अब के हुन्छ ।
ट्रम्पले सम्झौतामा पुग्न नसकेका बुँदाहरू भने खुलाउन अस्वीकार गरे । ट्रम्पले एउटा सम्झौता हुन लागेको र यसमा कैदीहरूको आदानप्रदान पनि समावेश हुन सक्ने बताए ।
उनले पूर्वराष्ट्रपति जो बाइडेनलाई रूसको आक्रमण रोक्न नसकेकोमा दोष दिए।
अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच नेपाली समयनुसार गएराति अलास्कामा भेटवार्ता भएको थियो । साढे दुई घण्टाभन्दा बढी समयसम्म चलेको कुराकानीको मुख्य मुद्दा रूस र युक्रेनबीच चलिरहेको युद्ध कसरी अन्त्य गर्ने भन्ने थियो । तर, यसबारे कुनै ठोस सहमति हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भेटपछि पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले केही मुद्दाहरूमा सहमति नभएको बताएका थिए । 'हामी दुई देशबीच मित्रता चाहन्छौं । पुटिनसँगको भेट सकारात्मक रह्यो,' उनले भने ।

वार्तापछि ट्रम्पले पुटिनसँग फेरि भेट्ने सहमति भएको बताएका थिए । 'हामी तपाईंसँग चाँडै कुरा गर्नेछौं र सायद चाँडै फेरि भेट्नेछौं,' ट्रम्पले भने । रुसी राष्ट्रपति पुटिनले पनि धेरै गहन कुराकानी भएको बताए ।
रूस र युक्रेनबीचको युद्ध तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको छ। यो युद्ध रोक्न रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अलास्काको एल्मेन्डोर्फ-रिचर्डसन सैन्य अड्डामा बैठक भएको थियो ।
बैठकमा ट्रम्पसँगै मार्को रुबियो र विटकोफका साथै केही अन्य अधिकारीहरू पनि थिए । रूसी तर्फबाट, सर्गेई लाभरोभ र अर्थमन्त्री एन्टोन सिलुआनोभ र आर्थिक सल्लाहकार किरिल दिमित्रीभ पनि पुटिनसँगै उपस्थित थिए । यद्यपि, बैठकमा दुवै पक्षबीच कुनै अन्तिम सहमति हुन सकेन ।

ट्रम्प र पुटिन २०१९ पछि पहिलोपटक आमनेसामने भेटेका हुन् । बहुप्रतिक्षित भेटघाटको लागि, रूसी राष्ट्रपति पुटिन १० वर्षपछि अमेरिकी भूमिमा पुगेका थिए ।
अलास्का पुग्दा पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । पुटिन आइपुग्नुअघि ट्रम्प त्यहाँ पुगेका थिए । उनले लगभग ३० मिनेटसम्म आफ्नो एयर फोर्स वन विमानमा बसेर पुटिनलाई पर्खे । पुटिनको आगमनपछि एयर फोर्स वनबाट ओर्लेपछि ट्रम्पले ताली बजाएर पुटिनलाई स्वागत गरेका थिए ।