
कृष्ण जन्माष्टमीको अवसरमा आज (आइतबार) विराटनगरमा भव्य रथयात्रा निकालिँदै छ । हरेक वर्ष कृष्ण जन्मास्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकालिन्छ ।
रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ को राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ ।
रथ यात्रामा नेपाल र भारतका झन्डै ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ । रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गरेर मन्दिरमै आई समापन हुनेछ । रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुन: मन्दिरमा पुगेर सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
१९८८ सालमा ‘खटयात्रा’का रूपमा शुरू भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । जीर्ण भइसकेको पुरानो रथ विस्थापन गर्दै यो वर्षदेखि १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ प्रयोगमा ल्याइएको छ ।
यस पटकको रथ पहिलोको भन्दा उचाइ, चौडाइ र लम्बाइमा बढाइएको छ । सबैतर्फ काठ प्रयोग गरी विभिन्न भगवानका आकृतिलगायत बुट्टाहरू कुँदेर बनाइएको छ । स्वदेशी र विदेशी कालिगडहरूले यस पटक रथ बनाएका छन् ।
आज निस्किने ऐतिहासिक राधाकृष्ण रथयात्रालाई पूर्ण रूपमा सुरक्षित र शान्तिपूर्ण बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ । एसियाकै दोस्रो ठूलो मानिने यस रथयात्रामा हुन सक्ने कुनै पनि आपराधिक तथा उश्रृंखल गतिविधिलाई निस्तेज पार्न मोरङ प्रहरीले ड्रोन र सीसीटीभीदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेर कडा सुरक्षा रणनीति बनाएको हो ।
यसपटक अत्याधुनिक ड्रोन प्रविधिबाट हवाई निगरानी गरिनुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मीलाई रथयात्राको सुरक्षामा खटाइएको छ । मोरङ प्रहरीले कुनै पनि गलत हर्कत गर्ने तत्वविरुद्ध ‘शून्य सहनशीलता’ अपनाउँदै निर्मम रूपमा प्रस्तुत हुने कठोर चेतावनी दिएको छ ।
मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद चिमरियाले रथयात्राको सुरक्षा व्यवस्थामा कुनै पनि कसर बाँकी नराखिएको र सुरक्षा योजनालाई सूक्ष्म तहसम्म पुगेर कार्यान्वयन गरिएको बताए । ‘यो केवल धार्मिक यात्रा मात्र होइन, लाखौं मानिसको आस्था र विराटनगरको पहिचानसँग जोडिएको विषय हो । यसको गरिमा र शान्तिलाई भंग गर्ने कुनै पनि प्रयासलाई हामी सफल हुन दिनेछैनौं,’ एसपी चिमरियाले भने, ‘हाम्रो सम्पूर्ण ध्यान भक्तजनले निर्धक्क र भक्तिभावपूर्ण वातावरणमा रथयात्रामा सहभागी हुन सकून् भन्नेमा केन्द्रित छ । तर, यो शान्तिपूर्ण वातावरणलाई खलल पुर्याउने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिनेछ ।’
यस वर्षको सुरक्षा व्यवस्थामा प्रविधिको पनि प्रयोग गरेको छ । प्रहरीले पहिलोपटक रथयात्राको सम्पूर्ण मार्गलाई आकाशबाट ड्रोनमार्फत् प्रत्यक्ष निगरानी गर्नेछ । ‘विशाल भीडलाई मानव आँखाले मात्रै अनुगमन गर्न सम्भव हुँदैन । ड्रोनको साहयताबाट पनि हामीले निगरानी प्रदान गर्नेछौं, जसले भीडको अवस्था, सम्भावित जोखिमयुक्त क्षेत्र, र कुनै पनि अस्वाभाविक गतिविधिलाई तत्काल पहिचान गर्न मद्दत पुर्याउँछ,’ एसपी चिमरियाले भने, ‘ड्रोनबाट प्राप्त दृश्यहरूलाई हाम्रो नियन्त्रण कक्ष (कमाण्ड सेन्टर)मा रहेको टोलीले निरन्तर विश्लेषण गरिरहेको हुनेछ र सोहीअनुसार फिल्डमा खटिएका टोलीहरूलाई तत्कालै निर्देशन दिइनेछ ।’
ड्रोनका साथै विराटनगरका मुख्य चोक र रथयात्रा मार्गमा जडान गरिएका दर्जनौं सीसीटीभी क्यामेराहरूलाई पनि २४सै घण्टा सक्रिय बनाइएको छ । ड्रोन र सीसीटीभीको यो एकीकृत प्रणालीले सुरक्षा निकायलाई भीडभित्र लुकेर अपराध गर्ने तत्वहरूलाई पहिचान गर्न र प्रमाण संकलन गर्नसमेत सहज बनाउनेछ ।
प्रहरीले ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मीलाई भीडभित्र परिचालन गर्ने रणनीति बनाएको छ । यी विशेष तालिमप्राप्त प्रहरीहरू भक्तजनकै रूपमा भीडमा घुलमिल हुनेछन् र पाकेटमार, चोर, महिला तथा बालबालिकालाई दुर्व्यवहार गर्ने, वा अन्य कुनै पनि उश्रृंखल गतिविधि गर्ने व्यक्तिहरूमाथि कडा निगरानी राख्नेछन् ।
‘विगतका वर्षहरूमा भारत र मधेश प्रदेशका सीमावर्ती क्षेत्रबाट आपराधिक गिरोहहरू यस्ता ठूला मेलापर्वमा प्रवेश गरी चोरी र लुटपाट गर्ने गरेको देखिन्छ । यसलाई रोक्न हामीले शनिबारदेखि नै विराटनगर प्रवेश गर्ने जोगबनीसहितका सबै सीमा नाका र सहायक मार्गहरूमा निगरानी र जाँच अत्यन्त कडा पारेका छौं,’ एसपी चिमरियाले भने ।
कुनै पनि व्यक्ति शंकास्पद गतिविधिमा संलग्न भएको वा गलत हर्कत गरेको पाइएमा सादा पोशाकको टोलीले तत्कालै पक्राउ गर्नेछ । पक्राउ परेका व्यक्तिहरूलाई भीडबाट सुरक्षित रूपमा बाहिर निकाल्न र जिल्ला प्रहरी कार्यालयसम्म ल्याउन रथयात्राको रुटमा अगाडि र पछाडि विभिन्न स्थानमा ‘वान टन’ गाडीहरूलाई’ मोबाइल डिटेन्सन भेइकल’ का रूपमा तयारी अवस्थामा राखिएको छ । ‘अपराध गर्नेलाई घटनास्थलबाटै नियन्त्रणमा लिएर तत्काल गाडीमा हालेर जिल्ला ल्याइनेछ । उनीहरूमाथि कसुरको प्रकृति हेरी सोमबार अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइनेछ,’ एसपी चिमरियाले भने ।